दशैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर

डिसी नेपाल
२९ असोज २०८३ १७:४२
4
Shares

काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै देशभर नयाँ उत्साह र उमंग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दशैं नेपाली समाजको मौलिक पहिचानसँग प्रत्यक्ष जोडिएको प्रमुख चाड हो।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म उत्साहका साथ मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सर्वकालिक सन्देश दिन्छ।

दशैं केवल धार्मिक आस्थाको पर्व मात्र नभएर पारिवारिक पुनर्मिलनको एउटा विशेष अवसर पनि हो। रोजगारी, अध्ययन तथा विविध कारणले घरपरिवारबाट टाढा रहेका सदस्यहरू यसै अवसर पारेर घर फर्किने गर्छन्।

परिवारका सदस्य, आफन्त र साथीभाइबीच भेटघाट हुने भएकाले यस पर्वले आपसी सद्भाव, प्रेम र एकताको भावनालाई थप बलियो बनाउँछ। मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गर्ने परम्परा नेपाली समाजमा विशेष महत्वका साथ कायम रहँदै आएको छ।

उज्यालो, खुसी र उमंगको पर्वका रूपमा हेरिने दशैं अभिनेता राजेश हमालका लागि भने केही खल्लो हुने गर्छ। टीकाकै दिन आमा गुमाएका अभिनेता हमाल दशैंलाई भव्य रूपमा मनाउँदैनन्।

“दशैंको दिन मैले मुमा (आमा) गुमाएपछि मेरा लागि यो पर्वको उल्लास कम नै भएको छ। टीकाकै दिन श्राद्ध पर्ने भएकाले सामान्य रूपमा दशैं मनाउने गर्छु। यो वर्ष प्राकृतिक विपद्का कारण धेरै नेपालीहरूको दशैं खल्लो भएको सुनेको छु, तर संस्कृति संरक्षणका रूपमा यसलाई मनाउनु पनि पर्छ। किनकी यो पर्व हाम्रो संस्कृतिसँग जोडिएको छ,” अभिनेता हमालले भने।

उनले दशैंलाई तडकभडक र भड्किलो रूपमा नभई आफ्नो क्षमता अनुसार सादगीपूर्ण तरिकाले मनाउन सबैलाई आग्रहसमेत गरे।

अर्का अभिनेता विजय बराल भने यसपटक दशैं मनाउन आफ्नो गृह जिल्ला सर्लाही जाँदैछन्। विविध कारणले विगत केही वर्ष उनी दशैंमा घर जान पाएका थिएनन्। आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कबड्डी ५’ को प्रवर्द्धनको चटारो भए तापनि समय मिलाएर उनी घर पुग्दैछन्।

“यस वर्षको दशैं सर्लाहीमै मनाउने तयारीका साथ म घर पुग्दैछु। यता फिल्म प्रमोसनका काम सकाएर घर पुगेर दशैं मनाउनेछु। यद्यपि, फिल्म प्रदर्शन कात्तिक ६ मा हुने भएकाले टीका लगाएपछि काठमाडौं नै आइपुग्नेछु। विगतका केही वर्ष विविध कारणले घर पुग्न सकेको थिएन, यसपटक गाउँघरमा दशैं मनाउने योजनाले नै खुसी मिलिरहेको छ,” अभिनेता बरालले खुसी व्यक्त गरे।

उनलाई दशैं भन्नेबित्तिकै बाल्यकालको नयाँ कपडा र मीठा-मीठा परिकारहरू सम्झना आउँछन्। विशेष गरी परिवारका सबै सदस्य भेला हुने भएकाले पनि दशैं उनका लागि खास लाग्छ। “बाल्यकालमा दशैं भन्नासाथ सबै भेला हुने कुराले खुसी मिल्थ्यो। परिवारसँगै साथीभाइ सबै भेला हुने गर्थ्यौँ, अनि दक्षिणा पनि पाइन्थ्यो। अहिले जिम्मेवारी बढेपछि ती समयहरू निकै प्यारा हुने रहेछन्,” उनले भने।

अभिनेता बरालझैँ अभिनेत्री तथा गायिका कविता आलेलाई पनि दशैं भनेको खुसी र उमङ्ग साट्ने पर्व जस्तो लाग्छ। अहिलेको दशैंभन्दा उनलाई बाल्यकालकै दशैं बढी प्यारा लाग्छ। “अहिले त भेटघाट हुने भन्ने लाग्छ, तर बाल्यकालमा भने धेरै रमाइलो लाग्थ्यो। भेटघाट, मीठा खानेकुरा, नयाँ कपडाले साच्चै दसैँलाई सबैको प्रिय बनाएको जस्तो लाग्छ। अहिले भने भेटघाट गर्ने र मीठोमसिनो खाने जस्तो लाग्छ,” उनले भनिन्।

अभिनेता बुद्धि तामाङ पनि दशैंलाई आफन्त र प्रियजनहरूसँगको भेटघाटकै कारण खास मान्छन्। “यसपटकको दशैंमा दर्शक भेटघाट हुन्छ, विभिन्न हलमा घुमिन्छ, यस्तै हुन्छ जस्तो लागेको छ। दशैं भन्नासाथ टीका, खानेकुरा र नयाँ कपडा नै सम्झना आउने रहेछ,” उनले भने।

अभिनेता तामाङ अभिनित फिल्म ‘कबड्डी ५’ प्रदर्शन हुने भएकाले उनले फिल्मका अन्य टोली सदस्यहरूसँगै दर्शकसँग साक्षात्कार गर्ने योजना बनाएका छन्।

अभिनेता तामाङ जस्तै अभिनेत्री विपना थापा पनि दर्शकसँगै दसैँ मनाउने तयारीमा छिन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘आ बाट आमा २’ आगामी असोज ३० देखि प्रदर्शन हुँदैछ। त्यसैले उनी यसपटक परिवारसँग कम र दर्शकसँग बढी दसैँ मनाउने सोचमा छिन्।

“फिल्म प्रदर्शनको कारण दशैंमा पनि हलमा नै घुमघाम गर्ने योजना बनिरहेको छ। आफ्ना मान्यजनबाट टीका थापेपछि हलमै दर्शकलाई भेट्ने छौँ। दसैँ भनेको उज्यालो, सद्भाव र हर्षको पर्व हो। विभिन्न कामले व्यस्त भएका सदस्यहरू भेटघाट गर्ने भएकाले यो पर्व मलाई खास लाग्छ,” उनले भनिन्।

विवाहपश्चात् प्रायः भारतमा बस्दै आएकी अभिनेत्री थापा यसपटकको दसैँ भने नेपालमै मनाउँदै छिन्।

निर्देशक मिलन चाम्स भने यसपटक दशैं मनाउन नेपाल बाहिर (विदेश) जाने भएका छन्। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित रहेर तयार भइरहेको फिल्म ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकाएका निर्देशक चाम्सले आफ्नो परिवारलाई समय दिँदै घुमघाम गर्ने योजना बनाएका छन्।

“दसैँमा परिवार लिएर नेपाल बाहिर घुमघाम गर्नेछु। फिल्मको कामले प्रायः परिवारलाई समय दिन सकिरहेका हुँदैनौँ, त्यसैले समय मिलेको बेला परिवार लिएर घुम्ने गर्छु। हामीले फिल्मको पहिलो चरणको छायांकन सकाएका छौँ, दोस्रो चरण दसैँ पछाडि छायांकन हुनेछ, त्यसैले समयलाई सदुपयोग गरेको हुँ,” निर्देशक चाम्सले भने।

अभिनेता दीपकराज गिरी यसपटक दशैं आफन्तसँग कम र दर्शकसँग बढी मनाउने तयारीमा छन्। असोज ३१ देखि उनको नयाँ फिल्म ‘छ माया छपक्कै’ प्रदर्शन हुने भएकाले आफ्ना मान्यजनबाट टीका थापेपछि अभिनेता गिरी हलमै भेटिनेछन्।

“फिल्म प्रदर्शनको समय भएकाले बिहानदेखि मध्यरातसम्म हलमै भेटिन्छु, टीका लगाएपछि बाँकी समय दर्शकसँगै दसैँ मनाउने तयारी छ। अघिल्लो वर्ष फिल्म आएको थिएन, त्यसैले परिवारसँग बढी समय बिताइयो। यो वर्ष फिल्म आउने भएकाले हाम्रो दोस्रो परिवार दर्शकसँग बढी समय बिताउनेछु,” उनले भने।

अभिनेता गिरीलाई पनि परिवारका सदस्य र साथीभाइसँग भेटघाट हुने भएकाले दसैँ विशेष लाग्छ।

त्यस्तै, अभिनेता दयाहाङ राई पनि दसैँको टीकापछि दर्शकसँग नै भेटघाट गर्दै दसैँ मनाउने योजनामा छन्। हाल फिल्म छायाङ्कनका लागि काठमाडौँ उपत्यका बाहिर रहेका अभिनेता राई कात्तिक ६ देखि प्रदर्शन हुने फिल्म ‘कबड्डी ५’ रिलिजसँगै उपत्यकाका विभिन्न सिनेमा हलहरूमा दर्शकसँगै दसैँ मनाउने तयारीमा जुटेका छन्।

भेषराज कार्की / नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *