हरिबोधनी एकादशीको अवसरमा खोटाङका तीन पालिकामा बिदा

डिसी नेपाल
१८ कार्तिक २०७९ ९:३०
212
Shares

खोटाङ। हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन्।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि बराहपोखरी गाउँपालिकाले बिहिबार र शुक्रबार सार्वजनिक विदा दिएको हो। बराहपोखरी गाउँपालिकाले गत कात्तिक ३ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार हरिबोधनी एकादशीका लागि दुई दिन सार्वजनिक विदा दिएको जनाएको छ।

बराहपोखरीमा जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन्। बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गरेको छ। चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ।

हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन्। चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ।

बराहपोखरी र होङमा पोखरीमा लाग्ने धार्मिक मेलाकै लागि जन्तेढुंगा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ। बराहपोखरी पुगेर फर्किएका धामी तथा उनीहरुका आफन्तले समेत होङमा पोखरीमा पुजाआजा गर्ने गरेका छन्। होङमा पोखरी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा पर्छ।

दुधकोसी किनारमा लाग्ने हरिबोधनी एकादशी मेलाका लागि रावाबेँसी गाउँपालिकाले पनि विदा दिएको छ। रावाबेँसी गाउँपालिक–३ लामीडाँडामा पर्ने रभुवामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मान्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *