गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या, किसान चिन्तित

डिसी नेपाल
२६ चैत २०७९ १०:४०
104
Shares

फिक्कल। गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन्। जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ। सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे।

‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले जानकारी दिए। उनका अनुसार किर्ना, भुसाना, झिङ्गा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ।

उनले भने, “रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो। हालसम्म प्राप्त जानकारीअनुसार हाम्रो नगरपालिकामा पाँच पशु मरेका छन्। सङ्क्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ।”

गत वर्ष छिमेकी जिल्ला झापामा समस्या बनेको सो रोग यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो। सुरुमा इलामको रोङ गाउँपालिकामा देखापरेको रोग अहिले जिल्लाका माईजोगमाई, सन्दकपुरलगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ। माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखापरेको थियो।

उनले भने, “यो हावाको माध्यमबाट सर्दोरहेछ। कोरोनाकालमा मान्छे मर्ने त्रास थियो। अहिले गाई मर्ला कि भन्ने पीर बढ्यो।” दिनको १८ लिटर दूध दिँदै गरेको गाईमा रोग आएपछि आधा उत्पादन घटेको उनको भनाइ छ। यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुनसक्ने चिकित्सक भुपाल पोख्रेलले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *