लघुकथा : अभिमान/स्वाभिमान

खेमराज पोखरेल
२० वैशाख २०८२ ७:३६
932
Shares

रत्नपार्कबाट बुढानीलकण्ठ जाने माइक्रोबस गुडिरहेको थियो। महिला सिटमा सहर नचिनेका जस्ता देखिने अधबैँसे काटिसकेका र बुढ्यौलीले समातेका गाउँले आर्यन अनुहारका च्याँसे मुखाकृतिका एक जोडी बसेका थिए।

सायद तिनीहरूलाई महिला सिट र अन्य सिटको हेक्का पनि थिएन होला। माइक्रोबसमा दुई चार जना उभिएका पनि थिए। लैनचौरमा आधुनिक पहिरनमा, शिक्षित र सबैको नजर तान्न सफल बिसेबाइसे देखिने एउटी महिला माइक्रोभित्र प्रवेश गरिन्। महिला सिटमा एउटा अधबैँसे पुरुष बसेको देखेर कडकिन थालिन्ः

‘यो सिट महिलाको हो, उठनुस् बाजे’

बाजे ट्वाँ परेर हेर्न थाले। उनले सायद ‘महिला’ लेखेको पढे वा पढेनन्, पढ्न जान्दथे वा जान्दैनथे थाहा भएन।

‘मेरी बुढी बिरामी छ हजुर, पानी खुवाइरहनु पर्दछ’
‘त्यो म जान्दिनँ, महिला सिट हो, तपाईँ उठनुस्’

बुढा बा उठ्ने तरखर गर्न थाले। माइक्रोका यात्रीहरू ती महिलालाई सम्झाउन थाले :

‘भैगो नि नानी, एकैछिन् त हो नि, बुढी आमै बिरामी रहिछन्’

‘भो म सिट छोडदिनँ, यो महिला सिट हो, दया लागे तपाईँले छोडदिनु नि, यो महिलाले कत्रो संघर्ष गरेर पाएको अधिकार हो’

माइक्रोबस आफ्नै तालमा आफ्नै गतिमा अघि बढिरहेको थियो। नारायण गोपाल चोक पुगेपछि माइक्रोबसका केही सिटहरू खाली भए। एउटा महिला सिट पनि खाली थियो। एउटी महिला माइक्रोबसभित्र प्रवेश गरी साधारण सिटमा बसिन्। महिला साधारण पहिरनमा ओजस्वी र वजनदार देखिन्थिन्। खलाँसी ती महिलालाई महिला सिटमा बस्न आदेश दिँदै थियो :

‘ए दिदी महिला सिटमा बस्नुस्’

‘ किन र भाइ ? मलाई यहीँ ठिक छ’

‘महिला सिट खाली छ, त्यसैमा बस्नुस्’

महिलाले मृदु भाषामा फेरि भनिन् ‘भाइ म यहीँ बस्छु, मलाई यहीँ सजिलो छ।’

महिला सिट खाली भएको र साधारण सिटमा महिला बसेको हुनाले खलाँसी झनै झोँक्कियो ‘होइन दिदी तपाईंले महिला सिटमा बस्नै पर्छ, यो त महिलाले संघर्ष गरेर ल्याएको अधिकार हो।’

महिलाले मिठासपूर्ण भाषामा जवाफ दिइन् ‘होइन बाबु, यो अधिकार होइन, यो त महिला कमजोर, असहाय र निरीह हो भन्ने कुराको प्रमाण हो, म कमजोर, असहाय र निरीह छैन, त्यसकारण म त्यो महिला भनिएको सिटमा बस्दिनँ।’

‘कस्ता कस्ता यात्रु हुन्छन्’ खलाँसी बडबडाउन थाल्यो।

यात्रीहरूले भने चुपचाप महिलाका कुरा सुनिरहे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *