नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता, ८०० सिम निःशुल्क उपलब्ध गराइने
काठमाडौं। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ।
यससम्बन्धी आज आयोजित एक कार्यक्रमका बीच सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छ्।
विगतदेखि नै सञ्चालनमा रहेको यस प्रकारको एसएमएस प्रवाह र त्यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवै संस्थाका प्रमुखहरूले एक-अर्काप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा समेत यो सेवा अझ बढी प्रभावकारी र विश्वसनीय हुने विश्वास व्यक्त गरे।
दुई निकायबीच भएको नयाँ सम्झौताअनुसार अब देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकहरूलाई जल तथा मौसमजन्य विपद् सम्बन्धी प्रकोप तथा जोखिमको पूर्वसूचना र त्यससम्बन्धी आवश्यक जानकारी ११५५ सर्टकोड प्रयोग गरी एसएमएसमार्फत पठाइनेछ। यस अन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात वा हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमतल विस्फोटन र डढेलो जस्ता प्रकोपहरुको पूर्वसूचना नागरिकसमक्ष पुर्याइनेछ।
विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत व्यवस्थित रूपमा प्रवाह गर्नका लागि जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्रहरू तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरूको ‘एसएमएस पोलिगन’ उपलब्ध गराउनेछ।
सम्झौता बमोजिम विभागले पश्चिम राप्ती, कन्काई, कोसी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायतका नदी तटीय क्षेत्र, स्थानीय तथा जिल्लागत नक्सा, आकस्मिक बाढी सम्भावित क्षेत्र वा उपयुक्त बेसिनको नक्सा टेलिकमलाई उपलब्ध गराउनेछ। त्यसैगरी प्रकोपको प्रकृति, विस्तार क्षेत्र तथा त्यसको प्रभाव स्तर अनुमान गर्न उपयुक्त हुने जिल्लागत नक्सा, स्थानीय तहगत नक्सा र विभिन्न स्थानका विशेष भूभाग समेटिएका नक्साहरू समेत उपलब्ध गराइनेछ।
नेपाल टेलिकमले यो एसएमएस सेवा विगतदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यस कार्यका लागि टेलिकमले पहिलेदेखि नै ७०० वटा सिम कार्ड उपलब्ध गराइरहेकोमा अब थप १०० वटा थप गरी कुल ८०० वटा डाटासहितको सिम कार्ड विभागलाई निःशुल्क उपलब्ध गराउने भएको छ।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा विगत २०७३ सालदेखि नै यस प्रकारको मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह भइरहेको छ। यस्तो पूर्वसूचनाबाट लाखौँ व्यक्तिहरू लाभान्वित भइरहेका र भविष्यमा समेत यसले धनजनको क्षति न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने अपेक्षा कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।






डिसी नेपाल





Facebook Comment