निबन्ध

कोही कसैको प्रिय बनिरहन कहिल्यै सक्दैन

ज्ञानेन्द्र विवश
२६ वैशाख २०८३ ७:४९

हाम्रा आँखाहरूले दिनभरि अनन्त दृश्यहरू त देख्छन्, तर ती सबैले मनलाई छुँदैनन्। त्यसैले त लाग्छ-आँखालाई त्यति मात्र प्यारो लागोस्, जति देख्दा मनले खुसीको एउटा मीठो तरङ्ग महसुस गर्न सकोस्।

त्यसले केही न केही नयाँ कुरा लेख्नलाई उक्साई रहोस्। प्रेरित गरिरहोस्। काउकुती लगाइरहोस्। आखिर, बाहिरी दृश्यको भीडभन्दा दृष्टिको गहिराइ र मनको मौन सन्तुष्टि नै जीवनको वास्तविक सौन्दर्य हो।

मनुष्यको हृदय एउटा यस्तो ऐना हो, जसमा समय र परिस्थितिका अनगन्ती रङ्गहरू फेरिरहन्छन्। संसारको एउटा शाश्वत सत्य के हो भने-‘कोही कसैको प्रिय बनिरहन कहिल्यै सक्दैन।’ कहिलेकाहीँ हामी आफैँ पनि आफूसँग ‘अप्रिय’ बनिरहेका हुन्छौं।

यो वाक्य सुन्दा केही अनौठो पनि लाग्न सक्छ, तर यसभित्र जीवनको गहिरो दर्शन लुकेको छ। हामी सधैँ अरूको नजरमा ‘सर्वश्रेष्ठ’ बन्ने दौडमा हुन्छौं।

कसैको ओठमा मुस्कान छर्न खोज्छौँ त कसैको भरोसाको केन्द्र बन्न चाहन्छौं। तर, मानिसको स्वभाव नै परिवर्तनशील छ। आज जो हाम्रो उपस्थितिले पुलकित हुन्छ, भोलि त्यही व्यक्ति हाम्रो मौनतासँग पनि झर्को मान्न सक्छ।

प्रियताको एउटा निश्चित समय हुन्छ। जसरी ऋतुहरू बदलिन्छन्, त्यसरी नै मानिसका प्राथमिकताहरू बदलिन्छन् एउटा बिन्दुमा पुगेपछि हामीले बुझ्छौँ कि अरूलाई खुसी पार्ने प्रयत्न गर्नु भनेको बालुवामा महल बनाउनु जस्तै हो-जुन जुनसुकै बेला ढल्न सक्छ।

अरूको त कुरा छोडौँ, कहिलेकाहीँ त हामी आफ्नै नजरमा पनि कुरुप बन्छौं। ऐना हेर्दा आफ्नै प्रतिविम्बसँग प्रश्न सोध्न मन लाग्छ। आफ्ना गल्तीहरू, कमजोरीहरू र कहिल्यै पूरा हुन नसकेका अपेक्षाहरूले गर्दा आफूलाई आफैँ मन पर्दैन।

कहिलेकाहीँ आफ्नै विचारहरूको कोलाहलले मन यति भारी हुन्छ कि लाग्छ-यो शरीरभित्रको मान्छे मेरो कोही होइन, एउटा अपरिचित बोझ मात्र हो।
यो अवस्था भनेको आत्म–मन्थनको समय हो, जहाँ हामी आफ्ना आन्तरिक अँध्याराहरूसँग जुधिरहेका हुन्छौँ।

फेरि कहिलेकाहीँ यस्तो पल पनि आउँछ, जहाँ यो विशाल ब्रह्माण्डमा आफूभन्दा सुन्दर र प्रिय अरू कोही लाग्दैन। जब हामी आफ्ना स–साना सफलतामा रमाउँछौँ, जब आफ्नै एकान्तसँग प्रेम गर्न थाल्छौँ, तब लाग्छ-म नै पर्याप्त छु।

आफूलाई आफैं मात्र अति नै मन पर्नु स्वार्थ होइन, यो त आत्मबोधको त्यो उचाइ हो जहाँ बाहिरी संसारको प्रशंसा वा आलोचनाले कुनै अर्थ राख्दैन। यो त्यो क्षण हो जब हामी आफ्नै स्वरको सङ्गीत सुन्छौँ र आफ्नै अस्तित्वको मीठो सुगन्ध महसुस गर्छौं।

यही नै त हो जीवन! कहिले कसैको आँखाको नानी बन्नु, त कहिले आफ्नै आँखाको कसिङ्गर बन्नु। कहिले सारा संसार त्यागेर आफ्नै अँगालोमा बाँधिन मन लाग्नु, त कहिले आफैँबाट टाढा भाग्न खोज्नु।

हिउँको छायाँमा लम्पसार परेको नम्र आकाश र ढिस्कामा बिसाएको माछापुच्छ्रे हेरेर मलाई एक्कासि लाग्यो-कोही कसैको प्रिय बनिरहन कहिल्यै सक्दैन। क्षणिक मोह हुन्छ, गहिरो छायाँ हुन्छ, तर प्रिय बन्नु त त्यो आकांक्षा हो, जुन कहिल्यै पूरा नहुने झरनाजस्तै हो-सधैँ बगिरहने, तर कहिल्यै नअडिने।

सिक्लेसको यात्रामा, म एउटा पुरानो पाटीमा बसिरहेको थिएँ। गाउँका मानिसहरू बाटो लागेका थिए, कोही घाँस बोकेर फर्किंदै थिए, कोही मौन मुस्कान बोकेर अगाडि बढ्दै थिए। ती अनुहारहरूमा पनि त्यही अनुभूति झल्किरहेको थियो-मानौँ ती कसैको प्रिय बन्न खोजेर थाकिसकेका थिए। अन्त्यमा आफैँ भएर बाँचेका थिए।

बाटोमा भेटिएका एक वृद्ध आमाले भनेकी थिइन्, ‘प्रिय बन्नुभन्दा सम्झिन लायक हुनु ठूलो कुरा हो।’ उनीसँग धेरै शब्द थिएनन्, तर त्यो एक वाक्यले मेरा यात्री पाइलाहरूलाई भारी बनायो। प्रिय बन्ने दौडमा म पनि कतिसम्म अल्मलिएको थिएँ!

शहरका गल्ली र चोकचौबाटाहरूमा, अनुहारका मुस्कानहरूमा, औपचारिक चियापानमा म आफ्ना अस्तित्व खोजिरहेछु। तर सिक्लेसको ती पाङ्ग्राले नघुमेको ढिकुरो जस्तो जीवनहरूले सिकाइरहेका थिए- प्रिय त क्षणभरि बनिन्छ, तर सम्झनलायक बन्न समय लाग्छ।

राति, गाउँको एक खरको छाना र ढुंगामाटोको घरमा आगो ताप्दै गर्दा, घरबेटीले मलाई एकथान ढाका टोपी देखाउँदै भनिन्-‘यो मेरा बुवाले बुनेको, तर कहिल्यै लगाउन पाएनन्, किनकि त्यो बेला कसैको प्रिय बन्ने भन्दा खेत जोत्नू ठूलो थियो।’ त्यो टोपी मैले मस्तिष्कको एउटा कुनामा सुरक्षित राखें। त्यो प्रिय बन्ने नभएर कामको प्रियता थियो।

सिक्लेसबाट फर्कंदा, बाटोमा धेरै हिमाल देखिए-अन्नपूर्णा, लमजुङ, मनास्लु -ती पनि त प्रिय बन्न चाहन्थे होलान् कहिलेकाहीँ, तर उनीहरूको मौनता नै उनीहरूको शाश्वतता बन्यो।

प्रिय बन्न खोज्दा म आफैँ हराउँछु, तर प्रियतालाई बिर्सेर अगाडि बढ्दा जीवन आफैँ प्रिय बन्छ, बगिरहेको झरनाजस्तै।

कहिलेकाहीँ लाग्छ-प्रेम, मित्रता र आत्मीयता भनेको नदीजस्तै हो। एकातिरबाट बग्न सुरु गर्छ, अर्को किनारलाई छुन्छ, तर त्यही ठाउँमा स्थिर रहँदैन। मानिसहरूको सम्बन्ध पनि त्यस्तै हो- बहने, बग्ने, र फेरिने।

हामी कति चाहन्छौं-कसैको प्रिय बन्न, उसको मनको एउटा कुनो ओगट्न, समयको एउटा टुक्रा आफ्नो नाममा सुरक्षित राख्न। तर समय सधैँ हाम्रो चाहनानुसार बग्दैन र कोही कसैको ‘प्रिय’ बनिरहन सक्दैन।

जीवन एउटा अव्याख्येय यात्राजस्तै हो जहाँ प्रत्येक मोडमा अनुहारहरू बदलिन्छन्, स्वरहरू टाढिँदै जान्छन्, र सम्बन्धहरू कुँडिएर स्मृतिमा सीमित हुन्छन्। जुन व्यक्ति हिजो हामीलाई माया गथ्र्यो, आज ऊ हामीलाई अपरिचितझैँ देख्न सक्छ।

जसले हाम्रो सानो गल्तीमा पनि मन दुखाउँथ्यो, ऊ नै आज हामीको सबैभन्दा ठूलो चिच्याहटलाई पनि सुन्ने प्रयत्न गर्दैन। यथार्थको यही विडम्बनाले मानिस स्थायी छैन, भावनाहरू झनै होइनन् भन्ने बुझाउँछ।

शायद हामी आफैँ पनि कहिल्यै कसैको प्रिय बनिरहन सक्दैनौँ, किनभने हामी आफू पनि हरेक दिन बदलिरहेका हुन्छौं। हिजो हामी जुन थियौँ, आज त्यस्तै छैनौं। हामी समयसँगै फेरिँदै, रुचिसँगै घुम्दै, अवस्थासँगै बुझिँदै जान्छौं। हामी आफैँसँग स्थिर हुन सक्दैनौँ भने, अरू कसरी हाम्रो साथमा स्थिर रहून् र?

तथापि यसमा निराशा होइन, मुक्तिको चेतना लुकेको हुन्छ। ‘प्रिय बनिरहन नसकिने’ भावमा एक किसिमको स्वतन्त्रता छ। यसले हामीलाई देखाउँछ-कुनै सम्बन्धमा आफैँलाई हराएर बाँच्नुको सट्टा, आफैँलाई भेटेर बाँच्न सकिन्छ। जुन दिन हामी अरूको प्रिय बन्ने दौडबाट अलग हुन्छौं, त्यही दिन हामी आफूलाई आत्मीय बनाउन थाल्छौं।

अन्ततः, कोही कसैको प्रिय बनिरहन नसकिने यथार्थ स्वीकार्नु नै साँचो आत्मबोध हो। त्यसबेलामा हामीले प्रेम गर्न सिक्छौं-न अपेक्षासँग, न बन्धनसँग, केवल अस्तित्वसँग। त्यही प्रेम सबैभन्दा गहिरो, सबैभन्दा सच्चा हुन्छ।

आँखाहरूले संसारका हरेक कुना-कन्दराका दृश्यहरू चुम्न चाहन्छन् । बिहानको पहिलो किरणदेखि गोधूलि रङसम्म, हामीले नहेरेका र नदेखेका वस्तुहरूको सूची शायद अनन्त छ। तर, के देखेका सबै कुराले हाम्रो हृदयमा स्पर्श गर्न सक्छन्? के बाहिर देखिएका ती हजारौँ दृश्यहरूले हाम्रो भित्री संसारमा पनि सार्थक छाप छोड्न सफल हुन्छन्?

वास्तवमा आँखाले देखेका सबै कुरा मनका लागि ‘दृश्य’ मात्र हुन्, ‘अनुभूति’ होइनन् । हामी प्रायः बाहिरी चकाचौधमा अलमलिन्छौँ, धेरै देख्ने लोभ गर्छौँ तर देख्नुको अर्थलाई संकलनमा सीमित राख्छौं।

तर जीवनको वास्तविक सौन्दर्य धेरै देख्नुमा होइन, कति गहिरिएर हेर्न सकियो भन्ने कुरामा निहित हुन्छ। यदि दृश्यले हृदयलाई छुँदैन भने, ती आँखाको थकान र स्मृतिमा थुप्रिने धुलो मात्र हुन्।

मेरो दृष्टिमा जीवनको एउटा निकै ठूलो दर्शन यही हो-‘आँखालाई त्यति मात्र प्यारो लागोस्, जति देख्दा मनले खुसीको एउटा मीठो तरङ्ग महसुस गर्न सकोस्।’

यो भनाइ सीमित कुरा होइन, यो त छनोटको स्वतन्त्रता हो। जब हामी आफ्ना आँखाहरूलाई नियन्त्रित गर्छौँ, जब हामी अनावश्यक भीड र कोलाहलबाट आफ्ना दृष्टिलाई हटाएर ती कुरामा केन्द्रित गर्छौँ जसले हाम्रो मनलाई शान्ति दिन्छ, तब मात्र जीवनले एउटा ‘मौन धुन’ सिर्जना गर्न थाल्छ। यो धुनमा कुनै कोलाहल हुँदैन, केवल सन्तुष्टिको सङ्गीत गुञ्जिन्छ।

एउटा लेखक वा यात्राका अध्येताको रूपमा, मैले हिमालका काखदेखि तराईका फाँटसम्म धेरै कुरा देखेको छु। तर मलाई ती क्षणहरू मात्र याद छन्, जसले मेरा आँखाहरूलाई ओसिलो बनाइदिए वा मनमा आनन्दको एउटा सानो छाल ल्याइदिए।

ती दृश्यहरूले नै मलाई सिकाएका छन् कि संसारमा सुन्दरताको कमी छैन, तर त्यसलाई हृदयले ‘महसुस’ गर्न सक्ने दृष्टि भने हामीले आफैँ निर्माण गर्नुपर्छ।

आँखाको सार्थकता त्यहीँ छ, जहाँ दृष्टिले मनलाई र मनले हृदयलाई खुसीको त्यो मीठो तरङ्ग प्रदान गर्न सकोस्। जब हामी हेर्ने र महसुस गर्ने बीचको रेखालाई बुझ्छौँ, तब मात्र संसारका हरेक दृश्यहरू हाम्रा लागि एउटा कविता बन्न थाल्छन् । त्यसपछि, बाहिरको संसार जस्तो भए पनि, हाम्रो भित्री संसार सधैँ वसन्तझैँ हराभरा रहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *