के युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसको अगाडि झुक्न लागेका हुन् ? यस्तो बयान किन दिए ?
काठमाडौं। आफ्नो देशमा रुसले २ हप्तादेखि गरिरहेको आक्रमणको अगाडि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घुँटा टेकेका छैनन् तर अब उनले संकेत दिएका छन् कि उनी ‘सम्झौता’को लागि तयार छन् । लगातार कुटनैतिक वार्तामा जोड दिइरहेका जेलेन्स्कीले दोनेत्स्क, लुहान्स्क र नेटोमा युक्रेन सहभागी हुने विषयमा खुलेर कुरा गरेका छन् । उनले अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको एक अन्तरवार्तामा आफूले युक्रेनलाई नेटोको सदस्य बनाउन जोडबल नलगाएको बताएका छन् ।
नेटो नै त्यो ठूलो मुद्दा हो जसलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकै असहज छन् र भनिन्छ रुसले युक्रेनमा आक्रमण गर्नुको ठूलो कारण यही हो । पुटिन चाहँदैनन् कि नेटोले उनको कुनै छिमेकी देशसम्म पहुँच बनाउन सकोस् । यसका साथै जेलेन्स्कीले युक्रेनका २ रुस समर्थित क्षेत्र दोनेत्स्क र लुहान्स्कको विषयमा पनि आफ्नो कुरा राखेका छन् ।
नेटो के हो ?
नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन अर्थात उत्तर एटलान्टिक सन्धि संगठन नेटो दोस्रो विश्वयुद्धपछि १९४९ मा बनेको थियो । यो संगठन बनाउने अमेरिका, क्यानडा र अन्य पश्चिमी देश थिए । यो संगठन उनीहरुले तत्कालीन सोभियत युनियनबाट सुरक्षाको लागि बनाएका थिए । त्यतिबेला विश्व २ घ्रुवीय थियो । एक महाशक्ति अमेरिका थियो र अर्को महाशक्ति सोभियत युनियन । सुरुमा नेटोका सदस्य देश १२ वटा थिए र अहिले यी सदस्यको संख्या बढेर ३० पुगेको छ ।
नेटो स्थापनापछि यो संगठनले घोषणा गरेको थियो कि उत्तरी अमेरिका वा युरोपका कुनै पनि नेटो सदस्य देशहरुमाथि आक्रमण भएमा यसलाई संगठनमाथिको आक्रमण मानिनेछ र नेटोका सदस्य हरेक देशले अर्का देशलाई सहयोग गर्नेछन् । तर, डिसेम्बर १९९१ मा सोभियत युनियनको पतनपछि कैयौं कुराहरु बदलिए । नेटो जुन उद्देश्यले बनेको थियो त्यसको एउटा ठूलो कारण सोभियत युनियन विघटन भइसकेको थियो । विश्व एक ध्रुवीय भइसकेको थियो । अमेरिका एकमात्र महाशक्ति बचेको थियो । सोभियत युनियन विघटनपछि रुस बन्यो जो आर्थिक रुपले निकै कमजोर भइसकेको थियो ।
रुस एक महाशक्तिको रुपमा रहेर भत्किएको पीडा र आक्रोशबाट आफूलाई सम्हालिरहेको थियो । भनिन्छ, त्यतिबेला अमेरिकाले चाहेको भए रुसलाई पनि आफ्नो पक्षमा ल्याउन सक्थ्यो तर अमेरिका शीतयुद्धकालीन मानसिकताबाट मुक्त भएन र रुसलाई पनि युएसएसआर अर्थात सोभियत युनियनकै रुपमा हेरिरह्यो ।
नेटोको विस्तारलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन असन्तुष्ट छन् । मध्य र पूर्वी युरोपमा रोमानिया, बुल्गेरिया, स्लोभाकिया, स्लोभेनिया, लातभिया, इस्टोनिया र लिथुआनिया समेत २००४ मा नेटोमा सहभागी भएका थिए । क्रोएसिया र अल्बानिया २००९ मा नेटोमा सहभागी भए । जर्जिया र युक्रेनले पनि २००८ मा सदस्यता पाउनेवाला थिए तर दुवै अहिलेसम्म बाहिरै छन् ।
नेटोबारे जेलेन्स्कीले के भने ?
