राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना
काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाे उल्लेख गरेका छन्।
राष्ट्रपति पाैडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ।
ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ।
ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment