विश्वासको मत नपाउने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

डिसी नेपाल
१० कार्तिक २०७८ १४:२३
64
Shares

मकवानपुर। अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छिन्। प्रदेशसभाको बैठकमा बुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने ठानेकी हुन्। स्रोतका अनुसार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै राजीनामा दिने मुख्यमन्त्री शाक्यको तयारी छ।

प्रदेशसभामा रहेका एक सय नाै सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन्। मुख्यमन्त्री शाक्यलाई अहिले एमालेका ४३ जना सांसदको समर्थन रहेकाले विश्वासको मत नपुग्ने ठान्दै उनले राजीनामा दिन लागेकी हुन्।

शाक्य गत २ भदौमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्। मुख्यमन्त्री बनेको दुई महिनापछि उनकाे पद धरापमा परेकाे हाे। उनले गत २४ असोजमा प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गरेकी थिइन्। उनको प्रस्तावमाथि गत ४ कात्तिककाे प्रदेशसभामा छलफल अघि बढ्न नसकी आजका लागि तय भएको थियो। तर आज पनि विश्वासको मत नपाउने देखेर शाक्यले राजीनामा दिन लागेकी हुन्।

बाग्मतीमा एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) को एक जना सांसद छन्।

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ। पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो। पाण्डेको नेतृत्वमा बन्ने सरकारमा सुरुमा चारजना मन्त्री नियुक्त गरिने गठनबन्धनको तयारी रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.