स्मरण

दिल्लीको छोटो यात्रा भाग ३ : कनट प्लेस

कपिल लोहनी
२६ वैशाख २०८३ ७:५४

भारतको राजधानी भएकोले दिल्लीमा विभिन्न जातजाति, धर्मावलम्वी र भाषाभाषीहरूको बसोवास छ। हिन्दू र मुसलमानको वाहुल्य भएको यो शहरको इतिहास पनि यिनै दुई धर्म मान्ने शासकहरूले कोरेका हुन्। पछि बेलायतको साम्राज्य अन्तर्गत भारत झण्डै ८९ वर्षसम्म बेलायतको प्रत्यक्ष शासन अन्तर्गत रह्यो।

बेलायतले सन् १८५८ देखि १९४७ सम्म भारतमा प्रत्यक्ष शासन गरेको भए पनि बेलायतकै इस्ट इन्डिया कम्पनीले भने सन् १७५७ मा व्यापार गर्ने हेतुले कलकत्तामा सियो बनेर पसेर भारतको अधिकांश भूभागमा सन् १८५८ सम्म हात्ती बनेर कम्पनी शासन गरेको थियो।

यो हिसाबले त बेलायतले भारतमा करिव १९० वर्ष शासन गरेको थियो। साना साना सयौँ राज्यहरूलाई एकीकरण गरेर बेलायतले विशाल भारतको सिर्जना गरेको थियो। यो क्रममा नेपालले पनि आफ्नो एक तिहाई भूभाग गुमाउनु पर्‍यो।

यो हिसाबले नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह भए जस्तै भारतको एकीकरण बेलायतले गरेको हो। यही समयमा बेलायती चालचलन र संस्कारका साथै आधुनिक विकासका पुर्वाधारहरू भारतवर्षमा आयात भएका हुन्।

दिल्लीलाई बेलायतले सन् १८५८ मा आफ्नो साम्राज्यको राजधानी बनाए पछि दिल्लीको विकास ह्वात्तैसँग हुन थाल्यो। शुरुमा लाल किल्लाभित्रबाटै शासन गर्न शुरु गरेकोमा पछि नयाँ दिल्लीको विकास गरेर यो शहर नयाँ र पुरानो दिल्लीको रूपमा चिनिन थाल्यो।

भारतको राजधानीको नाम नयाँ दिल्ली रहन गए पनि त्यहाँ हेर्न र घुम्न लायकका अधिकांश ऐतिहासिक ठाउँहरू पुरानो दिल्लीमा नै छन्। नयाँ दिल्लीका सडकहरू चौडा र शहर आधुनिकता तर्फ उन्मुख छ भने पुरानो दिल्ली एक ऐतिहासिक क्षेत्र हो।

प्रख्यात लाल किल्ला, लोधी गार्डेन, जामे मस्जिद, फतेहपुर मस्जिद, शिख गुरुद्वाराहरू, सेन्ट जेम्सेज चर्च लगायत अन्य चर्च, जन्तर मन्तर, भारतवर्षका प्रख्यात वादशाहहरू जस्तै हुमायुको मजार (समाधि), कुतुब मिनार र वादशाह कुतुबुद्दिनको समाधि, मिर्जागालिबको हवेली, ऐतिहासिक चाँदनी चोक बजार, चोर बजार, चिडिया बजार, दिल्ली गेट, राज घाट आदि सबै पुरानो दिल्लीमा नै छन्।

हाल सेन्ट्रल (केन्द्रिय) दिल्ली भनेर चिनिने क्षेत्रमा इन्डिया गेट, राष्ट्रपति भवन (बेलायती शासनकालको भाइसरोयको निवास र कार्यालय), संसद, कनट प्लेस, कुटनीतिक नियोगहरू रहेको बसन्त विहार र चाण्क्यपुरी, रेल स्टेशन र विमानस्थल इलाका आदि पर्दछन्।

सन् १९४७ मा भारत स्वतन्त्र भए पश्चात् नयाँ दिल्लीको विकास झनै तिव्र रूपमा हुन थालेको हो। राजधानीका आधुनिक आवास क्षेत्र, होटेल, रेष्टुरेन्ट, सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, उद्योग-वाणिज्यका केन्द्रहरू, अस्पतालहरू, वहाई लोटस टेम्पल, स्वामीनारायण अक्षराधाम र अन्य मन्दिरहरू तथा नयाँ नयाँ विशाल वस्तीहरू बन्न थाले पछि नयाँ दिल्ली निकै फैलिन थाल्यो र यो क्रम अझै जारी छ। आज दिल्ली शहर उत्तर प्रदेशको नोयडादेखि हरयाणाको गुरुगाउँ र राजस्थानको केही भागसम्म फैलिएको छ।

हाम्रो अर्को दिनको शुरुवात पनि घरको छतमा हिँड्ने र कसरत गर्ने कामबाट नै भयो। यदाकदा दिल्लीमा बिजुली बन्द पनि हुँदो रहेछ। गत राति करिव डेढ घण्टा बिजुली नहुँदा गर्मीले निकै सताएको थियो। अब दिन प्रति दिन गर्मी बढ्दै जान्छ।

चरम गर्मी भएको बेलामा यसरी बिजुली गयो भने त्यहाँ कस्तो अवस्था आउला। हुन त मान्छेले गर्मी छल्न पङ्खा, एसी र फ्रिजको प्रयोग गर्न थालेको कति नै भयो र! त्यसमाथि आज पनि दिल्लीमा यो सब सुविधाको प्रयोग गर्ने जनसंख्या कति नै छ होला र! तर जसले यस्तो सुविधा प्राप्त गर्न सकेको छ, उसलाई भने बिजुली नहुँदा गर्मीले निकै नै सताउने गर्दछ।

मुगल वादशाहहरूको जमानामा उनको दरवारको भूमिगत तल्लामा तहखाना बनाइएको हुन्थ्यो। त्यस्तो तहखानाभित्र काश्मिर र हिमालयदेखि हिउँ ल्याएर राखिएको हुन्थ्यो रे। सो हिउँको प्रयोगले उनीहरूको ठण्डा पेय पदार्थ तयार हुन्थ्यो भने उनीहरू बस्ने ठाउँमा ठूला ठूला पर्दा जस्ता मानवचालित पङ्खा हुन्थे रे।

भारतमा बिजुलीको उत्पादन शुरु भए पछि बेलायतीहरूले गर्मीको निम्ति पङ्खा र जाडोको निम्ति आतिशदानी (हिटर) भित्राएका थिए। त्यही सिको सिकेर नेपालमा चन्द्रशमशेरको पालामा फर्पिङमा बिजुली उत्पादन भएपछि राणाशासक र राजाको दरवारमा केही थान पङ्खा र हिटर भित्रिएका थिए।

बेलायतीहरूले भारतमा शासन गर्दा कार्यालयको कुर्सीमा पसिना पोछ्न भनेर रुमाल राख्ने गरेका थिए। त्यो चलन आजसम्म पनि भारत र नेपालका सरकारी कार्यालयमा कायमै छ। हाकिमको कुर्सीमा रुमाल हुनै पर्ने जस्तो चलन। हिजोआज केही कम हुँदै गएको छ। यसरी कुर्सीमा रुमाल राख्ने खर्च मात्र पनि कति धेरै हुन्छ होला!

आज नास्ता पछि हामी मध्ये एक थरी उपचारको क्रममा अपोलो अस्पतालतर्फ गए भने म लगायत केही कनट प्लेसतिर घुम्न र दिल्लीका मित्रसँग भेट्न गयौं। हाम्रो वासस्थानबाट मोटरगाडीमा कनट प्लेस करिव ४० मिनेटको बाटो।

दिल्ली एक वृहत् शहर भएकोले जुनै पनि ठाउँमा पुग्न कम्तीमा आधा घण्टाको सफर त गर्नै पर्ने। सडकमा सवारी साधनको भाँडभैलो हँकाई। अनावश्यक तवरले हर्न बजाउने। एक प्रकारको अराजक अवस्था। धुलो त्यत्तिकै। अथाह सवारी साधन कुद्ने तथा निकै ठूलो शहर भएकोले पनि त्यस्तो भएको होला।

