लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न : वरिष्ठ उपाध्यक्ष ढकाल

डिसी नेपाल
१२ फागुन २०७९ २२:३९
20
Shares

कुस्मा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भोटका लागि गैरजिम्मेवाररुपमा व्यवसायीले जथाभावी बोल्न नहुने कुरा बताए ।

“हामीले हूललाई खुसी पार्न व्यावहारिक रुपमा सम्भव नहुने लोकप्रिय कुरा गर्न हुन्न”, उनले भने । उपाध्यक्ष ढकालले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे ।

कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे । “अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ”, उनले भने, “बिस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ । हामी व्यवसायीको जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि किञ्चित् नहडबडाई निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निराश हुनु हुँदैन । नैराश्यताले हामी आफैँलाई नै समस्यामा पार्छ ।”

आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटकपटक बैंकको ब्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायी साथीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीका हक, हित र संरक्षणका लागि आफूहरू लागिरहेको र निरन्तर लागि रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.