पाँचथरमा ‘क्लीन स्वीप’ गर्ने दिशामा गठबन्धन

डिसी नेपाल
३ जेठ २०७९ ९:४३
992
Shares

काठमाडौं। सत्ता गठबन्धन पाँचथरमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने दिशामा अघि बढेको छ। एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ५ गाउँपालिकाको अध्यक्ष गठबन्धनका उम्मेदवारहरूले जितेका छन्।

४ गाउँपालिकाको पनि उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरू नै निर्वाचित भएका छन्। एक गाउँपालिकामा मात्रै नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएको छ। जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा छन्। जनता समाजवादी पार्टी धेरै ठाउँमा एमाले र केही ठाउँमा मात्रै सत्ता गठबन्धनसँगको तालमेलमा छ। राप्रपाको पनि एमालेसँग गठबन्धन छ।

गठबन्धनबाट तुम्बेवा गाउँपालिका अध्यक्षमा कांग्रेसका बाबुराम खड्का दुई हजार ७१८ मत र उपाध्यक्षमा माओवादीका खड्गसुन्दर सम्बाहाम्फे दुई हजार ७०८ मतसहित निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी एमालेका गोविन्दबहादुर तामाङ अध्यक्षमा दुई हजार ३११ र नन्द धमलाले दुई हजार नौं मत पाएका छन्। यसअघि २०७४ मा गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए।

कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि गठबन्धनै उम्मेदवारहरूले जितेका छन्। कांग्रेसका बम लावती अध्यक्ष र उपाध्यक्षमा माओवादीका महेन्द्रबहादुर खड्का निर्वाचित भएका हुन्। लावतीले एमालेका भीम सम्बाहाम्फे र खड्काले एमालेकै सीता आचार्यलाई पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जनाएअनुसार लावतीले तीन हजार ५७ मत र सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गरेका थिए। उपाध्यक्षमा खड्काले दुई हजार ७५८ र आचार्यले दुई हजार ७२४ मत पाएको कार्यालयले जनाएको छ।

आचार्य यसअघि गाउँपालिकाको उपाध्यक्ष थिइन्। त्यसबेला एमालेले एक्ला एक्लै निर्वाचन लड्दा अध्यक्ष/उपाध्यक्ष दुवै पद जितेको थियो।

फाल्गुनन्द गाउँपालिकाका कांग्रेसले २०७४ सालमा भएको निर्वाचनको विरासत जोगाएको छ। त्यतिबेला गाउँपालिका अध्यक्ष अमर नेम्बाङ र उपाध्यक्ष देवित्राकुमारी आङदेम्बे भएका थिए। तर, अध्यक्ष नेम्बाङको निधनपछि २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा भने अध्यक्ष पद एमालेका वीरबहादुर कुरुम्बाङ निर्वाचित भएका थिए। कुरुम्बाङले त्यसबेला कांग्रेसका बृजहाङ आङ्देम्बेलाई पराजित गरेका थिए।

तर, यस पटक भने आङ्देम्बेले कुरुम्बाङलाई अध्यक्षमा पराजित गरेका छन्। आङदेम्बेले पाँच हजार ७३९ मत र कुरुम्बाङले चार हजार ६४३ मत पाएका थिए। उपाध्यक्ष पनि गठबन्धनकै तर्फबाट माओवादीका ठाकुरसिंह नेम्बाङ निर्वाचित भएका छन्।

उनले एमालेसँग तालमेल गरेर उपाध्यक्ष पदमा निर्वाचन लडेकी बबिता नेम्बाङलाई पराजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाएअनुसार ठाकुरले पाँच हजार १०१ मत पाउँदा बबिताले चार हजार ४४३ मत प्राप्त गरेकी थिइन्।

फालेलुङ गाउँपालिकामा कांग्रेसकै वीरविक्रम थाम्सुहाङ अध्यक्ष (५७८९ मत) र माओवादीका महेन्द्र जबेगू ‘फुङ्निमा’ (५२१४ मत) उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। एमालेका जयप्रकाश केरुङ (२६८९ मत) अध्यक्षमा र सुजाता राई (२८७५ मत) उपाध्यक्षमा पराजित भएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ।

२०७४ मा भएको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद दुवै कांग्रेसले जितेको थियो। हिलिहाङ गाउँपालिकाको अध्यक्षमा २०७४ मा पराजित कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन्। उनले एमालेका भुवानीप्रसाद लिङ्देनलाई पराजित गरे। अधिकारी यसअघि लिङ्देनबाटै पराजित भएका थिए । यस पटक अधिकारीले चार हजार ५६५ मत र लिङ्देनले चार हजार ३५८ मत पाएका हुन्।

उपाध्यक्षमा भने एमालेकी सुमित्रा सेढाई चार हजार १४१ मतसहित निर्वाचित भएकी छिन्। उनी यसअघि पनि उपाध्यक्ष थिइन्। उनले एकीकृत समाजवादीका भवानी लिङदेनलाई चार हजार ११८ मत पाए । यहाँ यसअघि एमालेले ‘क्लीन स्वीप’ गरेको थियो।

जिल्ला उत्तर–पूर्वी क्षेत्रको स्थानीय तह याङ्वरक गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ। यहाँ पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन्। फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा पनि गठबन्धनकै उम्मेदवारहरू अघि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.