एबीसीको अन्तरवार्तामा जेलेन्स्कीसँग युक्रेन नेटोमा सहभागी नहुने रुसको मागबारे उनी के भन्छन् भनेर सोधियो । जवाफमा जेलेन्स्कीले भने ‘म वार्ताको लागि तयार छु । जब हामीले बुझ्यौं कि नेटो हामीलाई स्वीकार गर्नको लागि तयार छैन, त्यसपछि मैले धेरै पहिले नै यो मुद्दालाई पछाडि छोडिसकेको थिएँ ।’ जेलेन्स्कीले नेटो विवादित कुराहरु र रुससँग टकरावका विषयमा पहिलेदेखि नै डराउँदै आएको बताएका छन् । नेटोको सदस्यता पाउने विषयमा जेलेन्स्कीले आफू कुनै यस्तो देशको राष्ट्रपनि बन्न नचाहेको बताए जसको देशले घुँडा टेकेर कुनै कुराको भिख मागिरहेको होस् ।
युक्रेनमा २४ फेब्रुअरीमा आक्रमण गर्नुभन्दा एक दिन पहिले रुसी राष्ट्रपति पुटिनले रुस समर्थिक पृथकतावादीको नियन्त्रणमा रहेका युक्रेनका २ क्षेत्र लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र देश घोषित गरेका थिए । युक्रेनमा युद्ध रोक्नको लागि रुसले राखेका मागहरु नेटोमा सहभागी नहुने, क्रिमियालाई रुसी क्षेत्र मान्ने र दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र देश मान्ने विषयमा जेलेन्स्कीले आफू वार्ताको लागि पूर्ण रुपमा खुला रहेको बताए ।
जेलेन्स्कीले भने ‘म सुरक्षा ग्यारेन्टीको कुरा गरिरहेको छु । मलाई लाग्छ अस्थायी रुपमा कब्जा गरिएका क्षेत्रलाई रुसबाहेक अरु कसैले पनि मान्यता दिएका छैनन् र यी (दोनेत्स्क र लुहान्स्क) छद्म राष्ट्र हुन् । तर, यो विषयमा हामी कुरा गर्न सक्छौं र यस विषयमा सम्झौता गर्न सक्छौं कि यी क्षेत्र अगाडि कसरी चल्न सक्छन् । मेरो लागि यो जरुरी छ कि यी षेत्रमा रहेका मानिसहरु कसरी बाँच्नेछन् र युक्रेनको हिस्सा बन्न चाहन्छन् वा चाहँदैनन् । जो युक्रेनमा छन् उनीहरु चाहनेछन् । त्यसैले यो प्रश्न उनीहरुलाई मान्यता दिनुभन्दा कठिन छ ।’
जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनले ‘इन्फर्मेसन बबल’बाट बाहिर निस्किएर छलफल गर्नुपर्ने बताए । उनले भने ‘यो फेरि अन्तिम चेतावनी हो र हामी अन्तिम चेतावनीहरुका लागि तयार छैनौं । राष्ट्रपति पुटिनले अब छलफल सुरु गर्नुपर्ने आवश्यकता छ । बिना अक्सिजन इन्फर्मेसन बबलमा बस्नुको सट्टा उनले छलफल सुरु गरुन् । उनी त्यो बबलमा बसिरहेका छन् जहाँ उनले वास्तविकताको जानकारी पाइरहेका छैनन् ।’
अन्तरवार्ताको क्रममा जेलेन्स्कीसँग देश छोड्ने मौका पाउँदा किन नगएको भनेर सोधिएको थियो । जवाफमा उनले भने ‘म आफ्नो राष्ट्रको नागरिक हुँ र वैध तरिकाले निर्वाचित राष्ट्रपति हुँ ।’ उनले यस्तो अवस्थामा आफूले युक्रेन छोडे आफू जीवित त रहन सक्ने तर कहिल्यै एक मानवको रुपमा नरहने बताए । अमेरिकी राष्ट्रपतिको रुसी तेल र ग्यास आयातमा प्रतिबन्ध लगाउने निर्णयको जेलेन्स्कीले स्वागत गरेका छन् । उनले ट्वीट गरेर बाइडेनप्रति आभार व्यक्त गरेका छन् ।
रुसको माग के छ ?
रुस सरकारका प्रवक्ताले सोमबार भनेका थिए कि यदि आफूहरुको शर्त मानियो भने युक्रेनविरुद्ध कुनै ढिलाइ नगरी तत्काल सैन्य अभियान रोक्न रुस तयार भएको बताएका थिए । प्रवक्ता दिमित्री पेस्कोभले भनेका थिए ‘युक्रेनले आफ्नो सैन्य कारवाही बन्द गरोस्, आफ्नो संविधानमा संशोधन गरेर तटस्थता स्थापित गरोस्, क्रिमियालाई रुसी क्षेत्रको रुपमा मान्यता देओस् र पृथकतावादी षेत्र दोनेत्स्क र लुहान्स्कलाई एक स्वतन्त्र राष्ट्रको रुपमा मान्यता देओस् ।’
युक्रेनमा आक्रमणपछि रुसको यो अत्यन्तै स्पष्ट बयान हो । पेस्कोभले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनलाई यी शर्तहरुको बारेमा थाहा भएको बताउँदै भनेका थिए ‘उनीहरुलाई भनिसकिएको छ कि सबथोक एकैछिनमा रोक्न सकिन्छ ।’ पेस्कोभले रुसले युक्रेनको कुनै जकिनमा दावी नगरेको बताउँदै कुनै क्षेत्र कब्जा गर्न पनि नचाहेको स्पष्ट पारे । उनले राजधानी किभ ‘रुसलाई सुम्पिने’ माग सत्य नभएको बताए ।
पेस्कोभले भने ‘हामी वास्तवमा युक्रेनको सैन्यीकरणलाई समाप्त गरिरहेका छौं । हामी यसलाई समाप्त पार्नेछौं । तर, मुख्य कुरा यो हो कि युक्रेनले आफ्नो सैन्य कारवाही रोकोस् । उनीहरुले आफ्नो सैन्य कारवाही रोक्नुपर्छ र त्यसपछि कसैले पनि गोली चलाउने छैन ।’ संविधानमा संशोधन र तटस्थ रहने विषयमा रुसले भनेको छ कि युक्रेनले आफ्नो संविधानमा संशोधन गर्नुपर्छ ताकि ऊ कुनै पनि गठबन्धनलाई आफ्नो देशमा घुस्नबाट रोक्न सकोस् ।







डिसी नेपाल







Facebook Comment