इमरान खानको गिरफ्तारीपछि पाकिस्तानका धेरै ठाउँमा सेना परिचालन
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा स्थिति नियन्त्रण गर्न राज्य सरकारले सेना बोलाउने निर्णय गरेको छ । पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत पञ्जाब राज्य सरकारले सेनाको सहयोग लिने निर्णय गरेको हो ।
यस दफामा जिल्ला प्रशासनलाई सहयोग गर्न सेनाको सहयोग लिनुपर्ने व्यवस्था छ । पञ्जाब प्रान्तको गृह विभागले सेनाका दश कम्पनी तैनाथ गर्न माग गरेको छ । उनीहरूलाई लाहोर, मुल्तान, रावलपिंडी, फैसलाबाद र अन्य केही जिल्लाहरूमा तैनाथ गरिने छ।
इमरान खानको पार्टी तेहरिक-ए-इन्साफले आफ्ना समर्थकहरूलाई इस्लामाबादमा भेला हुन अपील गरेको छ। इमरान खान मंगलबार दिउँसो भ्रष्टाचारको मुद्दामा पक्राउ परेका थिए र अहिले इस्लामावाद पुलिस लाइनमा राखिएका छन्।
उनलाई पेस गर्ने गेस्ट हाउसमा नै एनएबी अदालत लगाइएको छ । सुनुवाईमा एनएबीले अभियोजक मुजफ्फर अब्बासीसँग इमरान खानलाई १४ दिनको रिमाण्ड मागेको छ ।
इमरान खानको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भइरहेको छ, देशमा इन्टरनेट सेवा बन्द गरिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भएको खबर छ ।
खैबर पख्तुनख्वामा तोडफोड गरेको आरोपमा २८ जनालाई पक्राउ गरिएको छ। इमरान खानका वकिलले देशमा अघोषित मार्शल ल लगाइएको बताएका छन् ।
सुरक्षाको कारण देखाउँदै धेरै विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । पाकिस्तानमा सामाजिक सञ्जालमा मानिसको पहुँचमाथि रोक लगाइएको छ।
इमरान खानका वकिलहरूलाई इस्लामावाद पुलिस लाइन्स मुख्यालयमा गएर इमरान खानलाई भेट्न अनुमति दिइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment