फिल्म निर्माण गर्ने सोचसहित नेपाल फर्की अभिनेत्री विपना थापा: ‘आ बाट आमा २’ देखि पुराना स्मरणसम्म
काठमाडौं। पछिल्लो दुई वर्षयता अभिनेत्री विपना थापाको अभिनयमा सक्रियता बढेको छ। ‘वरमाला’ मा अभिनय गरेपछि आफ्ना श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरेकी थिइन्। करिब एक सयभन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रूपमा परिचित थिइन्।
यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तन र बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले आफूलाई केही समय परिवारमै व्यस्त बनाइन्। लगभग उनी विसं २०८० सालताका नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्न नेपाल आएकी थिइन्। त्यसयता उनी नेपाली फिल्ममा पुनः सक्रिय छिन्।
‘मैले परिवारलाई दिनुपर्ने समय दिएँ, त्यसपछि मेरो अर्को परिवार फिल्मकर्मीलाई अब म काम गर्न तयार छु भनेर जानकारी दिएँ। त्यसपछि आएका फिल्मको प्रस्तावलाई स्वीकार गर्दै काम गरिरहेकी छु’, उनले भनिन्।
यसपटकको दशैँ विशेष
चाडपर्वको मध्यसिजनमा नेपालमा भेटिएकी उनको यसपटकको दशैँ विशेष रहेको छ। किनकि उनले अभिनय गरेको फिल्म ‘आ बाट आमा २’ हलमा गत असोज ३० देखि प्रदर्शनरत छ। उनी दर्शकसँग प्रतिक्रिया लिन दौडधुप गरिरहेकी छिन्। यसपटक उनले आफ्नो दशैँ परिवार, फिल्मी परिवारसँगै दर्शकसँग मनाइरहेकी छिन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफ्ना सुरुआती दिनका सम्झनाहरू साटेकी छिन्।
काठमाडौँको स्यूचाटारमा जन्मिएकी अभिनेत्री थापाका परिवारका सबै सदस्य राजनीतिमा सक्रिय थिए। वडा तहदेखि सांसदसम्म उनको परिवारका सदस्य राजनीतिमा सक्रिय रहँदा पनि अभिनेत्री थापालाई त्यता सक्रिय हुने रहर जागेन। उनले आफूलाई कलामै व्यस्त बनाउनुका साथै आफ्नो रूचि बढाइन्। हुन् त उनका बुवाले ‘छोरीलाई पनि मनिषा कोइरालाजस्तै नायिका बनाउँछु’ भन्ने गर्दथे।
चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिइन्। सोही कारण अभिनेत्री थापाको लगाव कलातर्फ बढिरहेको थियो। ‘कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु’ भन्ने अठोटका साथ अघि बढिरहेकी थापा सानै उमेरदेखि नाच्नमा पारङ्गत थिइन्।
उनले आफ्नो करिअरको सुरुआत ‘आमा’ नामक टेलीfilmमार्फत गरेकी थिइन्। त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएका थिए। ‘आमा’ भन्ने टेलिफिल्ममा बालकलाकारको रूपमा छोरीको भूमिकामा पहिलोपटक अभिनय गर्दै उनको अभिनय यात्राको सुरुआत भयो। त्यो टेलिफिल्म प्रसारण नभएता पनि उनको अभिनयको लामो यात्रा अगाडि बढ्यो।
किनकि अभिनेत्री थापालाई त्यही दौरान निर्देशक मोहन निरौलाले देखेका थिए। त्यसपछि थापालाई फिल्ममा अभिनय गर्ने प्रस्ताव राखियो। ‘मलाई मोहन सरले फिल्ममा अभिनय गर्छौ भनेर सोध्नुभयो। मैले मेरो घरमा आएर सोध्नुस् भनेर जवाफ दिएँ। उहाँहरू मेरो घरमा आएपछि कुराकानी भयो र पहिलो फिल्म ‘जन्मभूमि’ मा काम गर्ने तय भयो’, उनले भनिन्।
अभिनेत्रीका रूपमा देखिने भएपछि उनले आफ्ना बुवालाई स्मरण गरिन्। किनकि आफ्नो छोरीलाई पर्दाको हिरोइन बनाउँछु भन्ने बुवाले त्यतिबेलासम्म संसार छाडिसकेका थिए। उनले पहिलो फिल्मका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि ‘ह्वाइट र्याबिट’ चकलेट पाइन्।
‘वरमाला’ को पारिश्रमिक र दशैँ गीतको चर्चा
यसरी उनको अभिनय यात्राको सुरुआत भयो। विवाहपछि फिल्म छाड्ने बेलामा उनले अभिनय गरेको फिल्म ‘वरमाला’ का लागि अधिकतम पाँच लाख रुपैयाँ बुझिन्। यो रकम लिँदा नेपाली रजतपट वृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउँछिन्।
डेब्यू फिल्मपछि नै दर्शक र फिल्मकर्मीको रोजाइमा परेकी थापाका टाढाका नातेदार अभिनेता सुशील क्षेत्री हुन्। नाताले उनीहरू दाजुबहिनी हुन्। ‘आगो फिल्ममा काम गर्दा सहज हुन्छ भनेर सुरुआती एक हप्ताजस्तो मेरो र सुशील दाइको दृश्यहरू नै छायांकन गरिएको थियो। उहाँ मसँग काम गर्दा सहज हुनुहुन्थ्यो’, उनले भनिन्।
अभिनेता र अभिनेत्रीकै रूपमा उनीहरूले धेरै फिल्ममा काम गरेका छन्। तीमध्ये एक हो ‘मुग्लान’, जसको गीत ‘दशैँ आयो’ हरेक दशैँमा बज्ने गर्छ र अहिले पनि उत्तिकै लोकप्रिय छ।
‘त्यो गीत त्यतिबेला कोदो फुल्ने समयमा नै छायांकन गरिएको थियो। दशैँकै माहोल थियो, सबैले नयाँ कपडा र दशैँको टीका लगाएर छायांकन गरेका थियौँ। फिल्मी परिवारसँग दशैँ मनाएको अनुभव भएको थियो। हामीलाई गीतले दर्शकको मन जित्छ भन्ने विश्वास थियो’, उनले भनिन्।
हरेक दशैँमा आफ्ना दुई गीत धेरै गुन्जिने गरेको उनी बताउँछिन्। ‘दशैँ आयो’ सँगै उनको प्रदर्शनरत फिल्म ‘आ बाट आमा २’ मा समावेश गरिएको ‘रातो टीका लगाउँदा क्या दामी देखियो’ गीतले पनि दर्शकको उत्तिकै मन जित्नेमा उनी विश्वस्त छिन्।
‘आउँदो दशैँदेखि मेरा दुई गीत बज्छन्, यसमा म ढुक्क छु। किनकि ‘मुग्लान’ को झैँ यसपटक छायांकन गर्दा मैले दशैँको माहोल फिल गरेकी थिएँ। निर्देशकलगायत अन्य सबै कलाकारलाई पनि मेरा दुई गीत अबदेखि दशैँमा गुञ्जिनेछन् भनेकी थिएँ’, उनले भनिन्।
फिल्म बनाउने सोच र पछिल्लो सक्रियता
आफ्नो चलिरहेको फिल्मी करिअरमा विश्राम लिनुको कारण उनले पारिवारिक दायित्व बताएकी छिन्। विवाह गरेपछि एउटी बुहारीले निर्वाह गर्नुपर्ने कर्तव्यले उनलाई केही समय विश्राम लिन प्रेरित गरेको उनको भनाइ छ।
‘मैले बुहारीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्ने थियो, किनकि श्रीमान्, सासु र बच्चाको हेरचाह गर्नुपर्ने दायित्व थियो। एक किसिमको जिम्मेवारी पूरा गरेकाले पुनः फिल्ममा सक्रिय छु’, उनले भनिन्।
त्यसो त अभिनेत्री थापाले अझै पनि आगामी कार्ययोजना पूर्ण रूपमा बनाएकी छैनन्। उनी आफ्नो छोराले १२ कक्षाको परीक्षा दिन लागेकाले पनि त्यसपछि आगामी कार्ययोजना बनाउने बताउँछिन्।
‘अहिले छोराको अध्ययन चलिरहेको छ, पाँच/छ महिनामा परीक्षा हुन्छ। त्यसपछि म के गर्ने भन्ने योजना बनाउने छु, अहिले अभिनय गरिरहेकी छु, त्यही हो’, उनले भनिन्। त्यस्तो त उनी केवल अभिनय गर्ने योजना बनाएर मात्र कमब्याक गरेकी होइनन्, उनी फिल्म मेकिङमै आउन चाहन्छिन्।
‘म फिल्म बनाउने सोचले नै फर्किएकी हुँ, तर अहिले नै बनाउने छु भन्ने होइन। तर, भविष्यमा अवश्य फिल्म बनाउने छु’, उनले भनिन्।
आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म काम गरेकी छिन्। वर्षौँको विश्रामपछि ‘सुटिङसेट’ मा बिताउने पलले उनलाई आनन्द दिइरहेको छ। त्यसकारण पनि अभिनेत्री थापा आफ्नो कलाकारितालाई पुनः इन्टरटेन् (आनन्द लिँदै) गरिरहेकी छिन्।
No ads found for this position




Facebook Comment