नवरात्रको आठौं दिन: उपत्यकासहित देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भारी घुइँचो

डिसी नेपाल
२ कार्तिक २०८३ १२:४१
4
Shares

काठमाडौं।  नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरहरूमा भक्तजनको अत्यधिक घुइँचो लागेको छ।

महाअष्टमीका अवसरमा आज यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखा चण्डेश्वरीलगायतका शक्तिपीठ तथा देवी मन्दिरहरूमा देवीको पूजार्चना गर्ने भक्तजनहरूको भीड लागेको हो। ती शक्तिपीठ तथा देवी मन्दिरहरूलाई आकर्षक ध्वजापताकाले सिँगारिएको छ।

स्थानीय समाचारदाताहरूका अनुसार दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा पनि बिहानैदेखि दर्शनार्थीहरूको ठूलाे भीड लागेको छ।

शारदीय नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठहरूमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यस विशेष अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष रूपमा पूजाआराधना गरिन्छ भने नौ दिनसम्म विशेष साधना गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *