नयाँ सरकार बनेसँगै लगानीको वातावरण सिर्जना भएको छः ऊर्जामन्त्री खड्का

डिसी नेपाल
२१ भदौ २०८१ १५:०५
112
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सिर्जना भएको बताएका छन्।

मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै उनले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका हुन्।

“दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ, नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन्, यो सरकारले मुलुकमा लगानीको वातावरण सृजना गर्छ”, उनले भने। वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उनको भनाइ थियो।

ऊर्जामन्त्री खड्काले वर्तमान सरकार, स्थायी सरकार भएकाले ढुक्क भएर लगानी गर्नसमेत आग्रह गरे। धेरै कम्पनीलाई एकै ठाउँमा राखेर मेला सञ्चालन भएकाले यस्ता मेलाले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउने मन्त्री खड्काले बताए।

उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। मुलुकले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनले उल्लेख गरे। प्रदर्शनीले विद्युत्को आन्तरिक खपत बढाउने र घरायसी कामका लागि समय बचत हुने उनको भनाइ थियो।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासका बाधक रहेका नीति नियमको परिमार्जन र संशोधन सरकारले गरिरहेको बताए। तीन दिनसम्म चल्ने मेलामा स्वदेश र विदेशका ९० भन्दा बढी स्टल रहेको मिडिया स्पेसका सञ्चालक श्रीजल भट्टराईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *