सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

डिसी नेपाल
१ कार्तिक २०८३ १५:५८

रामेछाप। सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।

दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्। उनीहरू दसैँ मनाउन घर जाँदै गरेका थिए।

दुर्घटनामा घाइते भएका चार जनामध्ये चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा बेहोस अवस्थामा रहेको र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सम्झनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुने अन्यमा सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा रहेका छन्।

दुर्घटनापछि बेपत्ता भएका तीन जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको सिन्धुली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुमो राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ प्रस्थान गरेको थियो। चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *