निबन्ध : एउटा किसानका अनेकौं खुसी

ज्ञानेन्द्र विवश
२८ असार २०८२ ७:०२
40
Shares

अहिले असारे कामधामको बिसौनी महिना। धान रोपाइले विश्राम लिइसकेको छ। खेतका गराहरूमा पानी पर्याप्त पाएर रोपिएका धानका बिरुवाले हरियो रङ फेरिसकेको छ। तिनमा भ्यागुताको बासले साँझदेखि बिहानसम्म लगातार बाजा बजाएर वातावरण नै संगीतमय पार्न थालेको छ।

यसरी प्रकृति हराभरा हुन थालेपछि एउटा किसानको अनेकौं खुसी स्वतः व्यक्त भइरहेको देख्न पाइन्छ। यो यौटा खुसीमा सबैको खुसी मिसिएको हुन्छ। किनभने किसानको खुसीमा अन्नपातको भण्डार भरिने र भरिएको भण्डारले हाम्रो पेट भोको नरहने हुन्छ।

धरतीको काखमा टाउको झुकाएर पसिना झार्ने मानिसलाई हामी किसान भन्छौं। ऊ शिर नउचाली जीवन सिँचन गर्छ। बीउबाट बालीसम्म, माटोबाट अन्नसम्म र सपनाबाट साँच्चिकै खुसीसम्मको लामो यात्रामा निरन्तर लडिरहन्छ।

त्यही किसानका खुसी अनेक हुन्, तर तिनको संख्या कहिल्यै गणना गर्न सकिँदैन। किनभने ती सबै आँखाले देखिने होइनन्, धेरै त अनुभूतिको गहिराइमा लुकेका हुन्छन्। त्यसलाई साहित्यले मात्रै महसुस गर्न सक्छ।

भर्खरै पानी परेर खेतमा पानी जमेको छ। त्यस पानीको छालमा हलो तानिरहेको आफ्नो बाघबान देखेर किसानको मुहारमा जुन चमक आउँछ, त्यो कुनै पुरस्कारले होइन, माटोको गन्धले जन्मिएको उज्यालो हो। माटो र पानीको मिलनमा ऊ आफ्नै जीवनको पुनर्जन्म देख्छ- जस्तो एउटा आमा आफ्नो शिशुको पहिलो मुस्कानमा असह्य प्रशव-पीडा भुसुक्कै बिर्सिन्छिन्।

त्यो मुस्कान किसानको पनि हुन्छ। हिलोमा गाडिएर, घामपानी नभनी काममा गरेको लगानी खेर नजाँदा किसानको अनुहार निन्याउँरो हुँदैन। जब उसले आफ्नो मेहनत सानो विरुवा रोपेर हलक्क हुर्किदै फल फल्न योग्य हुन थाल्छ र पहिलो अङ्कुर फुटेको देख्छ, उसको खुसी पहिलो पटक त्यहीँ प्रकट हुन्छ।

आकाशे बादलसँग उसका आशाहरू गाँसिएका हुन्छन् र माटाको कोखमा लुकेका बीजसँग भविष्यका सपना साँचिएका हुन्छन्। बीउ उम्रिएको खुसी उसको लागि कुनै ठूलै चाडजस्तो हुन्छ। यसमा कुनै बाजा छैन, तर मनमा धुन छ; जसमा रङ छैन, तर सपनाको उज्यालो हुन्छ।

किसानको खुसी चुल्होको धुवाँमा पनि भेटिन्छ। थाकेर घर फर्किंदा अन्नको गन्धसहित भान्साबाट निस्किएको त्यो धुवाँ उसलाई जिन्दगीको सार दिन्छ। नून, तेल र तरकारी नपुग्ला, तर आफ्नै बारीमा आफैँले उब्जाएको खाद्यान्नले उसले पाएको आत्मगौरव अपराजय हुन्छ।

त्यो अन्नको एक-एक मुठ्ठीमा पसिनाको एक–एक थोपा मिसिएको हुन्छ। यसले उसलाई आत्मनिर्भर र परिश्रमको मूल्य सिकाउँछ। किसानको खास खुसी यसमा अभिव्यक्त भइरहेको हुन्छ।

एउटा किसानको खुसी जब सपना यथार्थमा साकार भएको हुन्छ, तब खुसीको सीमाले आकाश छुने चेष्टा गर्न थाल्छ। झन् बढी परिश्रम गर्ने जाँगर चल्छ। गोडमेल गर्दै धानखेतमै किसानले खुसी रोप्छ, खुसी खोज्छ। रोपेको खुसी र खोजेको खुसी त्यहीँ भेट्छ।

कुनै वर्ष पानी नपरेर खेतखलियानमा धाँजा फाटेर सुख्खा हुँदा किसानको आत्मा रुन्छ। उसको मन दुख्छ। अन्न फलाउँदै बाली हुर्काउँदै खुसी रोपेर फलाउनुपर्ने समयमा पानीको हाहाकार हुँदा किसानको खुसी खोसिन्छ।

सुकेका खेल हेरेर टोलाउँछ। समयमा पानी नपरी सुख्खा खेत हुँदा धानबाली उब्जाउँ हुँदैन। टिठलाग्दो अनुहार र फुङ्ग उडेको धर्ती देख्दा कसको मन रमाउँन सक्छ र ? त्यो साल खाद्यान्न संकट निम्तिन्छ। महंगीले आकाश छुन्छ। व्यापरीले मौकाको फाइदा लिन्छन्। किसानको सपना, सपनामै सीमित रहन्छ।

अर्को साल धुमधामले पानी पर्छ। समयमै खेत रोपाइ हुन्छ। पाखो खेतमा समेत प्रशस्त पानी पुग्दा त्यहाँ पनि धानबालीले लहलह रूप लिन्छ। जब धानका बोटमा फूल फुल्न थाल्छ, कहिले हुरीबतासले बाली ढालेर सोत्तर पारिदिन्छ। कहिले बाढी-वितण्डाले बगाएर सखाप पारिदिन्छ। अनि त्यतिबेला सर्वप्रथम ठूलो चोट किसानकै थाप्लोमाथि पर्छ। एउटा किसानको अनेकौं खुसी अनायासै खोसिन्छ।

एउटा सन्तोषको मुस्कान। एउटा इमान्दारको कमाइ। वर्ष दिनलाई खानेकुराको जोहो। त्यसका निम्ति अहोरात्रको खटाइ। पानी, मल, गोडमेल, निगरानी, सिँचाइ यी तमाम काममा रातको निद्राविहीन संघर्षहरू सबै मिलेर यौटा सुन्दर भविष्यको चित्र निर्माण भइरहेको हुन्छ।

त्यो खुसी कुनै पुरस्कारको घोषणापछि आउने ‘ताली’ जस्तो हुँदैन। त्यो त आत्माले आत्मालाई दिएको ‘धन्यवाद’ जस्तो शान्त र गहिरो हुन्छ। आफैँमा सन्तुष्टिको अमृत तुल्य ‘स्वाद’ हुन्छ।

यद्यपि एउटा किसानका अनेकौं खुसीहरू यति मात्रै कहाँ हुन् र ? गोठका गाईवस्तुले अघाउँजी खान पाउँदा। त्यस्तै किसानकी सानी छोरीले स्कुलको नयाँ लुगामा ‘बाबा हेर्नुस् त नयाँ नानामा म कति राम्री लागेँ !’ भन्दा र पत्नीले चुलामा ‘अब मैले करेसाबारीमा फलाएको मिठो तरकारी पकाउँछु।’ भन्दा झल्किने खुसी अव्यक्त हुन्छ।
वास्तवमा यी सबै सामान्य तर ‘अद्वितीय’ खुसी हुन्, जुन किसानले दैनिक अनुभव गर्छ। ‘अग्र्यानिक’ वातावरण र त्यस्तै खानपानमा मात्र भेटिन्छ।

जसरी गीतले शब्दभन्दा बढी मौनता बोल्छ, किसानको खुसी पनि कहिल्यै ठूला आवाजमा प्रकट हुँदैन। ती खुसीहरू भर्खरै रोपिएका धानका विरुवाले गाँज हाल्न थालेपछि हुन्छन्, जुन हावाले हल्लाउँदा नाचेर किसानको मुहारमा खुसियालीको वर्षा गराइदिन्छ।

त्यो नाच प्रकृतिसँगको सहमति हो। ती खुसीहरू खनजोतको लयमा हुन्छ, जहाँ माटोसँगको सम्बन्ध दिन प्रतिदिन बलियो हुँदै जान्छ। अनि ती खुसीहरू चन्द्रमाको उज्यालोमा बाली हेर्दै घरमा बसेर गाँस खानुमा हुन्छ। त्यहाँ कुनै दौडधुप हुँदैन, कुनै बनावट हँुदैन, केवल शुद्ध, सरल र सत्य अनुभूति मात्र हुन्छ।

एउटा किसानका खुसीहरू कहिल्यै एकल हुँदैनन्। ती सामूहिक हुन्छन्। घर, परिवार, वस्तुभाउ, बारी,हाटबजार, किरानापसल, आकाश, वर्षा र वायु सबैसँग गाँसिएका हुन्छन्। उसका खुसीहरू देशका मुहार हुन्।

जुन कहिलेकाहीँ ढल्किएर राजनीति भन्छौं, कहिलेकाहीँ विपद् भन्छौं, तर उसको खेतबारीमा फेरि बिउँझिन्छन् निदाएका सपनाहरू। अन्नको रूपमा, जीवनको रूपमा। किनभने परिश्रमको फल मीठो हुन्छ।

त्यसैले किसानका खुसीहरू गनिनु हुन्न, गहिरिनुपर्छ। साहित्यले, कलाले र हाम्रा आत्माहरूले ती महसुस गर्नुपर्छ। एउटा किसानका अनेकौं खुसीहरूलाई हामीले पनि आत्मसात गर्नुपर्छ। यस्ता परिश्रमका पुजारीप्रति कृतज्ञ हुनुपर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *