मधेसको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री कार्की
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताएका छन्। सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताए ।
उनले भने, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि म जनताको साथमा छु ।” नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको पार्टी भएको उल्लेख गर्दै मन्त्री कार्कीले कांग्रेसले सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढिरहेको दाबी गरे । उनले देशमा हिमाल, पहाड र मधेस गरेर तीन वटा भगौलिक क्षेत्र भएको बताउँदै कांग्रेसले विसं २००७ देखि नै मधेसलाई उच्च प्राथमिकताको साथ हेरिरहेको दाबी गरे ।
नागरिकता समस्याबाट मधेसका युवालाई ठूलो समस्या भएकाले यसलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको मन्त्री कार्कीले जानकारी दिए । जसपा नेपालसहित विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकालाई उनले फूलमाला र अविर लगाएर स्वागत गरे ।
‘अर्थतन्त्रबारे भ्रम पार्न खोजियो’
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिनका लागि सरकार सचेत रहेको बताएका छन् ।
सुनसरी सदमरमुकाम इनरुवा–२ स्थित नेपाल टेलिकमको कार्यालयले आयोजना गरेको ‘एफटीटीएस’ नेटवर्क विस्तार कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै किसिमको सत्यता नरहेको दाबी गरे । मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसबाट मुक्त हुन सबैलाई आग्रह गरे ।
सबैले एकताबद्ध ढङ्गले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने मन्त्री कार्कीले दाबी गरे । नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको उनले बताए ।







डिसी नेपाल








Facebook Comment