कविता : सत्ताच्युत
बागमतीमा बग्दैन पानी
बग्छ आँसुको भेल
निहत्था छन् मान्छेहरु
खोशिएको छ भविष्य
बाटोमै अलपत्र छन् तिनीहरु
हठात गन्तव्य हराएको छ।
हिजोसम्म देखेको मिठो सपना
क्षण भङ्गुर भएको छ
गाँस बासको पिरलोले सताएर
छोरा छोरीको निन्याउरो अनुहार नियाल्दै
फूट्पाथमा हात पसारि रहेछन्
अवोध बा आमाहरु
आँसुले परेली भिज्छ
तिरष्कारका कोर्राले हाने पछि।
स्वयंभूका दुईटा आँखा
न्याय अन्याय छुट्याउँदैन
मकै पिधेसरि पिँधिन्छन्
मान्छेका विचारहरु
पशुको पति पशुपतिनाथ
मुकदर्शक बस्छ
पापीहरु ढाेंङ गरिरहेछन्
जल अर्पण गर्दै
अर्को पापको योजना बनाएर
श्राप दिन सक्तैन पशुपति
आफैं श्रापित भएर बस्छ
ओ महादेव!
तिम्रो भक्त
जनताको नाममा कशम खाँदैन
पढाउँछ एकसय आठ बटुक
पढाउँछ एकसय आठ भिक्षु
र कशम खान्छ तिम्रै नाममा।
झुट बोल्छन शासकहरु
सत्ता टिकाउन प्रपञ्च रच्छन्
देश सकिएको नाटक मञ्चन गर्दै
आफूलाई देवत्वकरण गर्छन्
निमुखाको रोजीरोटी खोशेर
निमुखाकै थात बास उठाउँदै
मानव अधिकारको दुहाई दिन्छन् शासकहरु।
मान्छेका मन भाँच्चिएका छन्
अधिकारहरु खोसेर
निरंकुशताको बर्की ओढ्दै छ सरकार
हिटलर हुन नखोजियोस्
सह्य छैन फाँसीवाद
उठ्नेछ पुन जनक्रान्तिको उभार
समाइनेछ कठालो
गराइने छ उठ बस
सत्ता उन्मादले कति दिन मात्ने ?
ओ महामहिम !
कैदखाना सुरक्षित राख
तिमी पनि सत्ताच्युत हुने नै छौ कुनै न कुनै दिन।
सुन्दरहरैंचा -०६, दुलारी, मोरङ
No ads found for this position


Facebook Comment