मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो

डिसी नेपाल
२५ कार्तिक २०७९ २१:३२
3.1k
Shares

स्याङजा । आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताए ।

बिहान ९ः१५ बजेको समयमा खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई महिलालाई आक्रमण गरी घाइते बनाएको थियो । मान्छेलाई आक्रमण गरी घाइते बनाएसँगै स्थानीयवासीले चितुवालाई घरमै थुनेका थिए ।

“घरमै थुनेर राखिएको अवस्थामा बिहान करिब ११ः३० बजेतिर घटनास्थलमा पुग्दा चितुवा जिउँदै थियो”, उनले भने, “दिउँसो ३ः३० बजेतिर चितुवालाई खोरमा हाल्न खोज्दा मरिसकेको थियो ।”

चितुवा बिरामी भएका कारण वा विष खाएर मानिसलाई आक्रमण गरेको हुनसक्ने र सोही कारण मरेको हुनसक्ने उहाँले आशङ्का व्यक्त गरे । मरेको चितुवालाई शल्यक्रियाका लागि डिभिजन वन कार्यालय स्याङ्जा लगिएको छ । शनिबार शल्यक्रिया गरिने भएकाले मृत्युको कारण पत्ता लाग्ने उनले बताए ।

चितुवाको आक्रमणबाट स्थानीय एक पुरुष र दुई महिला गरी तीनजना घाइते भएका थिए । घाइतेहरूको अनुहार, छाती र पाखुरामा गहिरो चोट लागेकाले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *