आइतबार पक्राउ परेका कैदीको सोमबार राति मृत्यु, आफन्तले बुझ्न मानेन शव

डिसी नेपाल
४ असार २०८२ ७:०३
4.0k
Shares

धनगढी । कैलाली कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ।

सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ।

बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो।

मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्‍याउने बेला उनलाई उच्च ज्वरो आएको र रक्तचाप निकै कम रहेको कैलाली कारागार प्रशासनले जनाएको छ।

उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएको छ। सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन्। उनको शव प्रादेशिक अस्पतालमै छ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो। त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *