धरान र विराटनगर भ्रमण-भाग २ : विराटनगर
भोलिपल्ट बिहान उठेर विराटनगरको भित्री भागतिर प्रातः भ्रमणमा निस्केँ। पहिलेको दाँजोमा शहर केही सफा देखिन थालेको छ। ढल तथा सडक पेटी पनि बन्दै गरेको छ। छाडा पशु तथा चौपायालाई सडकमा छोड्ने प्रथामा पनि निकै कमी आएको छ।
पुरानो महेन्द्रचोकदेखि ट्राफिकचोकसम्म सडकमा टायल छापेर यातायातको आवगमन बन्द गर्दै मानिसहरू हिँड्ने र पार्कमा झैं बस्ने सफा ठाउँ बनाउने परिकल्पनाले सार्थकता नपाएको देखिन्छ।
मान्छेले चलाउने रिक्सा करिब करिव विस्थापित भए पनि भित्री शहरमा सार्वजनिक यातायातको रूपमा विद्युतीय रिक्साहरूको कारण निकै सुविधा पुगेको छ। त्यसै पनि हिजोआज सबै घरमा एकाध मोटरसाइकल र स्कुटर पनि भइहाल्छन्।
नेपालभरमा मोटरसाइकलको संख्या २५ लाख पुगिसक्यो भन्ने आंकडा छ। त्यस्तै अन्य चार पाङ्ग्रे सवारी साधन १५ लाखको हाराहारीमा छ अरे। यस्तो सानो मुलुकमा यत्तिका धेरै सवारी साधन हुनु राम्रो हो वा होइन, अध्ययनको नै विषय छ।
हाल केही वर्षदेखि नेपालमा विद्युतीय सवारी साधनको आयातमा ठूलै वृद्धि भएको छ। तर केही हप्ता अघि कुलमान भन्ने विद्युत प्राधिकरणको असलमा गनिएको हाकिमलाई पुर्वाग्रहको आधारमा उर्जा मन्त्रीले हटाए लगत्तै लोडसेडिङ गरेर बिजुलीको महसुल नतिर्ने उद्यमीहरूलाई पोस्ने र आमजनतालाई सोस्ने नीति लागु भएपछि विद्युतीय सवारी साधनलाई पनि चार्ज गर्न बिजुली नपुग्ने हो कि भन्ने चिन्ता बढेको कुरा थाहा हुन आएको छ।
यसरी नजानिँदो तवरले विद्युतीय सवारी साधनलाई पनि हतोत्साही गर्ने कुटिल नीति अपनाउँदा र विद्युतको सही उपयोगलाई व्यवस्थित गर्ने बाटाको अवलम्बन नगर्दा के हामी विद्युत उत्पादन गरेर साँच्चै नै धनी मुलुक हुन्छौँ त ? भन्ने कुरामा पनि शंका उत्पन्न हुन थालेको छ। फेरि यो भ्रमणभर नकारात्मक भाइव मनमा नराख्ने सोच सहित यो कुरालाई अन्तै मोडेर त्यहाँको तरकारी बजारतिर लागेँ।
बिहानैदेखि तरकारी बजार (मण्डी)मा भिड। स्थानीय तथा नजिकको तराई र पहाड र भारतदेखि आएका तरकारी, माछा र फलफुल। होटेलमा लगेर खान केही दाना पहाडिया सुन्तला र केरा किनेँ। महानगरको रूप धारण गरिसकेको भए पनि अझैसम्म पनि विराटनगरका विभिन्न ठाउँमा हप्ता हप्तामा लाग्ने हटियाहरू लागिरहन्छन्।
सरकारले कृषि बजारको सही निर्माण र व्यवस्थापन गर्न नसकेकोले यसरी परम्परागत हटियाहरू मार्फत किसानले आफ्नो कृषि उपज सडकमा राखेर विक्री गर्ने गरेका हुन्। तर निश्चित समय र स्थानमा यस्ता हटियाहरूलाई व्यवस्थित र स्थायी रूपमा चलाउने बन्दोवस्ती गर्न सके त यसले नियमित आयोपार्जनमा किसानहरूलाई मद्दत गर्नुका साथै हाम्रो परम्परा र संस्कृतिको जगेर्ना भएको प्रमाण दिन सक्ने थियो नि। तर कसले र कुन निकायले गर्ने र कसलाई यस्तो घटिया कुरा सोच्ने फुर्सद छ र। खैर।
वास्तवमा सकारात्मक सोचको विकास गर्न यो दक्षिण एसियाभर प्रचलित उर्दू शव्द ‘खैर’ को पनि ठूलो महत्व छ। खैर भनिदिए पछि अघि भएका सबै राम्रा र नराम्रा कुराको पूर्णविराम हुने।
म पहिलो पटक २०३२ सालताका करिव १२ वर्षको उमेरमा मातापितासँग विराटनगर गएको थिएँ। घुमाउरो त्रिभुवन राजपथमा हाम्रो गाडी मन्द गतिमा चलिरहँदा मैले हेटौँडा पुग्दासम्म रिङटा लागेर करिव तीन दर्जन चोटी बमन गरेको थिएँ।
त्यहाँदेखि विराटनगरसम्म भर्खरै निर्माण सकिएको ज्यादै होलो महेन्द्र राजमार्ग हुँदै गएका थियौँ। तर कमला तथा अन्य नदीका पुलहरू बनि नसकेकाले नदीबाटै ओहोरदोहोर गरेका थियौँ। त्यतिबेला महेन्द्र राजमार्गको दुवैतिर घना जङ्गल थियो। तर आज त्यो वन मासिएर घना वस्ती बसिसकेको छ र सडकको दुवैतिर जताततै जग्गा प्लटिङ हुँदै गरेको दृश्य देखिने गरेको छ।
त्यतिबेला विराटनगर निकै सानो शहर थियो। ढल र पेटी नभएका गल्ली जस्ता सडकहरू, जताततै गाईभैँसी, बयलगाडा, टाङ्गा र रिक्साको ताँती र फोहर वातावरण। धनी उद्यमी र जमीनदारहरूका आआफ्ना मोहल्ला र सडकका दुवैतिर उनीहरूका वंगलाहरू र मध्यम वर्गका अलि साना पक्की घर र आम विपन्न जनता बस्ने क्षेत्रमा साना साना छाप्रा जस्ता घरहरू। ठाउँ ठाउँमा कलधाराहरू। मनोरञ्जनको निम्ति फिल्म हेर्न पुराना हिमालय टाकिज र जल्जला सिनेमा हल।
हामी त्यतिबेला तीनटोलियास्थित हाम्रो मामाघरमा बसेका थियौँ। हाम्रा हजुरबुवाले अवकास प्राप्त गरेपछि काठमाडौँमा नै बस्ने भएकोले त्यतिबेला उहाँले हामी विराटनगर जानु भन्दा केही दिन अघि हाम्रो घरमा आएर साँचोहरूको ठूलो झुप्पा दिनुका साथै घर राम्ररी सफा गरेर बस्ने निर्देशन कडक स्वरमा हाम्री माताजीलाई दिनु भएको कुरा आज पनि सम्झनामा आउँछ।
नभन्दै हामी विराटनगरको ठूलो क्षेत्रफलमा बनेको सो बंगलामा पुगेपछि त्यहाँका केही कोठाहरू सफा गर्न मात्र आधा दिन लागेको थियो। हामी काठमाडौँवासीलाई ट्युववेलको पानीको स्वाद भिन्न प्रकारले मिठो लाग्ने। तराई भएकोले खाना पनि मिठो लाग्नुका साथै छिटो पच्ने। तर आज यो सब कुरा हराएर विराटनगरले एक व्यस्त शहरको रूप धारण गरिसकेको छ।
वि.सं. २००३ सालमा भारतको कलकत्तामा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भए लगत्तै विराटनगर जुट मिलमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी लगायतका मजदूर नेताहरूले आयोजना गरेको मजदूर हडताल र त्यसलाई राणाशाहीले सेना परिचालन गरेरै निर्ममतापूर्वक दवाएर वी.पी. लगायत दर्जनौँ नेता तथा नेतृहरूलाई गिरफ्तार गरेपछि २००७ सालको क्रान्तिको जग थप्न अझ बढी बल पुगेको हो। त्यसपछि पनि नेपाली राजनीतिको प्रमुख गढ हुनुका यहाँबाट आधा दर्जन जति नेताहरू प्रधानमन्त्री र उपप्रधानमन्त्री हुन सफल भएका थिए।
उद्योगधन्दाको प्रमुख केन्द्र भएर रहेको विराटनगरको निकै लामो र महत्वपूर्ण इतिहास छ। विराट राजाको दरवार हालको रानी क्षेत्रमा भएको अनुमान गरिए तापनि त्यो क्षेत्रको औपचारिक उत्खनन र संरक्षण गर्ने कुनै पहल भएको देखिँदैन।
आजभन्दा १११ वर्ष अघितिर विराटनगर शहरको स्थापना भएको थियो। त्यो भन्दा अघिसम्म रङ्गेली यो क्षेत्रको प्रमुख शहर थियो। विराटनगरलाई व्यवस्थित शहरको रूपमा बसाउन कृष्णप्रसाद कोइरालाको ठूलो योगदान रहेको कुरा इतिहासका पुस्तकहरूमा पढ्न पाइन्छ।
सातौँ शताव्दितिर आजको मोरङ र यसको उत्तरी क्षेत्रमा मुङ माओरोङ्ग हाङ नामका किराती राजाले राज्य गरेकोले यो क्षेत्रको नाम मोरङ रहेको पनि कथन छ। काठमाडौँबाट करिव ४०० किलोमिटर टाढा रहेको विराटनगरमा मोटरगाडीबाट आवतजावत गर्न ठाउँ ठाउँमा बाटो बिग्रेको कारण निकै कठिनाइ भोग्नु पर्ने हुन्छ। नेपालमा झण्डै एक लाख किलोमिटरको हाराहारीमा बाटो खनिसकिएको भएपनि अधिकांश बाटोहरू धुले, हिले र जर्जर छन्।
आफू युवा छँदा मेरा पिताजीसँगका कैयन् पटकको विराटनगर भ्रमणको बेला उहाँसँग जाने प्रमुख गन्तव्यमा कोइराला निवास, राधाप्रसाद घिमिरेको निवास, दुर्गा सुवेदीको निवास, लिलाप्रसाद लोहनीको निवास, रामलाल गोल्छाको निवास आदि पर्दथे। त्यस्तै राती बास बस्नु पर्दा अक्सर गोल्छा निवास वा मारवाडी सेवा समितिको धर्मशाला प्राथमिकतामा पर्दथे। पछि केही राम्रा लज र होटन खुल्न थालेपछि मात्र त्यता बास बस्न थालिएको हो।
डिएसपी कार्यालय अगाडि यानी हाम्रो मामाघरको विशाल हवेलीको बाहिर त्यतिबेला अवस्थित मिठाइको पसलबाट त्यहाँको प्रख्यात मिठाइ कलाकन्द किनेर काठमाडौँमा आफ्ना परिवार र नातेदारलाई बाँड्ने चलन थियो।
एकचोटी गर्मीको मौसममा यसरी नै हाम्रा हजुरबुवाले विराटनगरबाट कलाकन्द ल्याएर हाम्रो मामाघरका सबै परिवारजनलाई खुवाउँदा परिवारका अधिकांश बच्चादेखि बुढाबुढीसम्म झाडाबान्ता लागेर टेकु अस्पतालमा भर्ना हुन परेको थियो। अस्पताल नै केही दिन हाम्रो नयाँ मामाघर हुन पुगेको थियो। हिजोआज सो पसलको ठाउँमा आँगनदेखि अन्य प्रख्यात मिठाइका दोकनहरू विराटनगरमा खुलेका छन्।
२०४० को प्रारम्भतिर महेन्द्रचोकदेखि विमानस्थलसम्मको एक टुक्रा बाटो नेपाल कै सबैभन्दा चौडा सडकको रूपमा निर्माण गरियो। जोगवनीदेखि धरान हुँदै धनकुटासम्मको बाटो बेलायत सरकारले निर्माण गरिदिएको हो।
यो सडकको निर्माण पछि नै समुद्रको सतहबाट ८० मिटरको उँचाइमा रहेको विराटनगरबाट १,१०९ मिटरको उँचाईमा रहेको धनकुटा एकैदिनमा आवत जावत गर्न सकिने भएको। पुरानो जमानामा धनकुटा क्षेत्रबाट तल झर्दै विराटनगरसम्म आएर जंगल फडानी गर्दै बसाइँ सर्नेहरूको संख्या आज पनि ठूलो छ।
