झोलुङ्गे पुलमा जीवन बिताएका इन्जिनीयर
तराई क्षेत्रमा जन्मेका इन्जिनीयर मुकुन्दप्रसाद उपाध्याय नेपालको ग्रामीण विकासका एक खम्बा हुन् भनिरहँदा अत्योक्ति हुन्न। नेपालका ग्रामीण बस्ती बस्तीमा पुगेर एक गाउँ र अर्को गाउँलाई जोडिदिने इन्जिनियर उपाध्यायले नेपालका सबै जिल्लाका भ्रमण गरेका छन्। भ्रमण मात्रै नभएर त्यो विकटतालाई सहजतामा बदल्न काम पनि गरेका छन्।
सिरहा जिल्लाको विष्णुपुर अर्थात बिसनपुरा गाउँमा जन्मिएका उपाध्यायले नेपालका ग्रामीण क्षेत्रमा झोलुङ्गे पुल निर्माणमा विशेष योगदान पुर्याएका छन्। विकट पहाडी क्षेत्रमा घन्टौँ हिँड्नुपर्ने बाध्यतालाई सहजीकरण गर्ने काम नै पुलको निर्माण हो। पुल निर्माण भएपछि नै त्यस क्षेत्रमा बसोवास गर्ने मानिसको आर्थिक सामाजिक हैसियत बदलिएको छ। सोच र जीवनशैलीमा पनि ठूलो परिवर्तन आएको छ।
सरकारी सेवामा रहेर उनले धेरै गाउँठाउँमा परिवर्तन ल्याउन अहम् भूमिका निर्वाह गरेका छन्। नेपालको पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा झोलुङ्गे पुल निर्माणका क्रममा सडक विभाग हुँदै झोलुङ्गे पुल, प्रज्ञा-प्रतिष्ठानको भवन निर्माण, क्षेत्रीय इन्जिनियर, मन्त्रीको प्रविधि सल्लाहकारसमेतको कार्यानुभव गरेका उपाध्याय नेपालको बौद्धिक सम्पत्ति हुन् भन्न सकिन्छ।
नेपालमा पेसाकर्मी, विज्ञ, दक्ष, जानकारहरूले आफ्नो कार्य-जीवनमा बटुलेका अनुभव, भोगाइ आदि लिपिबद्ध गरेको इतिहास कमै छ, यसकारण उनीहरूको अनुभव एवम् भोगाइहरूको अभिलेख नयाँ पुस्तामा हस्तान्तरण हुन पाउँदैन। यसले पछिल्लो वा आउने पिँढीहरूले अग्रजका त्यस्ता भोगाइ र अनुभव अध्ययन गर्न र त्यसबाट थोरबहुत भए पनि सिक्न पाउँदैनन्।
वृद्धवृद्धाका अनुभव र अनुभूतिलाई लेख्नु नै बुढ्यौली साहित्य हो। बुढ्यौली साहित्यका माध्यमबाट निकै महत्वपूर्ण इतिहासको बोध गर्न सकिन्छ। बुढ्यौली साहित्यले पुराना पुस्ताका अनुभव, अनुभूति, संघर्षलगायतका यस्तै जीवन उपयोगी कुरालाई जोगाउँछ र पछिल्लो पुस्तालाई विषयगत ज्ञान दिन्छ। कुनै विशेष कार्य सम्पन्न गर्दा कुनै पनि पेसाकर्मीले प्राप्त गरेको अनुभव, भोगाइ, ज्ञान आदि अर्को पुस्ताका लागि उपयोगी जानकारी मात्र होइन, समाज र राष्ट्रको इतिहास पनि हो।
यही कुरालाई मनन गर्दै इन्जिनियर मुकुन्दप्रसाद उपाध्यायले आफ्नो कार्य-जीवनमा प्राप्त गरेको भोगाइ, अनुभव, ज्ञान आदि आउने पुस्तालाई हस्तान्तरण गर्ने प्रयास स्वरूप पुस्तकका रूपमा प्रकाशित भएर बाहिर आएको कृति हो ‘झोलुङ्गे पुलमा मेरो जीवन’। यस्तो गहकिलो कृति पाठकलाई सुम्पिने कृतिकार भने आज हामीबीच छैनन्। पुस्तक प्रकाशित गर्ने भन्दाभन्दै उनले यो भूलोक त्यागे।
तथापि, उहाँको जीवन गाथा यो कृतिमा हामी पढ्न पाउँछौँ। तेह्र फरक शीर्षकमा जीवनका पूर्वाद्धदेखि उत्तराद्र्धसम्मका इतिवृत्त समेटिएको यस पुस्तकमा आफूले भोगेका, गरेका अनुभव र अनुभूतिलाई सरल तरिकाबाट प्रस्तुत गरिएको छ।
बालककालमा आफूले भोगेका जीवनलाई सम्झँदै ‘सम्झनामा बाल्यकाल’ शीर्षकभित्र आफ्नो पारिवारिक वंशावली, आमाको सङ्घर्ष र आफूले पाएको माया स्नेह र बालहठलाई सरल रूपमा प्रस्तुत गरिएको छ।
त्यस्तै ‘जीवनको एउटा महत्वपूर्ण घुम्ती’ पठनीय छ। जीवन परिवर्तनको लागि शिक्षाको महत्व दर्शाउँदै आफूले पढेको विद्यालय र त्यसको वातावरणको यसमा चित्रण गरिएको छ। सानै कुराले जीवनमा ठूलो परिवर्तन लेराउँदो रहेछ भन्दै पारिवारिक उतारचढावको प्रसंगसहित उपाध्यायले आमा बाबाले पसल खोलिदिने मनसाय व्यक्त गर्दा खुशी थिए।
तर बौवे बाबु (डा. अञ्जनीकुमार शर्माका दाजु)ले भलुवाहीमा मिडिल स्कुल खुलेको र त्यहीँ पढाउनका लागि लिएर गएको सन्दर्भबाट उपाध्यायको जीवनले नौलो घुम्ती समाउँछ। यो स्मृति जीवनको एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट अर्थात बदलिएको घुम्तिका रूपमा मान्दै लखनउबाट इन्जिनीयरिङमा डिप्लोमा सकेर काठमाडौं फर्केको र जागिरका लागि प्रयत्न गरेको कुरालाई पुस्तकमा प्रस्तुत गरिएको छ।
‘महेन्द्र राजमार्गबाट सुरु यात्रा’ शीर्षकमा त्यतिबेला राजा महेन्द्रको ड्रिम प्रोजेक्टका रूपमा कार्य थालनी गरिएको पूर्वपश्चिम राजमार्गका लागि इन्जिनियर चाहिएको अवस्थामा चिफ इन्जिनियर वीरेन्द्रकेशरी पोखरेलसँग भेटेको र उनले काम दिएको प्रसङ्ग उल्लेख गर्दै बुटवल खण्डबाट नारायणगढसम्म पुगेको कुरा उल्लेख गरेका छन्। नेपालको सडक विस्तारमा सुरुवाती चरणमा गरेको सर्वे र सडक सञ्जाल विस्तारका कुरा यहाँ उल्लेख गरिएको छ।
‘झोलुङ्गे पुलमा पहिलो पाइला’ शीर्षकको आलेखमा उपाध्यायले सडक निर्माणको परियोजना सकिएपछि टोली काठमाडौं फर्किएको र त्यसपछि सडक विभागअन्तर्गतकै झोलुङ्गे पुल निर्माणको कार्यका बारेमा कुरा गर्दै नेपालका ग्रामीण क्षेत्रमा राणाशासनकै पालामा झोलुङ्गे पुल निर्माण सुरु भएको इतिहासको कुरा गरेका छन्।
आफ्नो कार्यक्षेत्र झोलुङ्गे पुलतिर मोडिएको जानकारी गराउँदै उपाध्यायले त्यतिबेलाका इन्जिनियर सत्यमान श्रेष्ठसँगको काम गर्ने र सिकाउने शैलीको चर्चा गरेका छन्।
त्यसपछिको लगातार दुई दशकभन्दा बढी सो क्षेत्रमा काम गरेका र त्यतिबेलाको पारिवारिक पृष्ठभूमिलाई यहाँ चर्चा गरेका छन्।
विकट पहाडी स्थानमा निकै कठिनतापूर्वक काम गर्नु परेका अवस्था सम्झँदै उपाध्यायले कहिलेकाहीँ विवाद र कहिले ठाडो आदेशबिच काम तामेल गर्नुपरेको अवस्थालाई सम्झन पुगेका छन्।
झोलुङ्गे पुलका सामान वीरगञ्जदेखि प्युठानसम्म पुर्याउँदाको सास्तीको चर्चा गर्दै अमेरिकी सरकारले नेपालको झोलुङ्गे पुल निर्माणमा विशेष परियोजना सञ्चालन गरेका कुरा उल्लेख गरेका छन्।
(त्यसैमा उल्लेख छ स्वीस सहयोगका कुरा पनि।) विदेशीहरूले पुल निर्माणमा बिस्तारै सहयोग गर्न छोडेपछि नेपाल सरकार आफैंले लगानी गरी झोलुङ्गे पुल निर्माण गरेको, झोलुङ्गे पुल निर्माण गर्दा केही अनिष्ट नहोस् भनेर बोका, कुखुरा बलि दिएको, त्यसपछि स्थानीयहरूको उपस्थिस्थिति कम भएको कुरासमेत संस्मरणमा बताएका छन्।
स्तरीय सामानको प्रयोग गरी निर्माण गरिएका ति झोलुङ्गे पुलले नेपालको ग्रामीण विकास नेपालीको जीवनशैलीमा ल्याएको सकारात्मक परिवर्तनले जीवनमा उत्साह थपेको कुरालाई यस शीर्षकमार्फत् अभिव्यक्त गरेका छन्।
त्यस्तै ‘यसरी फुटाइयो चट्टान’ शीर्षकमा प्युठानको भिङ्गीमा निर्माण गरिएको झोलुङ्गे पुलको चर्चा गर्दै मनग्ये दुःख पाईएको अवस्थालाई सम्झदै पहरो हटाउनलाई पूर्व सैनिकको सहायताले ब्लास्टिङ गरेको र पूर्वसैनिक घाएते हुन पुगेको कुरालाई बताएका छन्।
झोलुङ्गे पुल निर्माण गर्दा सूचना सम्प्रेषण नभएको, कामदार नपाइएको जस्ता समस्यालाई समेत यहाँ अभिव्यक्त गरिएको छ। अमेरिकी प्रोजेक्टका रूपमा निर्माण भएको यो पूल निर्माण गर्दा त्यहाँको संस्कृतिका बारेमा थाहा पाएको कुरा, बादीहरूको नृत्य र निर्माण सम्पन्न पछि तामझामका साथ पुलको उद्घाटन गरी हस्तान्तरण गरेको कुरालाई प्रस्तुत गरिएको छ।
‘नखाएको विष लाग्दा’ शीर्षकमा उपाध्यायले पुल निर्माणमा खर्च भएको रकम तथा प्रशासनिक कार्यका बारेमा जानकार नहुँदा, लेखापाल र स्टोरकिपरबीच खटपटका कारण हिसाब किताब नबुझाएकाले भ्रष्टाचारको आरोप लागेर मुछिएको घटना, लेखापाल र आफूलाई पुलिसले थुनेको कुरा प्रस्तुत गर्दै अनाहकमा दुःख पाएको अवस्थालाई प्रस्तुत गरेका छन्।
जागीर निलम्बनमा परेको, त्यसपछि आफ्नै सुपरभिजनमा प्रज्ञा प्रतिष्ठानको भवन निर्माणसहित अन्य भवनहरूको निर्माणमा जोडिन पुगनेको, विशेष अदालतबाट सफाई पाएको, निलम्बन फुकुवा भएको घटना जीवनवृत्तमा प्रस्तुत गर्दै ‘पुनः झोलुङ्गे पुल निर्माण’मै प्रवेश गरेको सन्दर्भ इमानदारीताका साथा प्रस्तुत गरेका छन्। यसरी पहिलो काम त्रिवेणी पुल मर्मत छ सात महिनामा सम्पन्न गरेको कुरा पुस्तकमा उल्लेख गरेका छन्।
‘यायावर जीवन’ जीवनलाई यायावरीय अर्थात् बटुवाको घुमन्ते प्रक्रियाका रूपमा बुझ्ने उपाध्यायले आफ्नो जीवनशैली र कार्यलाई यस शीर्षकमा अभिव्यक्त गरेका छन्, २५ वर्षभन्दा बढी झोलुङ्गे पूल निर्माणमा खर्चिएको जीवन, तराई, मधेश हुँदै नेपालका ग्रामीण विकट जिल्लामा जीवनयापनका क्रममा भोगेका भोगाइलाई यहाँ समेटिएको पाइन्छ।
त्यस्तै ‘भरिया तर्साउने बाटो’ शीर्षकमा नेपालको दुर्गम तथा अति विकट मानिने कालिकोटका विभिन्न स्थानको चित्रणसँगै त्यहाँको जनजीवन र कट्टरपन, बास नपाएको कुरा व्यक्त गर्दै डरैडरको बीचबाट भरियासमेत निकै डराएकोले भाकल गर्दै हिँडेको र आफूले पाएको ज्यालाले घण्ट चढाउनसमेत नपुग्ने कुरा यहाँ प्रस्तुत भएको छ।
ताप्लेजुङ, बाजुरा, मुगु, हुम्ला, कालिकोट मात्र नभएर गोरखाको हिमाली क्षेत्रमा निकै कठिनतापूर्वक काम गरेको संस्मरण यहाँ इं. उपाध्यायले बताएका छन्। बाउबाजेले छोडी आएको ‘पुख्र्यौली थलोमा पुग्दा’ शीर्षकमा वंशका लहरा नालीबेली सम्झदै खोटाङको लामीडाँडा पुग्दा पुर्खाको गाउँ माम्खा र खार्पालाई टेकेको अनभूति यहाँ प्रस्तुत गरिएको छ।
पिताजीको जन्मस्थान, परिचित मणिराम दाइ र त्यहाँ वातावरणको चित्रण गरिएको यस संस्मरणले प्राचीनताप्रतिको मोहलाई देखाएको छ।
‘नितान्त फरक काममा म’ शीर्षकमा पेसाले इन्जिनियर भएका उपाध्याय यातायात मन्त्रीको प्रविधि हेर्ने कामसमेत लिई स्वकीय सचिव हुनपुगेको र काजमा बबरमहल पुगेको घटनालाई यस शीर्षकमा प्रस्तुत गरेकाछन्। त्यहाँ रहँदा बस्दाका काम, जिम्मेवारी, मन्त्रीको बरखास्त, सचिवसँगको चिसोपन आदि यस शीर्षकमा समेटिएको छ।
आफ्नो पेसा नै इन्जिनियर भएकाले ‘घुम्दै, फिर्दै झोलुङ्गे पुल’ शीर्षकमा पुनः झोलुङ्गे पुल निर्माणकै काममा लागेको, पाँचै विकास क्षेत्रमा क्षेत्रीय कार्यालय स्थापनासँगै नेपालमा झोलुङ्गे पुल निर्माणले तीव्रगति लिएको जानकारी गराउँदै उपाध्यायले पूर्वाञ्चलको क्षेत्रीय प्रमुख भएर कार्य गरेको कुरालाई प्रस्तुत गरेका छन्। आफू रहँदा बस्दा दश वटा पुल निर्माण भएको र वि.सं. २०४९ मा सरकारी सेवाबाट अवकाश लिएको कुरालाई यहाँ प्रस्तुत गरिएको छ।
र अन्त्यमा ‘अवकाशपछिको क्रियाशीलता’ शीर्षकमा जागिरे जीवनमा भेटेका आत्मीय साथीहरू तिनीहरूको भेटघाट सर-सहयोग, साथीभाइको सदाशयताका साथै प्राविधिक अनुसन्धनेय कार्यका लागि कन्सल्टेन्सीको काम र फेरि पुल निर्माणमै लागेको कुरालाई यस पुस्तकमा अभिव्यक्त गरिएको छ।
मानिसको जीवनमा संस्मरण नहुने कोही हुँदैनन् तर सबैका संस्मरण पुस्तकमा उतारिँदैनन्। अधिकांशका संस्मरण निजीपरक हुन्छन्। वैयक्तिक घर परिवारका कथा अनुभवको महत्व सामाजिक रूपमा खासै नहुनसक्छ। सामान्य जीवनयापनका कुराभन्दा देशको समृद्धिका लागि गरिएका कार्य, ग्रामीण विकास, समाजसेवामा पुर्याएको योगदान पछिल्ला पुस्ताका लागि पथप्रदर्शन हुनजान्छ।
यस अर्थमा समाजहितसँग सम्बन्धित संस्मरणको विशेष महत्व भने विशेष हुने गर्दछ मान्न सकिन्छ। यस्ता संस्मरणबाट तत्कालीन समाज, संस्कृति, परम्परा र त्यतिबेलाको प्रशासनलाई पनि बुझ्न सकिन्छ। यस दृष्टिले इन्जिनियर मुकुन्दप्रसाद उपाध्यायको ‘झोलुङ्गे पुलमा मेरो जीवन’ व्यक्तिगतभन्दा सामाजिक महत्वको कृति बनेको छ। यसको अध्ययनले नेपालमा विकासको अवस्थाका बारेमा जान्न, खोज्न सकिन्छ।
नेपालमा झोलुङ्गे पुलको निर्माण र विकासमा इन्जिनियर मुकुन्दप्रसाद उपाध्यायको ठूलो योगदान छ। उनको नेतृत्वमा नेपालका पहाडी क्षेत्रहरूमा अनेक झोलुङ्गे पुलको निर्माण भइ त्यहाँ जनजीवन निकै सहज बनेको देखिन्छ।
नेपालका निकै विकट तथा अनेक दुर्गम स्थानमा पुगेर उनले झोलुङ्गे पुल निर्माणमा महत्वपूर्ण योगदान दिएका छन्, त्यस्ता पुलको निर्माण गरेर जोखिमपूर्ण एवम् खतरायुक्त आवागमनलाई सरल पारिदिएका छन्।
यस अर्थमा उनका कार्य-जीवनका अनुभव, भोगाइ, ज्ञान आदि नेपालको बौद्धिक सम्पत्ति हो ग्रामीण विकासको इतिहास हो, दस्तावेज हो। ती बौद्धिक सम्पत्तिले नेपालमा झोलुङ्गे पुलको इतिहास एवम् विकास जान्न अवश्य पनि सहयोग पुर्याउनेछन्।
पुस्तक निकै पठनीय छ, सङ्घर्ष कथाले जीवनलाई उत्प्रेरित गर्ने देखिन्छ। यो लोकबाट विदा लिँदालिँदै पनि उनले नेपालीहरूका लागि, इन्जिनीयरिङमा रुचि राख्नेहरूका लागि एउटा ऐतिहासिक दस्तावेज छाडेर गएका छन्। जसको प्रशंसा जतिनै गरे पनि कम हुन्छ।
(चन्द्रागिरि, काठमाडौं)
















Facebook Comment