देशैभर फैलियो मनसुन, यी प्रदेशमा बिहानैदेखि वर्षा

डिसी नेपाल
११ असार २०८१ ७:००
144
Shares

काठमाडौं। यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो। नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो।

साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ।

मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रुपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ। मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरु देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *