सत्ता मोहमा जकडिएको नेपालको राजनीति
राजनीतिको पवित्र उद्देश्य देश र समाजको सेवा हो। राजनीतिमार्फत देश र समाज परिवर्तन गर्दै जनताको जीवनमा आमुल परिवर्तन ल्याउने काम हुन्छ।
आज विश्वका विकसित भनिएका मुलुक पनि राजनीतिमार्फत नै विश्व शक्तिशाली बन्न सफल भएका छन्। उनीहरुले देश र जनतालाई सर्वोपरी ठानेर राजनीति गर्दछन्। जसको तत्काल सकारात्मक परिणाम देखिन्छ।
नेपालमा पनि २००७ सालदेखि राजनीतिक परिवर्तन हुन सुरु भएको देखिन्छ। ०७ सालदेखि अहिलेसम्म आइपुग्दा नेपालमा धेरै राजनीतिक उथलपुथल भए। राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था, लोकतन्त्र हुँदै अहिले गणतन्त्रसम्म आइपुग्दा त्यसको नेतृत्व सबैको मुखमा देश र जनताका लागि राजनीति गरिएको भन्ने सुनिँदै आएको छ। तर व्यवहारमा त्यो पटक्कै देखिँदैन।
जतिपटक राजनीतिक परिवर्तन भएपनि देश र जनताको जीवनस्तरमा कुनै परिवर्तन भएन। यहाँका शासन बलिया र धनी बन्दै गए, देश र जनता कमजोर र गरीब बन्दै गइरहेका छन्।
आज देशको सार्वभौम सत्ता खतरामा परेको भान हुन थालेको छ। गणतन्त्र स्थापना भइसकेपछि मुलुक निकै कमजोर हुन थालेको छ। नेता सत्ता स्वार्थमा तल्लीन हुँदा जनतामा व्यापक निराशा बढेको छ। युवाशक्ति पलायन हुने क्रम रोकिएको छैन।
मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि मुलुक अस्थिर राजनीतिको दलदलमा फसेको छ। हामीले अंगीकार गरेको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्था छ।
बहुमतको सरकार गठन गर्न दुई वा दुई भन्दा दल मिल्नु पर्ने बाध्यता छ। गठबन्धनको सरकार हुँदा जस्तो पनि विषयमा सम्झौता गर्नुपर्ने अवस्थाले मुलुकमा व्यापक भ्रष्टाचार बढेको छ। आज नेता धनी हुने, देश र जनता कंगाल हुने स्थिति उत्पन्न भएको छ।
अझ, नेपाल जस्तो विविधता भएको र क्षेत्रफलको हिसावले सानो मुलुकलाई संघीयतामा लगेर आर्थिक अवस्था जर्जर बनाउने काम भएको छ। जनताले तिरेको करबाट मन्त्री र सांसदलाई पाल्नु पर्ने अवस्थाको सृजना भएको विकास खर्च शून्य बराबर छ।
स्थानीय तहदेखि केन्द्रसम्म नै सरकार व्यापक भ्रष्टाचारमा डुबेका छन्। तर नेताहरुलाई मिलिभगत गरेर भागबण्डा गर्दै देशको ढुकुटी दोहन गर्न मस्त छन्।
शिक्षा, स्वास्थ्य, कृषि सरकारको प्राथमिकतामा पर्न छोडेका छन्। १२ कक्षा पास भएपछि विद्यार्थी नेपाल बस्न चाहँदैन।
विदेशी गएको जनशक्तिलाई स्वदेश फर्काउने सरकारको कुनै योजना छैन। स्वदेशमा रोजगारी सृजना गर्नेतिर सरकारको ध्यान छैन। अर्थतन्त्रमा कुनै सुधार आउन सकेन। राम्रा पढेलेखेका र देश बिकास गर्ने खुबी भएका मन्त्री कहिले भएनन्।
अहिलेसम्म प्रधानमन्त्री बनेका नेताहरुमा पनि कुनै दूरदृष्टि देखिएन। पार्टी जोगाउन र प्रत्येक निर्वाचनमा आफैं जितेर आउने बाहेक हाम्रा नेताले केही पनि गर्न सकेको देखिँदैन।
देशमा भएका कलकारखाना धमाधम बेचिए। बेरोजगार युवा युबतीहरु आय आर्जनको लागि बिदेसिँदै गए। समग्रमा भन्ने हो भने गणतन्त्र हात्ती पाले जस्तो भयो। सयौं संसद बने, सयौं मन्त्री बने, सयौंले चिल्ला चिल्ला गाडी चढ्न थाले। अर्थतन्त्र देशले धान्नै नसक्ने भयो।
सरकारी ऋण धमाधम बढ्दै गयो र राष्ट्र ऋणमा चुर्लुम्ब डुब्न पुग्यो। तर देश चलाउने मुख्यत तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओबादीका नेताहरु सत्ता मोहको प्यासले प्रधानमन्त्रीको पदलाई म्युजिकल चेयर जस्तो बनाइ पालै पालो पाँच सात जना नेताहरुकै पेवा जस्तो बनाइ रहेका छन्।
कुटनीतिक रुपमा हामी असफल भइसकेका छौं। देशको उपस्थिति हुनै छोडेको देखिन्छ। विज्ञ कुटनीतिज्ञको मुलुकमा ठूलो अभाव देखिन्छ। सबै दलका कार्यकर्तालाई भर्ती गर्ने परम्परा बसाइएको छ। नेपालमा यो आएको गणतन्त्र र लोकतन्त्र अफाप हुनुको खास कारण अरु कुनै नभई नेताहरुको अदूरदृष्टि, परनिर्भरताको कारण नै हो।
योग्य र सक्षम व्यक्तिले कुनै अवसर नपाउने, दलका कार्यकर्ता भएपछि जस्तो सुकै व्यक्तिले पनि पद प्राप्त गर्ने कामले आज मुलुक अधोगतितर्फ उम्मुद हुँदै गएको छ।
मुलुकमा राजतन्त्रको अन्त्य भइसकेपछि नेताहरुमा सत्ता उन्माद देखियो। आफूलाई राजा ठान्ने दलका नेतामा प्रवृत्ति देखियो। नेता कानुन भन्दा माथि हुने र जनताले न्याय नपाउने अवस्थाको सृजना हुन थाल्यो।
आज जनताले न्याय नपाउने स्थिति उत्पन्न हुन थालेको छ। अदालतमा न्यायाधीश नियुक्ति हुँदा कुन दलको हो भनेर पहिला नै किटान गरिन्छ। दलमा आस्था राख्ने न्यायाधीशले कसरी निष्पक्ष न्याय दिन सक्छन्? यसरी हरेक क्षेत्रमा राजनीति घुसाउन थादिएपछि देशमा जनता कम र कार्यकर्ता बढी हुन थाले।
जनताले अहिलेका दलको विकल्प खोजेर नयाँ दललाई निर्वाचित गराएका ल्याएका थिए। उनीहरुप्रति जनताको आस्साथ विश्वास पनि थियो, तर ठूला दलका नेताले विभिन्न वहानामा नयाँ शक्तिलाई पनि विवादमा पारेर प्रतिश्पर्धा गर्नै नदिने षड्यन्त्र गरिरहेका छन्।
जनतामा अहिलेको अवस्था व्यवस्थाप्रति नै वितृष्णा फैलिएको छ। झण्डै २० वर्ष पहिला निरंकुशता भन्दै २४० वर्षको इतिहास भएको राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको थियो। तर अहिले तिनै निरंकुश भनिएका राजाप्रति जनलहर बढ्दो छ। यो अहिलेको अवस्था र व्यवस्थाका लागि चुनौती हो। यसरी वर्तमान नेतृत्वप्रति जनतामा आक्रोश हुँदासमेत दलहरु सच्चिन तयार छैनन्।
प्रधानमन्त्री दैनिक आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको मुख नै हेर्दिन भन्छन्। तर प्रधानमन्त्रीकै क्याबिनेटमा भ्रष्टाचार काण्डमा मुछिएका छ।
नेताहरुको भनाइ र गराइ फरक हुँदा जनतामा आक्रोश बढ्नु स्वभाविक नै हो। नेताहरुले आज साधारण जीवनशैली बिताइ देश र जनताका लागि काम गरेको भए आज फेरि अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग अवश्य पनि उठ्ने थिएन।
गणतन्त्र आएको २० बर्षमा देशलाई एसियाको बिकासको स्तरमा उचाली दिएको भए नेताहरुप्रति सम्मान बढेर जाने थियो। नेपालको दुर्भाग्य भनौं वा नेताहरुको सत्ता मोह, यो हरेक पाठकहरुले नै आंकलन गर्ने बिषय हो।
एक्काईसौं सताब्दीको समयमापनि हामी पानी पानी भनेर पर्खिरहेका छौं। कतै बिजुली बिजुली भनेर कराइरहेका छन्। कतै सडक सडक भनेर पखिैर बस्नु पर्ने अवस्था छ।
प्राकृतिक रुपमा विश्वको सबैभन्दा सुन्दर मुलुक आज मागेर खानु पर्ने अवस्थाबाट गुर्जिरहेको छ। यहाँ चोरलाई चौतारो, साधुलाई सुली जस्तो व्यवहार हुन्छ। यहाँ काम गर्नेलाई विभिन्न वहानामा बद्नाम गराएर हटाइन्छ र आफ्ना आसोपासेलाई बोक्नै नसक्ने जिम्मेवारी सुम्पिइन्छ।
के यही हो लोकतन्त्रको बरदान? यो त नेताहरुको सत्ता मोहको पराकाष्ठा हो। के यही कारण हो आज फेरि व्यवस्था परिवर्तन गरेको? सत्तामोह र सम्पत्तिको मोहको छुटकारा हुने हो भने र इम्मानान्दारीका साथ राज्य सत्ता संचालन गर्ने कुराले साकार रुप लिए अझैपनि केही भएको छैन।
यदि यस्तै पाराले शासन गर्दै जाने हो भने देश संकटमा मात्र नफसी देशको परिचय नै गुम्ने खतरा छ। त्यसकारण नेताहरुले बेलैमा आफ्नो बुद्धि र बिबेक फर्काउन् अन्यथा यसको नतिजा नमिठो हुने निश्चित छ।
















Facebook Comment