कनट प्लेसमा पुगेर हामी पालिका बजार नजिकैको मेट्रो स्टेशन निर हाम्रो मोटरगाडी पार्क गरेर घुम्न निस्कियौं। हामीले भेट्न खोजेको मित्र पनि त्यहीँ आइपुगे पछि हामी त्यहाँ नजिकका विभिन्न ब्लकहरूको पैदल यात्रामा हिँड्यौं। गर्मी भए पनि कनट प्लेसमा हिँड्नको निम्ति सबै भवनहरूमा ढाकिएको पैदलमार्गको निर्माण गरिएकोले घाम र पानीबाट बचेर हिँड्न पाइने।

सो पैदल मार्गमा जुत्तामा पालिस लगाउने, पुस्तक र खेलौना बेच्ने, मोवाइलका कभरहरू बेच्ने र खात्राक-खुत्रुक सामग्री पेटीमा नै राखेर बेच्नेहरूको वाहुल्य। हुँदा हुँदा एक जना मानिसले त दाँत सफा गर्ने कि वा कानको गुजी झिक्ने कि भनेर पनि सोध्यो। त्यहाँ किन्नर समुदायका तेस्रो लिङ्गीहरू जसलाई हिजडा पनि भनिन्छ, त्यस्ता महिलाका भेषमा रहेकाले र बच्चाहरूले मागेर हिँडेको पनि देखियो।

दिल्लीका हाम्रा मित्रको साथमा हामी एउटा रेष्टुरेन्टमा खाना खान पस्यौं। त्यो भवनमा पञ्जावी, गुजराती तथा भारतका अन्य ठाउँका खानाका साथै नेपाली खानाका रेष्टुरेन्ट पनि रहेछन्। त्यहाँ बस्ने मित्रहरूको इच्छा मुताविक हामी ‘याक’ नामको नेपाली रेष्टुरेन्टमा पस्यौं।

वातानुकुलित सो रेष्टुरेन्टमा नेपाली तथा भुटानी खाना पनि पाइँदो रहेछ। हामीले दुवै प्रकारका खाना मगाएर खायौं। निकै स्वादिलो। भारतीय तथा केही समुद्रपारका विदेशी पनि नेपाली र भुटानी खानाको आनन्द लिइरहेका।

त्यहाँका अधिकांश कर्मचारी पनि प्रवासी नेपालीहरू नै। दिल्लीमा खासगरी नेपालको सुदूर पश्चिमी क्षेत्रबाट कामको निम्ति धेरै नेपालीहरू जाँदा रहेछन्। हामी बसेको अपार्टमेन्टको सफाइको निम्ति पनि एक जना नेपाली युवती दिनहुँ आउने गर्दथिन्।

सन् १९७१ मा माता-पिता र दिदी-दाजुसँग दिल्ली भ्रमणमा जाँदा मेरो उमेर करिव ६ वर्षको थियो। त्यतिबेला हामी कनट प्लेसको ‘डी’ ब्लकमा अवस्थित प्यालेस हाइट्स होटेलमा करिव दुई हप्ता बसेका थियौं।

पिताजी कोलम्बो प्लानको सम्मेलनमा भाग लिन जानु भएकोले लामो वैठक हुँदा उहाँ कहिलेकाहीँ सम्मेलनस्थल अशोका होटेलमा बस्नु हुन्थ्यो भने अधिकांश बसाइँ कनट प्लेसको यही सानो होटेलमा भयो। त्यहाँका कर्मचारी निकै असल थिए भने हाम्रो लामो बसाइँ भएकोले हामीसँग ज्यादै नजिकिएका थिए। त्यहाँको एकजना कर्मचारीले त मलाई कनट प्लेसमा लगेर घुमाउने काम पनि धेरै चोटी गरेको थियो।

सो होटेलको दोस्रो तलामा हाम्रा कोठाका साथै ठूलो कौसी थियो। हाल त्यो कौसीको ठाउँमा विशाल हल बनेछ, जहाँ रेष्टुरेन्टको साथै सभा गर्ने सुविधा पनि रहेछ। त्यतिबेलाको पुरानो कैँची ढोका भएको लिफ्टको ठाउँमा आधुनिक लिफ्ट जडान गरिएको रहेछ।

नत्र त उही घर, उही वातावरण र उस्तै कोठाहरू। पुराना कर्मचारीहरू भने कोही पनि थिएनन्। कतिपय त निकै बृद्ध भइसके होलान्। किनकी त्यतिबेलाको ६ वर्षे केटो म नै आज छैँठौ दशकमा हिँड्दै छु।

त्यहाँका आजका नयाँ कर्मचारीहरूसँग म ५० वर्ष अघि सो होटेलमा आएर बसेको कुरा गर्दा निकै आश्चर्य चकित र खुशी भएका थिए। उनीहरूसँग एकछिन कफी गफ पनि हुन पायो। पुराना याद ताजा हुँदा निकै खुशी लागेको थियो।

सोही ब्लकको पछाडिपट्टि त्यतिबेला एक प्रख्यात दुधको पसल थियो। ठूलो कराइमा दुध तताएर साराबारा गर्दै त्यहाँको साहुले स्टिलको ठूलो गिलाँस भरी दुध बेच्दथ्यो। बाक्लो र गुलियो दुध पिउनेको घुइँचो नै लाग्दथ्यो। त्यहाँ त्यतिबेला नेपाली कर्मचारी पनि थिए। तर आज त्यो पसल त्यहाँ रहेनछ।

त्यस्तै कनट प्लेसको ‘डी’ ब्लकमा नै बेलायती साम्राज्य हुँदाको बेला यानी सन् १९३० ताका खुलेको ओडियन सिनेमा नयाँ स्वरुपमा अझै जिवित रहेछ। त्यतिबेला कनट प्लेसमा ओडियनको साथै रिगल, प्लाजा र रिभोली सिनेमा हल पनि खुलेका थिए।

हामीले सन् १९७१ मा त्यहाँ ‘शोर’ नामको प्रख्यात हिन्दी सिनेमा हेरेका थियौं। तर म सानै भएकोले खासै केही बुझेको थिइन। भारतीय ख्यातीप्राप्त अभिनेत्री नन्दा अभिनित सिनेमा नेपालमा नचल्ने भएको तथा त्यो सिनेमाको कथावस्तु निकै प्रख्यात र मार्मिक भएकोले मेरा मातापिता र दिदीदाजुले खुबै मन पराएका थिए।

कनट प्लेसको यो ओडियन सिनेमा भारत कै प्रथम वातानुकुलीत सिनेमा हल हो भने पछि ७० एम एमको पर्दामा सिनेमा देखाउने मध्येको पनि अग्रणी हल हो। सन् २०२० मा कोभिडको महामारी शुरु भएपछि यो हल केही समयको निम्ति बन्द भएको थियो।

सन् १९२८ मा बेलायतमा शुरु भएको ओडियन सिनेमा समूह आज पनि त्यहाँ सबैभन्दा ठूलो सिनेमा हल चेनमा नै पर्दछ। मेरो सन् २०१३ को बेलायतको भ्रमणको बेला लण्डनको ओडियनमा जेम्स बण्डको ‘स्काई फल’ सिनेमा हेर्ने मौका मिलेको थियो।

दिल्लीको कनट प्लेसको आफ्नै इतिहास र महत्व छ। दिल्लीको मुख्य व्यावसायिक क्षेत्रको रूपमा सन् १९३३ ताका स्थापना गरिएको कनट प्लेसको नामाकरण बेलायतकी रानी भिक्टोरियाका तेस्रा सन्तान राजकुमार आर्थर (ड्युक अफ कनट) को पदवीको नामबाट राखिएको हो।

कनट प्लेसको निर्माण हुनु भन्दा पहिले यो क्षेत्र घना जंगल र झाडीले भरिएको थियो भने त्यहाँ हनुमान तथा अन्य केही भगवानका मन्दिरहरू थिए, जुन आज पनि छन्।

शुरुमा विभिन्न साहुमहाजनहरूको पनि लगानी रहेको र छ वर्ग किलोमिटरमा फैलिएको कनट प्लेसका भवन र संरचना आज भारत सरकार कै स्वामित्वमा संरक्षित छन्। यसको जनसंख्या करिव ५०,००० को हाराहारीमा छ।

तत्कालीन वृटिश भारतका प्रमुख वास्तुविद् डब्लु. एच. निकोल्सको नक्शांकनको आधारमा निर्माण शुरु भएको यो क्षेत्रको निर्माण सम्पन्न गर्न वास्तुविद्द्वय लुट्येन्स र बेकर तथा रवर्ट टोर रसेलको योगदान रहेको थियो।

तत्कालीन युरोपेली वास्तुकलामा आधारित कनट प्लेसका सबै आकर्षक भवनहरू सेतो रङ्गका छन् र यिनलाई आजसम्म पनि जस्ताको तस्तै संरक्षण गरेर राखिएको छ।

कनट प्लेसको सेरोफेरोमा नै राष्ट्रपति भवन, संसद, मन्त्रिपरिषद्का भवनहरू, इन्डिया गेट, जन्तर मन्तर, लक्ष्मीनारायण मन्दिर, गुरुद्वारा वंगला साहेब, उग्रसेनकी बाओली, जनपथ, पहाडगञ्ज, गोल मार्केट, बाह्रखम्बा रोड, केन्द्रीय रेल स्टेशन, शिवाजी स्टेडियम आदि पर्दछन् र यी सबै क्षेत्रबाट चौडा सडकहरू गोलो कनट प्लेसमा आएर जोडिन्छन्।

यसरी दिल्लीको मुख्य इलाकाहरूबाट कनट प्लेस निकै सहज रूपले पुगिन्छ। रातिको समयमा पनि कनट प्लेस झकिझकाउ हुन्छ। प्रत्येक ब्लकमा पार्किङ सुविधा भए पनि बढ्दो भीडभाडले गर्दा पार्किङ पाउन कहिलेकाहीँ मुस्किल पनि हुन्छ।

विभिन्न दुई तले सेता भवनहरू भएका ब्लकहरूमा विभाजित विशाल गोलाकार कनट प्लेसको भित्री भाग यानी इनर सर्कलमा भव्य सेन्ट्रल पार्कको निर्माण गरिएको थियो, जुन आज पनि छँदैछ। पछि यसको नाम गान्धी पार्क राखिएको भए पनि जनजिब्रोमा यो सेन्ट्रल पार्क भनेरै प्रख्यात छ।

उतिबेला यसको निर्माणको समयमा रहेका बोटविरुवालाई सम्वर्धन गरेर त्यहाँ अन्य धेरै किसिमका बोटविरुवा रोपेर यो पार्कको निर्माण गरिएको हो। कनट प्लेसको भित्री सर्कलले घेरिएको यो पार्कसँगै गान्धिको चर्खा संग्रहालय तथा खादीको कपडा पाइने विशाल पसल पनि छन्।

यो पार्कको नजिकमा गान्धि स्मृति यानी महात्मा गान्धिले आफ्नो अन्तिम समय बिताएको विडला हाउस पनि छ। तीन वटा सर्कलहरूमा उस्तै युरोपेली जर्जियन शैलीको वास्तुकलाका भवनहरू र तिनलाई जोड्ने सडकहरूको पनि निर्माण गरिएको थियो।

शुरुमा ती भवनहरूको माथिल्लो तलामा आवासीय क्षेत्र र भुइँतलामा व्यावसायिक क्षेत्रको अवधारणा बनाइएको भए पनि हाल त्यो पुरै क्षेत्र व्यावसायिक क्षेत्रमा परिणत गरिएको छ। आज कनट प्लेसको पसल भाँडा दर विश्वमा नै दश महँगा ठाउँ मध्येको पर्दछ।

त्यतिबेला नै शुरु गरिएका रिगल, ओडियन, रिभोली जस्ता सिनेमा तथा नाचगान र सांगितिक प्रस्तुती गर्ने हेतुले खोलिएका हलहरू त्यहाँ अझै पनि छन् भने नेपाल वायुसेवा निगमको कार्यालय पनि कनट प्लेसमा नै छ।

कनट प्लेसमा रहेका भवनहरूमा विभिन्न मुलुक र भारतीय प्रदेशका खाना पाइने रेष्टुरेन्ट, क्याफे, पब, होटेल, सिनेमा हल, ब्रान्डेड सामान र गहना पसल तथा बैंक र विदेशी व्यावसायिक केन्द्र र सरकारी कार्यालयहरू आदि रहेका छन्। आज वृहत् दिल्लीका विभिन्न ठाउँहरू किनमेलको निम्ति प्रख्यात हुँदै गए पनि पुरै दिल्लीमा कनट प्लेसको आफ्नै महत्व छ।

कनट प्लेसको भित्री भागमा रहेको वातानुकुलित भूमिगत पालिका बजारमा पनि एकछिन घुम्ने मौका पायौं। पालिका बजारको निर्माण सन् १९७९ मा भएको हो। योभन्दा पहिले पनि धेरै पटक घुमिसकेकोले पहिलेको भन्दा हाल अलिक कम आकर्षक लाग्यो यो बजार।

हुन पनि शुरुमा निकै आकर्षक यो बजारको चमक सन् १९९० को दशकदेखि खस्किँदै गएको रहेछ। हाल यो बजारमा चोरीका सामान पनि पाइने भएकोले तथा यदाकदा विभिन्न प्रकारका अपराधका घटना पनि घट्ने भएकोले पुलिस प्रशासनले बेला बेलामा तलासी लिने गर्दो रहेछ।

राजिव चोक मेट्रो स्टेशन निरै रहेको यो बजारमा करिव ३८० वटा विभिन्न प्रकारका आकर्षक र अत्यावश्यक सामान पाइने दोकान छन् र त्यहाँ खासगरी सस्ता सामानहरू पाइन्छन्। मोलमोलाई पनि निकै चल्छ।

दिनहुँ करिव १५,००० जति विभिन्न प्रकारका मानिसहरू त्यहाँ किनमेलको निम्ति जाने र ज्यादै भिडभाड हुने भएकोले हामी जस्ता साना शहरबाट गएका मानिसलाई एक प्रकारको घबराहट जस्तो हुँदोरहेछ।

त्यस माथि जुत्तामा पालिस गर्नेहरू, मागेर गुजारा चलाउने र हिजडा जस्ताहरूले पिछा गरेर हैरान पार्ने। दिल्ली पुलिसले सो बजारमा खासगरी महिलाहरूलाई एक्लै नजाने सल्लाह दिँदा रहेछन्। यो भूमिगत बजारमा आवतजावतको निम्ति विभिन्न दिशामा सात वटा ठूला बाटा र ढोकाहरू बनाइएका छन्।

खाना र घुमाइ पश्चात् दिल्लीका मित्रसँग मेट्रो रेल स्टेशनमा बिदा भएर हामी आफ्नो बासस्थानतर्फ लाग्यौं। घरमा पालेका सफा माउ बिराला दम्पति र उनका तीन वटा माया लाग्दा छाउराहरू गर्मीले गर्दा सुतिरहेका रहेछन्।

असल जातका यी बिरालाहरू निकै अनुशाषित छन्। बचपनमा परेवा पाल्दा बिरालाले परेवा खाइदिने भएकोले बिराला माथि घृणा लाग्ने मेरो पनि यी बिरालाले मन जितेका थिए। मेरा पिताजी बिरालोलाई निकै मन पराउने गर्नु हुन्थ्यो र उहाँको कोठामा कुन्नि कता कताबाट थुप्रै बिरालाहरू आएर बस्दथे। धपाउन खोज्दा उहाँले उल्टै हामीलाई गाली गर्नु हुन्थ्यो।

तर छाडा बिरालाको शरीरमा टाँसिएर घरमा आएका उडुसले टोकेर पिताजीको हात र खुट्टामा ससाना धेरै घाउहरू भएका हुन्थे त्यसैले मलहम लगाइ राख्नु पर्ने। आजको दिन पनि आखिर बिति गयो। अर्डर गरेपछि निकै छिटो घरमा खानपान र अन्य वस्तु आइपुग्ने भएकोले राती दिल्लीका केही स्वादिला परिकार घरैमा मगाएर खायौं।

क्रमशः

-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *