ट्यांकर चालकसँग सहमति, पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

डिसी नेपाल
३ असार २०८१ १६:०६
96
Shares

काठमाडौं। आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो।

चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए। दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो।

सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो।

चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *