एसइई उत्तीर्ण गर्ने राससमा कार्यरत पत्रकार तथा कर्मचारीका छोराछोरीलाई सम्मान

डिसी नेपाल
१६ असार २०८१ २०:०५
76
Shares

काठमाडौ। माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार तथा कर्मचारीका छोराछोरीलाई सम्मान गरिएको छ।

नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायतले उहाँहरुलाई सम्मान गरेका हुन्।

सम्मानित हुनेमा अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख दिलीप अधिकारीका छोरी शाम्भवी अधिकारी, उपप्रमुख समाचारदाता नारायण न्यौपानेका छोरा अध्ययन न्यौपाने, सहसम्पादक पवित्रा गुरागाईंकी छोरी निम्ता भट्टराई, उपव्यवस्थापक शशी अधिकारीका छोरा पर्ल अधिकारी र उपसमाचारदाता राजु विश्वकर्माका छोरी गरिमाकुमारी विकलाई सम्मान गरिएको हो।

त्यसअवसरमा कार्यकारी अध्यक्ष झाले विद्यार्थीले ल्याउने जिपिए वा अंक नै सफलतामापनको सम्पूर्ण आधार नभएको भन्दै आगामी दिनमा थप लगनका साथ अध्ययन गर्न सम्मानित ती विद्यार्थीलाई सुझाव दिए।

उनले भने,“ विद्यार्थीको सिकाइ र बुझाइले आगामी यात्रा सहज बनाउन महत्वपूर्ण भूमिका खेल्छ । सम्मानित विद्यार्थीबाट व्यक्त विचारले पढाइ, सिकाइ र बुझाइसमेतमा परिपक्व हुनुहुन्छ भन्ने महसुस भयो, सायद पत्रकारका परिवारमा हुर्केकाले पनि पत्रकारिताको प्रभाव परेको होला ।”

एसइईमा प्राप्त अंकबाट धेरै उत्साहित र निराश नहुन आग्रह गर्दै कार्यकारी अध्यक्ष झाले आफ्नो क्षमता र रुचिको पहिचान गरी उच्च शिक्षा अध्ययन गर्न तथा त्यसमा सहजीकरणका लागि अभिभावले पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

राससका महाप्रबन्धक सिद्धराज राईले विद्यार्थीलाई उनीहरुको चाहनाअनुसार नै अभिभावकले उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाइदिनुपर्ने बताए। उहाँले तनाव र जिम्मेवारीको बोझका बाबजुत पनि आफ्ना सन्तानलाई उचित शैक्षिक वातावरण प्रदान गरेकामा अभिभावको प्रशंसा गरे।

कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले अहिलेका विद्यार्थीको सूचना र प्रविधिमा अत्यधिक पहुँच भएकाले त्यसलाई सही उपयोग गर्न आग्रह गरे।

कार्यक्रममा महासंघ रासस प्रतिष्ठान शाखाका अध्यक्ष गुरागाईं, कार्यसमिति सदस्य कृष्णप्रसाद सापकोटा, सम्मानित विद्यार्थीलगायतले पत्रकारिता जगत् र नेपालको शिक्षा प्रणालीका विषयमा मन्तव्य राखेका थिए। विद्यार्थीलाई सम्मानसँगै दहीचिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *