भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने राप्रपा नेपालको निर्णय
काठमाडौं। राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय सम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले आगामी दिनमा भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने तथा नागरिक आयोगको गठनलाई मुख्य माग बनाउने निर्णय गरेको हो।
त्यस्तै बैठकले राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक २०८१ साल जेठ ३१ र ३२ गते काठमाडौंमा गर्ने निर्णय गरेको महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिएका छन्।
बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक कार्यपत्रलाई परिमार्जन सहित केन्द्रिय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको उनले बताए।
बैठकले गरेको निर्णय बारे जानकरी दिँदै उनले भने, ‘भ्रष्टाचार अहिले देशमा महारोगको रुपमा फैलिएको छ । यो महारोगको निदान सामान्य उपचारबाट संभव देखिन्न । यसको निम्ति विद्यमान कानुनमा आमुल सुधारको साथै जनताप्रति उत्तरदायी रहने ‘उच्चस्तरीय भष्टाचार नियन्त्रण नागरिक आयोग’ खडा गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । आगामि दिनमा भ्रष्टाचार बिरुद्ध देशव्यापि अभियान संचालन गर्ने तथा नागरिक आयोगको गठन राप्रपा नेपालको मुख्य माग हुने बैठकले निर्णय गरेको छ ।’
त्यस्तै बैठकले राज्यको निकम्मापनको कारण कृषि क्षेत्र उपेक्षित हुन पुगेको प्रति चिन्ता व्यक्त गर्दै कुनै बेला खाद्यान्न निर्यात गर्ने देश नेपाल अहिले तरकारी, फलफुल, मासु र खाद्यान्नमा समेत बिदेशी आयातको मुख ताक्नुपर्ने अवस्थामा पुगेको र असीमित संभावना हुँदाहुँदै पनि नीति निर्माताहरुको प्राथमिकतामा नपरेको कारण कृषि क्षेत्रले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेको छ ।
राप्रपा नेपालले कृषि र भूमि व्यवस्थापनको ‘वैकल्पिक मोडेल’ तयार गरी जनसमक्ष लैजाने बैठकले निर्णय गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment