रामबाबु गुरुङलाई ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो ?

डिसी नेपाल
१ कार्तिक २०८३ १६:२४

काठमाडौं। ब्लकबस्टर सिनेमा ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो। तर पात्रहरूको कथा त्यहाँ रोकिएन। २०७१ सालदेखि सुरु भएको काजीको प्रेमकथा चार शृंखलासम्म चल्यो, तर प्रेम पाएपछि जीवन कहाँ पुग्छ भन्ने कथा अझै बाँकी थियो।

त्यही बाँकी कथालाई अघि बढाउँदै ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ बनेको निर्देशक रामबाबु गुरुङ बताउँछन्। त्यसैले यसपटकको सिनेमाको नाम राखिएको छ, ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’।

निर्देशक गुरुङका अनुसार चौथो शृंखलामा काजीको नयाँ प्रेम जीवनको छोटो समयको रोमाञ्चकतालाई टुंग्याउने उद्देश्यले ‘द फाइनल म्याच’ को अवधारणासहित कथा तयार गरिएको थियो। चौथोलाई ‘द फाइनल म्याच’ नाम दिइनुको कारण पनि काजीको नयाँ प्रेम जीवनको एउटा अध्यायलाई टुंग्याउनु रहेको गुरुङले बताए।

तर सिनेमा प्रदर्शनपछि दर्शकको प्रतिक्रियाले पात्रहरूको कथा अझ अघि बढाउन हौसला मिलेको उनको भनाइ छ।

‘चौथो शृङ्खलामा हामीले काजीको नयाँ प्रेम जीवनको छोटो समयको रोमाञ्चकतालाई क्लोज गर्ने भनेर द फाइनल म्याच भन्ने तयारीका साथ कथा निर्माण गरेका थियौँ,’ निर्देशक गुरुङले भने, ‘चौथो शृङ्खला प्रदर्शनपछि त्यसलाई दर्शकले निकै रुचाइदिनुभयो। यसले निर्मातालाई व्यावसायिक रूपमा मात्र नभएर अन्य कुराहरूमा पनि प्रोत्साहन गर्ने रहेछ।’

उनका अनुसार पहिलोदेखि चौथो भागसम्मको यात्रामा पात्रहरूको कथा खोतल्दै जाँदा कथा आफैं विस्तार हुँदै गएको हो। काजीको प्रेम जीवनको एउटा अध्याय पूरा भए पनि त्यसपछि उसको जीवनमा के भयो भन्ने प्रश्न बाँकी नै थियो।

‘त्यहाँ (चार शृङ्खला) सम्म पुग्दा काजीको प्रेम जीवनको एउटा अध्याय त पूरा भयो नि, तर कथा त त्यहाँबाट उता पनि हुन्छ नि,’ उनले भने। यही क्रममा काजीको व्यावहारिक जीवनतर्फ कथा लैजाने विषयमा छलफल सुरु भएको उनले बताए। त्यसमा अभिनेता दयाहाङले पनि सिनेमा गर्ने इच्छा देखाएपछि आफूले पाँचौँ भागको लेखन सुरु गरेको गुरुङको भनाइ छ।

‘दर्शककै हौसलाले काजीको व्यावहारिक पाटो कोट्याउने सोच बन्यो। त्यही क्रममा पाँचौँ शृङ्खलाबारे छलफल भयो। दयासँग सल्लाह गरेँ। दयाले गर्ने भए गरौँ न त भनेपछि मैले लेखन कार्य सुरु गरिहालेँ,’ पाँचौँ शृङ्खला बनाउने तयारीबारे उनले सुनाए।

पाँचौँ भाग बनाउन आफूलाई कुनै बाध्यात्मक दबाब नरहेको पनि गुरुङले स्पष्ट पारे। दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहँदा त्यसले थप हौसला भने दिने गरेको उनले बताए। समय बित्दै जाँदा पात्रहरूमा आएको परिपक्वता, उनीहरूको अनुभव र अघिल्ला कथालाई अझ अगाडि लैजाने इच्छाले पाँचौँ भागको आधार तयार भएको उनको भनाइ छ।

पात्रसँगै हुर्किँदै गएको कथा

‘कबड्डी’ को पाँचौँ शृङ्खलासम्म आइपुग्दा पात्रहरूको आफ्नै संसार निर्माण भइसकेको गुरुङको अनुभव छ। पहिलो शृङ्खलादेखि दर्शकले पात्रलाई पछ्याउँदै आए भने पात्रहरू पनि दर्शकसँगै हुर्किरहेको उनी बताउँछन्।

‘एकदेखि पाँचसम्म आउँदा पात्रको एउटा छुट्टै संसार बनिसक्यो। एकदेखि अहिलेसम्म उही पात्रले दर्शक कमायो, दर्शक सँगसँगै पात्रहरू पनि हुर्किरहेको छ,’ उनले भने, ‘यिनीहरूको कथा के होला ? मनोविज्ञान कस्तो होला ? कतिपय कुरा हामीले नै भोगेको र अनुभव गरेको कुरा हाम्रै समाज वरिपरिको कथासँग जोडिँदै जाने हो।’

त्यसैले यसपटक विगतका शृंखलामा जस्तै जोक, पञ्चलाइन र घटनामा मात्र केन्द्रित नभई पात्रको उमेर, अनुभव र मनोदशालाई पनि प्राथमिकता दिइएको उनको भनाइ छ।

‘कबड्डी’ को शृंखला धेरै आक्रोशित, धेरै जोक र पञ्चलाइनका कुराले रुचाइएको हो जस्तो लाग्छ। अहिले त्यसमा मात्र फोकस छैन। पात्रहरूको मनोदशा, आफ्नो उमेर र अनुभवअनुसार ती कुराहरूलाई उनीहरूले कस्तो प्रतिक्रिया दिँदै गइरहेका छन् भन्ने कुरामा बढी ध्यान दिएर काम गरेका छौँ,’ उनले भने।

गुरुङका अनुसार अहिले पात्रहरू पहिलेको अवस्थामा छैनन्। उनीहरूको जीवनमा समय, उमेर र अनुभवले प्रभाव पारिसकेको छ। त्यसैले सिनेमामा एउटै पात्र भए पनि उसको प्रतिक्रिया र व्यवहार बदलिनु स्वाभाविक भएको उनको बुझाइ छ।

समयसँगै बदलिएको मुस्ताङ

‘कबड्डी’ शृंखलाको कथासँगै यसको परिवेश पनि समयसँगै बदलिएको गुरुङले बताए। मुस्ताङमा पहिलो भागमा देखिएका घर, गल्ली र बाटा अहिले धेरै परिवर्तन भइसकेका छन्।

‘हामीले सुरुमा छायांकन गरेका स्थानका पहिलेको घरहरू बजारीकरणमा परिवर्तन भइसकेको छ। पक्की घरहरू बनेका छन्। अहिले त मुस्ताङको पिलपिलेबाहेक घासादेखि माथितिर सबै रोड पक्की बनिसकेको छ,’ उनले भने।

पहिले खिचिएका घर र गल्ली अहिले उस्तै अवस्थामा नरहेको उने सुनाए। ढुंगाले छाएका बाटा र माटोका घरको ठाउँमा पक्की संरचना र ढलान भएका सडक आइसकेका छन्। छानामा दाउरा सुकाउने पुरानो चलनदेखि टिनका छाना र ग्यासको प्रयोगसम्म आइपुग्दा मुस्ताङको गाउँको स्वरूपसँगै त्यहाँको जीवनशैली पनि फेरिएको उनले सुनाए।

समयसँगै गाउँको संरचना र जीवनशैलीमा आएको यही परिवर्तनले सिनमाको दृश्यात्मक पक्षमा पनि प्रभाव पारेको गुरुङको भनाइ छ।

लेखक तथा निर्देशकका रूपमा पाँचौँ भागको स्क्रिप्टमा काम गर्दा तुलनात्मक रूपमा सहज भए पनि चुनौती भने रहेको उनले बताए। पहिलोदेखि पाँचौँसम्म एउटै पात्र र कथाको यात्रामा काम गरेकाले पात्रहरूको स्वभाव र कथा अघि बढ्ने दिशा स्पष्ट रहेको उनको भनाइ छ।

‘जुनसुकै स्क्रिप्टमा काम गर्न पनि उत्तिकै च्यालेन्ज हुन्छ। तर एकदेखि अहिलेसम्म एउटै स्क्रिप्टमा काम गरिरहेजस्तो अनुभव हुन्छ। किनभने पात्रहरू अलरेडी डेभलप्ड भइसकेका हुन्छन्। उनीहरूको लाइन सबै क्लियर हुन्छ,’ उनले थपे, ‘चौथो भागपछि पाँचौँमा आउँदा दर्शकको अपेक्षा बढ्ने भएकाले त्यसलाई सम्बोधन गर्ने दबाब पनि महसुस हुन्छ।’

काजीको कथा प्रेमबाट अघि बढेर व्यावहारिक जीवनतर्फ पुगे पनि सिनेमाले विगतका पात्र र उनीहरूबीचको सम्बन्धलाई भने छोडेको छैन। पहिलो र दोस्रो भागमा मैयाँसँग काजीको सम्बन्धले दिएको नोस्टाल्जिया यसपटक पनि दर्शकले अनुभूत गर्न पाउने गुरुङले बताए।

पाँचौँ भागसम्म आइपुग्दा निर्देशक गुरुङलाई ‘कबड्डी’का पात्रहरू पर्दाका काल्पनिक चरित्रभन्दा आफूहरूले देखे–भोगेकै समाज र जीवनका पात्रजस्ता लाग्न थालेका छन्। उनीहरूको कथा र मनोविज्ञान पनि आफ्नै समाज र अनुभवबाट विस्तार हुँदै गएको उनी बताउँछन्।

बिकेको एआई कनेक्सनदेखि बमकाजीको रहस्यसम्म

यसपटक सिनेमामा बिके पात्रलाई एआईसँग जोडिएको छ। जुन सिनेमाको टिजरमा पनि थोरै समेटिएको छ। तर कथा लेख्दा एआईको विकासलाई केन्द्रमा राखेर यस्तो योजना नबनाइएको गुरुङ बताउँछन्।

उनका अनुसार बिके सुरुदेखि नै केही छट्टु, बाठो र जानी÷नजानी प्रविधिमैत्री स्वभावको पात्र हो। त्यही पात्रलाई विकास गर्दै जाँदा एआईसँगको सम्बन्ध कथामा स्वाभाविक रूपमा आएको उनको भनाइ छ।

‘सुरुमा कथा लेख्दा एआईको विकास हुन्छ भन्ने कल्पना थिएन। बिके पात्र पहिलेदेखि अलि छट्टु, बाठो, जानी नजानी प्रविधिमैत्री बन्ने किसिमको छ। त्यही पात्रलाई विकास गर्ने क्रममा नै त्यस्तो आएको हो,’ उनले भने।

बिके, छन्त्याल र काजीको विवाहसँग जोडिएका व्यक्तिगत प्रसंगले पनि कथामा नयाँ तह थपेको उनले बताए।

यसपटक बमकाजीको भूमिकामा विपीन कार्की देखिँदैछन्। उनी सिनेमाका कुन पात्रको जीवनसँग जोडिएर आएका हुन् भन्ने विषयमा भने गुरुङले खुलाउन चाहेनन्।

‘कबड्डी’ मा अहिलेसम्म हुँदै आएको कबड्डीको खेल अब सबै पात्र समेटिने ‘महायुद्ध’तर्फ जान सक्ने सम्भावनासमेत उनले संकेत गरेका छन्। साथै काजीको जीवनमा जोडिएका चार सोल्टिनीको प्रसंगसमेत उनले उल्लेख गरे। तर कथाको धेरै कुरा भने खुलाउन चाहेनन्। ‘थाक खोला’ बोलको गीतमा भने तीन जना सोल्टिनी देखिएका छन्।

पाँचौँ भागमा दर्शकले पहिलो र दोस्रो भागमा काजी र मैयाँबीच रहेको सम्बन्धको नोस्टाल्जिया पनि महसुस गर्न पाउने गुरुङले बताए। उनका अनुसार काजीले प्रेम जीवनसँगै व्यावहारिक जीवन र समाजसँगको सम्बन्धमा धेरै कुरा ‘स्याक्रिफाइस’ गरेको छ।

विगतका शृंखलामा जस्तै यसपटक पनि पात्रहरूको बोल्ने शैलीमा ठूलो परिवर्तन नगरिएको उनले बताए। तर पात्रको अवस्था फेरिएकाले संवाद र परिस्थितिमा फरकपन आउने उनको भनाइ छ। कथा र पात्रअनुसार मनोरञ्जनका पर्याप्त ठाउँ रहेको उनले बताए।

‘कबड्डी ५’ को व्यावसायिक अपेक्षा

विगतको शृङ्खलाले सर्वाधिक कमाउनेको रेकर्ड बनाए पनि व्यावसायिक रूपमा ‘कबड्डी ५’ ले नयाँ रेकर्ड कायम गर्नैपर्छ भन्ने अपेक्षा नरहेको गुरुङले बताए। तर प्रदर्शन नजिकिँदै गर्दा एक किसिमको डर भने हुने उनको अनुभव छ। दशैंमा अन्य सिक्वेल सिनेमा पनि प्रदर्शनमा आउने भएकाले त्यसको प्रभाव पर्न सक्ने भए पनि ‘कबड्डी’को आफ्नै दर्शकले साथ दिने विश्वास व्यक्त गरे।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज सिनेमाका कार्यकारी निर्माता हुन्।

सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन्। सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन्।

नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ। कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको सिनेमाका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *