नेताहरुको समुन्नति, देशको अधोगति

शंकरप्रसाद रिजाल
१५ फागुन २०८० ८:२३
92
Shares

कबि शिरोमणि लेखनाथ पौडेल दोहोर्‍याइ दोहोर्‍याइ लेख्छन् ‘कसैको पनि देखिन्न एकैनास समुन्नति, अरुको के कुरा हेर, सन्ध्यामा सूर्यको गति’ संसार परिवर्तनशील छ। यहाँ एकैनासको समुन्नति कसैको पनि भएको छैन र हुँदैन पनि।

संसार जित्ने महत्त्वाकांक्षा लिइ हिँडेका सिकन्दर द ग्रेट  एक महान व्यक्तित्व अन्त्यमा मर्ने बेलामा दुई हात सर्लक्क पसारी मरेका थिए, ताकी मरेपछि लाने त केही पनि होइन रहेछ भनेर।

त्यस्तै सारा युरोप बिजयी गर्छु भनी हिँडेका फ्रान्सका बादशाह नेपोलियन बोनापार्ट पनि लड्दा लड्दै आखिर वाटर लुको युद्धमा मारिन पुगेका थिए। त्यस्तै जर्मनका खुँखार तानाशाह एडोल्फ हिटलर आखिर आफ्नै नव विवाहित पत्नीकै आगाडि कन्चटमा गोली ठोकेर मारिएका थिए।

अतः यहाँ कसैले पनि पैसाको, सम्पत्तिको, शक्तिको, शासन शक्तिको र आफ्नै बुद्धि र बाहुबलको घमण्ड नगरे हुन्छ। परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रमा प्रिय पात्र बनी बाँच्नु र रहनु छ भने इमान्दार, अनुशाशित, कुशल, नम्र र बिबेकी हुनु अति आवश्यक छ। यस्ता व्यक्ति संसारमा सधैं प्रिय पात्र बनी रहन्छन्।

देशमा के के गर्छु र देशलाई कति माथि लैजान्छु भन्नेहरु तर भित्र भित्रै आफू र आफ्ना आसेपासेहरुलाई पोसी आफूमात्र मोटाउने र कहिल्यै पनि जनता जनार्दनको प्रिय पात्र बनेर रहन नसक्ने देशका पानी लौरो टेकी हिँड्ने सबै नेताहरुको उच्च कोटीको रहन सहन, खानपान र उल्फत्को खर्च निरन्तर गरी सधैं “हा हा र हु हु” गर्ने गणतन्त्रबादी तथाकथित नेताहरुको आजको समुन्नती पनि कुनबेला कहाँ गएर अन्त्य हुने हो थाहा छैन।

आज गणतन्त्रले देशलाई १० वर्ष भित्रमा ‘दक्षिण एसियाको सम्मृद्ध देश बनाउँछु’ भन्नेहरु देशको सत्तामा निरन्तर ३० बर्षसम्म बसिरहेका छन्। देशमा राजनीति गर्ने नेताहरु प्रशस्त छन्, अर्थबिज्ञ प्रशस्त छन्, कृषिबिज्ञ त्यत्तिकै छन्, शिक्षाविद त्यत्तिकै छन्।

तर देशको अवस्था झन् झन् किन जिर्ण हुँदै गइरहेको छ? यत्रो ३० वर्षको गणतन्त्रको समयावधिमा पनि ल्याएको व्यवस्था निल्नु न ओकल्नु भएको छ।
यहाँसम्म आउँदा देशका नेताहरुले देशलाई कुन अबश्थामा ल्याए त्यो विश्वलाई थाहा छ र अहिले के गरिरहेका छन् त्यो पनि सबैलाई थाहा भएकै विषय हो।

नेपालीहरु बिदेसिएका छन् भने भारतीय, भुटानी, बर्मेली, बंगलादेशी र अरु बिदेशी धमाधम देश भित्र आइरहेका छन्। यो सबैको कडा निगरानी गर्नुको साटो सरकार फेरि आफैं अरबौं रकम घोटाला गरी बाँडीचुँडी खानमै व्यस्त छ।

हरेक कुरामा २०४६ साल भन्दा अगाडि देशको स्थिति कस्तो थियो र अहिले गणतन्त्र आएपछि २०८० साल सम्ममा देश कुन अवश्थामा गुज्रिरहेको छ त्यो सबैलाई अबगत भएकै कुरा हो। आज कसैबाट पनि सकारात्मक उत्तर आउन सक्तैन। तर नेताहरु बाग गर्जे झैं गर्जिरहेका छन्।

यो १८ बर्षको गणतन्त्रात्मक शासनमा देशमा करीब ५-७ प्रधानमन्त्री भइ सकेका छन्। हरेकले देश बनाउछु भनेकै हुन्। तर देश बनाउँछु भन्दा भन्दै उल्टो सारा उद्योग कल कारखाना बन्द भए। सारा बेरोजगार युबा युबती बिदेसिए। सारा अर्थव्यवस्था धरासायी बने। ब्यापार ब्यबसाय ठप्प छ। निर्यात गर्ने बस्तुहरु केही छैन।

त्यसको सट्टामा आयातको आयतन झन् झन् बढ्दै गइरहेको छ। जनै र टपरी जस्ता चिजसमेत आयात गर्न सरकार अघि सरेको छ। अरु विषयको त कुरै छोडौं। यो भयावह अवस्थादेखि डराई सारा युवाहरु आँखामा आँसु लिइ धमाधम बिदेसिएका हुन्। त्यो देख्दा आज सबैको आँखाबाट न आँसु झर्न सकेको छ न त मनभरी राख्न नै सकेका छन्।

यो कुरा आज कसले बुझ्ने हो र कसले यस बिषयमा सम्बोधन गर्ने? यो अहम् प्रश्न बनेको छ। २०४६ साल भन्दा अगाडि देशको राष्ट्रिय ऋण प्रतेक व्यक्तिमा केवल ६ हजार मात्र थियो भने २०८० साल सम्ममा आएर १८-१९ बर्षको गणतन्त्रले आज प्रत्येक व्यक्तिको शिरमा ८० हजार ऋण बोकाएको छ। यो आजका अर्थविदहरु र शासकले किन नबुझेको?

२०४६ साल भन्दा अगाडि स्थापित भएका सारा कलकारखाना एक एक गरी तथाकथित उदार नीतिको बोक्रे तर्कमा किन सबै कौडीको मूल्यमा बेचेर किन बिदेशबाट सबै सामान आयात गरिन्छ? के यही हो देशको अर्थनीति? के यही हो अर्थ राजनीति?

स्वावलम्बी बनेर बस्नु पर्नेमा आज हरेक चिजबिजमा पराधीन भइ आज नेपाल विश्वको अगाडि अर्थतन्त्रमा संकुचित भइ रहनु परेको छ। के गणतन्त्रको फायदा यही हो?

आज राजनीति हेर्‍याे त्यस्तै छ,  रंगहीन छ। यसो हेर्दा मिक्स भिजिटेबल जस्तो। हरेक चिज सुँघेर र चाखेर हेर्दा सबैको स्वाद आउने। आज कांग्रेसको पेटभित्र माओबादी बसेको छ भने माओवादीको पेटभित्र कांग्रेस बसेको छ। मिलेर खाउन्जेलसँगै बसेर खाने अघाएपछि दुई मध्ये एकले थाली घोप्त्याएर हिँड्ने प्रबृत्ति रहेको छ।

कोही आफ्नो स्वाभिमानमा बसेका छैनन्। बिचार शुन्य छ। गणतन्त्रमा कांग्रेसले माओवादीलाई भोट दिने, माओवादीले कांग्रेसलाई, त्यस्तै राप्रपाले एमालेलाई र एमालेले राप्रपालाई भोट दिने र ८८ सिट र ७८ सिट ल्याउने पाखा लाग्ने र ३२ सिट ल्याउनेले देश हाँक्ने

र त्यसमाथि जाबो १० सिट लिएको माधव नेपालसँगको पार्टीसँग सम्झौता गरी उनलाई पनि प्रधानमन्त्रीको एक चोक्टा काल समय दिने भन्ने गठबन्धनको संयुक्त सरकार चलाई हिँड्ने शासनतन्त्रलाई कसले गणतन्त्र भनी पत्त्याउने र कसले लोकतन्त्र र प्रजातन्त्र भनी हिँड्ने?

यो आजका अब्बल राजनीति विचारधारा लिएकाहरुलाई पच्ने कुरा होइन। यस्तो रंगहीन राजनीति दलहरुलाई हामीले टाढैबाट नमस्कार गरी भित्र भित्रै दबिनु परेको छ।

अर्थनीति पनि हेर्ने हो भने यस्तो राजनीतिक माहोलवाट गुज्रेको अर्थनीतिले कसरी देशको उन्नति गर्दछ त्यो एउटा आज कल्पना जस्तै बनेको छ। बास्तबिकता त कता छ कता।

अर्थतन्त्रमा आज देश लुटिएको छ। सानो देशको सानो राष्ट्रिय ढुकुटीमापनि सयौं पार्टी मिलेर लुट मच्चाइ रहेका छन्। राजनीतिमा आज देश आँखा नदेख्ने भएको छ भने अर्थनीति अपांग भएको छ। यस्तो अवस्थाबाट देश कहीँ पनि नपुग्ने निश्चित छ। धर्म त्यस्तै बनेको छ।

बर्णशंकर धर्मले देशको स्वधर्म भोलि कँहा गएर टुंगिने हो पत्तो छैन। बाबु सनातनी, छोरा क्रिस्चियन र नाति मुसलमान र जैन बन्ने दौड एकदमै बढिरहेको छ। ब्यबस्थाकै सम्बन्धमा भन्ने हो भने यहाँ हरेक १०-१२ बर्षमा व्यवस्था असफल भइ नयाँ नयाँ व्यवस्थाको परीक्षण भइरहेको छ।

आन्दोलन चर्किइरहेको छ। अभियन्ता बढिरहेका छन्। घरी केशरबहादुर बिष्ट त घरी दुर्गा प्रसाईं। घरी राजेन्द्र लिङदेन त घरी ज्ञानेन्द्र शाही। राजा ज्ञानेन्द्र स्वयम् पनि ‘अब फेरि मेरो श्रीपेच लाउने बेला आयो’ भनी जिल्ला जिल्ला घुमी हिँडिरहेका छन्।

सम्बोधन कतैबाट पनि हुन सकेको छैन, सारा जनता भ्रममा परी घरी गणतन्त्रको जुलुसमा त घरी राजासहितको संसदीय व्यवस्थाको जुलुसमा सम्मिलित हुने र आफ्नो अमूल्य समय त्यत्तिकै खेर फाल्ने प्रबृत्ति एकदमै बढेको छ। के गणतन्त्रमा यस्तै हुने हो त?

सम्पूर्ण बैंक आफ्नै कुकर्मले खराब कर्जाबाट ग्रसित बनेका छन्। ऋण प्रबाह गर्दा २ लाखको ६ लाख मुल्यांकन गरी भित्र भित्रै ठुलो कमिसन खाई ऋण प्रबाह गरी बैंक डुबाउने स्वयम् बैंक नै हुन्। यसमा राष्ट्र बैंकले पनि पटक्कै वास्ता नगरेको देखिन्छ।

यसैको फलस्वरूप आज सम्पूर्ण बैंकको खराब कर्जा २०७४ सालमा ६ अर्ब १३ करोड थियो भने अहिले २०८० सालमा २३ अरब ७१ करोड रहेको नेपाल राष्ट्रबैंकले प्रक्षेपण गरेको छ।

यस्तो गैरबैंकिङ सम्पत्तिको अत्त्यधिक बृद्धिले बैंकको पँंजीगत खर्चमा ह्रास आउने हुँदा बैंकले दिने शेयर मुनाफामा पनि ह्रास आउने हुँदा यसबाट ठगीने आखिर सर्बसाधारण नै हुन्।

खुद्रा पसलेहरु पसल बन्द गर्दै हिडेका छन्। नेपालीहरु बिदेसिएका छन् भने भारतीय, भुटानी, बर्मेली, बंगलादेशी र अरु बिदेशी धमाधम देश भित्र आइरहेका छन्। यो सबैको कडा निगरानी गर्नुको साटो सरकार फेरि आफैं अरबौं रकम घोटाला गरी बाँडीचुँडी खानमै व्यस्त छ।

यहाँ मन्त्री पदमा बस्नेनै मानव बेचबिखनमा लागेका छन्। हजारौं हजार सुन तस्कर भइनै रहेको छ। काण्डमाथि काण्ड थापिइनै रहेका छन्। सबै फाइल समयानुकुल खोलिन्छ र पूजापाती गरी बन्द गरेर अर्को सालको लागि राखिन्छ। आजसम्म कसैलाई पनि दण्ड दिइएको पाइँदैन।

देशमा साधारण तरिकाले बस्ने राजा, नेतादेखि लिएर सबै जनता कोही पनि छैनन्। देश कर्मशील छैन। संसारको आजको बिकासको गति नेतालाई पत्तो छैन। भएपनि आफ्नै धुन र कुसोचमा

मस्त रहेका छन्। प्रधानमन्त्री दिनहुँ गर्जिन्छन्। कसैले खोक्दा पनि शंका लागि गणतान्त्रमाथिको धक्का भनी शंखघोष गरी हिँड्ने बानी परेको छ। न्यायालय हेर्यो झन् झन् जिर्ण हुँदै ठुलालाई उन्मुक्ति दिने काम गर्नमै मस्त छ।

ज्यानमारालाई मुक्ति, अपराधीलाई माफी दिँदै न्यायाधीशलाई तुरुन्त सरुवा गर्ने र अपराध संरक्षण गर्ने परिपाटीको बिकासले नेताको समुन्नती हुने र देशको गति सधैं ‘सन्ध्यामा सूर्यको गति’ जस्तै रहने कुरा निश्चित छ।

अर्को भ्रष्टहरुलाई कारवाही गर्ने अख्तियार फाइल बोकेर टुलुटुलुहेरी बसिरहेको छ। आजसम्म कुनैलाई पनि दण्ड दियिएको सुन्नमा आएको छैन। सुका मोहर भ्रष्टाचार गर्ने कर्मचारीबाहेक। यस्तो दण्डहीनताको परिस्थितिमा जनताहरुलाई सधैं भ्रममा राखी सत्ता गठबन्धनको राज गरी बस्ने गणतन्त्रका शासकले के यो देशको उन्नति गर्लान् र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.