कुमाउतिरबाट नेपाल पसेका कुमाइ बाहुनको सन्तति भएकोले होला नेपालको सुदुर पश्चिम र अझ कुमाउ-गढवालको भुभागमा आफु नगएको भए पनि त्यो क्षेत्रको निकै माया लाग्छ भने त्यताका मानिस प्रति पनि निकै स्नेहाभाव उत्पन्न हुन्छ।
त्यस्तै हाम्रा मावली पाण्डेहरू र लोहनी परिवार पनि विराटनगरमा बसोवास गर्न निकै पहिले गएका र अझै पनि त्यहाँ उनिहरूको ठूलो जमीनदारी र घरजग्गा रहेको र हाम्रो पनि केही विगाहा जमीन भएकोले तथा आजभन्दा दुई दशक अघि धरानमा सवा चार वर्ष कामको सिलसिलामा बसेकोले र धेरै साथीभाइ कमाएकोले पनि यो क्षेत्रको पनि निकै माया लागेर आउँछ।
आजको पुस्तक सार्वजनीकिकरण कार्यक्रमको निम्ति विराटनगरको तिनपैनी शनिहाटमा अवस्थित एलिट क्लब गयौँ। वि.सं. २०१५ सालमा स्थापना भएको यो वौद्धिक तर्क–वितर्क गर्ने नेपाल कै अग्रणी सामाजिक क्लब प्रथम जननिर्वाचित प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको पहलमा खुलेको थियो।
यो क्लबबाट ज्यादै नजिकको दूरीमा कोइराला निवास रहेको छ। पहिलेको अञ्चलाधीश कार्यालय, जिल्ला प्रशासन कार्यालय र विराटनगर फुटबल मैदान र दुरसञ्चारको अड्डा पनि यसैको सेरोफेरोमा अवस्थित छन्।
विराटनगरमा वार्षिक रूपमा खेलाइने प्रख्यात ‘महेन्द्र गोल्ड कप’ फुटबल प्रतियोगित हिजोआज बन्द भइसकेको छ। तर धरानको ‘बुढासुब्बा गोल्डकप’ र पोखराको ‘आहा गोल्डकप’ भने आजसम्म पनि निरन्तर रूपमा चलिरहेका छन्।
पहिलेको पुरानो किसिमका वङ्गलामा रहेको एलिट क्लबमा हाल निकै सुविधाजनक सभा हल र कार्यालय कोठाहरू तथा नियमित आम्दानीको निम्ति आधा दर्जन जति सटरहरू पनि भाँडामा लगाइएका रहेछन्।
हाम्रा विराटनगरका मित्रहरूको पहलमा पुस्तक सार्वजनिकिकरण कार्यक्रम त्यस ऐतिहासिक भवनमा सम्पन्न हुन सकेको थियो। विराटनगरका साहित्यकार, वुद्धिजिवी, समाजसेवी तथा विभिन्न क्षेत्रसँग सम्वद्ध धेरै व्यक्तिहरूको उपस्थितिमा आयोजित सो समारोह विभिन्न विद्वान वक्ताहरूले आआफ्नो विचार व्यक्त गरेका थिए। समग्रमा सो कार्यक्रम निकै सफल हुन पुग्यो।
सानो छँदा विराटनगर गएको बेला पिताजीले एलिट क्लबमा लगेर त्यहाँ कुनै बेला हुने गरेका वहस, छलफल र अन्तरक्रिया कार्यक्रम बारे धेरै कुरा सुनाउनु भएको थियो। तर पञ्चायती व्यवस्थाको पछिल्लो चरणको त्यो समयमा एलिट क्लब निकै खाली र बिरानो घर जस्तो भएको थियो। त्यसैले होला पिताजीले त्यो घरलाई देखाउँदै त्यहाँ कुनै बेला निकै चहलपहल हुने कुरा बताउनु भएको।
बेलुकीपख हामी महेन्द्रचोकमा नै आएर त्यहाँको एक प्रसिद्ध पुस्तक पसलमा हाम्रा पुस्तकहरू विक्रीको निम्ति राखे पछि साथीहरूसँग चियाचमेना पश्चात् बिदा हुँदै धरानको निम्ति प्रस्थान गर्यौँ।
विगतमा धरान, इटहरी र विराटनगरमा आफूले धेरै साथीभाइ बनाएको भए पनि आज आएर अधिकांशको आआफ्नो व्यस्तता र समस्याले गर्दा पहिले जस्तो हिजोआज धेरैजनासँग भेटघाट हुँदैन।
तैपनि केही साथीभाइले उता जाँदा भेटघाट गर्ने र विमानस्थल जान आउन सवारी साधनको व्यवस्था गरिदिने भएकाले थोर्र भए पनि सुविधा हुनुका साथै आत्मियता कायम भइरहने। एकजना भाइले मायापूर्वक पठाएको सवारी साधनमा नवनिर्मित छ लेनको बाटो हुँदै धरानतिर हुइँकियौँ।
आजभन्दा एक दशक अघिसम्मको दुई लेनको त्यो बाटोको दुवैतिर भएका विभिन्न थरी फूल फुल्ने रुखहरू सडक विस्तारको क्रममा मासिन पुगे। हाल सडक चौडा भएर दुवैतिर धेरै घरहरू बन्न थाले पछि अब त विराटनगर, दुहवी, खनार र इटहरी जोडिन नै पुगेर एउटै विशाल शहरको रूप धारण गर्न थालिसकेको छ।
तरहराबाट उत्तरमा रहेको चारकोशे झाडीको केही किलोमिटर जंगल अझसम्म पनि बचेर बसेकोले धरान केही हदसम्म भिन्न शहर जस्तै देखिएको छ। विराटनगरमा मधेशी र पहाडियाको वाहुल्य, दुहबीदेखि खनारसम्म थारु जातीको वाहुल्य, इटहरीमा पहाडिया र थारु जातीको वाहुल्य र धरानमा पहाड, भित्री मधेश र मधेशका विभिन्न जातीको बसाइँले गर्दा विराटनगरदेखि धरानसम्मको यात्रामा पर्ने ठाउँहरूमा आआफ्ना प्रकारका संस्कृति र संस्कारहरू र विभिन्न जातजाती र रहनसहन तथा भेषभूषा देख्न पाइन्छ। लाहुरे संस्कृतिको ठूलो प्रभाव परेको धरान अन्य शहरभन्दा निकै नै फरक, सफा र योजनावद्ध तवरले स्थापित छ।
विराटनगरबाट हाम्रो गाडी छ लेनको चौडा सडकमा घुइँकिँदै निकै छिटो इटहरी पुग्यौँ। तरहराबाट शुरु भएको चारकोशे झाडी पसेपछि चार लेनमा साँघुरिएको तर पहिला भन्दा निकै चौडा सडकमा यात्रा गर्दा कुनै युरोपको मुलुकमा यात्रा गरेझैं नै आनन्द आयो।
माओवादी द्वन्द्वको बेला धरानमा जागीरको सिलसिलामा लामो समयसम्मको बसाइँको बेलामा हामी बरोबर तरहरामा सेकुवा तथा वियरको मज्जा लिन जाने गर्दथ्यौँ। हाल चौडा सडकको विकासले ती पसलहरू केही ओझेलमा परे पनि तरहरा आज पनि सेकुवाको निम्ति प्रख्यात नै छ।
तरहरामा रहेको सरकारी कृषि अनुसन्धान केन्द्र आज पनि रहिरहेको भए पनि हाल विजोगको स्थितिमा छ। माछा, धान तथा विभिन्न बाली र फलफूलको अनुसन्धान हुने सो केन्द्रलाई जोगाएर पुनर्जिवन दिनु अति आवश्यक छ।
जति जति धरान नजिक हुँदै गयो त्यति त्यति मनमा उत्साह बढ्दै गयो, किनकी त्यो शहर लामो समयको निम्ति मेरो कर्मथलो भएर रहेको थियो। धरानको घुमाई हामीलाई अर्को अङकको लागि थाती राखौँ।
क्रमश…..
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment