कथा

रीता दिदी

प्रकाशचन्द्र खतिवडा
३ साउन २०८२ ७:००
232
Shares

होचो कद, गहुँ गोरो वर्ण र कडा मिजासकी हुनु हुन्थ्यो रीता दिदी। म सरुवा भएर आउँदा वहाँ प्र.अ. हुनुहुन्थ्यो। आर्थिक र भौतिक कठिनाइका बावजुद प्रस्तावित मा.वि. चलाउने योजना बनाई रहनु भएको थियो। दरलबन्दी पर्याप्त थिएन। निजी स्रोतबाट शिक्षक राख्नु पर्ने बाध्यात्मक परिस्थिति थियो।

त्यसका लागि विद्यार्थीहरुसँग तोकिएको शुल्क उठाउनु पथ्र्यो। शिक्षक तलब झत्ताका लागि गा.वि.स. सँग झगडा गर्नु पथ्र्यो। गा.वि.स. सचिव र राजनैतिक दलको चित्त बुझाउन गाह्रो थियो।

भवनहरु पर्याप्त थिएनन्। फर्निचरहरु थोत्रिइसकेका थिए। खानेपानीको असुविधा थियो। शौचालयहरु पनि जीर्ण थिए। विद्यार्थीहरु दिशा पिसाबका लागि नजिकैको जंगल तिर दगुर्थे।

सत्तल डाँडा गाउँको केन्द्रमै थियो। सत्तल डाँडामै थियो विद्यालय। विद्यालय सँगै टासिएर झ्याउँ पोखरी बजार झर्ने मूलबाटो परेको हुँदा मानिसहरुको ओहोर दोहोर भैर रहन्थ्यो। मादक पदार्थ सेवन गरेर विद्यालय परिशरमा प्रवेश गरी मुख छाड्ने घटना सामान्य जस्तै थियो। प्रहरी चौकी स्थापना भएकै थिएन।

सरकारी कार्यलयको नाममा अतिरिक्त  हुलाक र स्वास्थ्य चौकी थिए। सत्तल डाँडामा दुई चार वटा सामान्य पसलहरु थिए। त्यहाँ जाँड, रक्सीको व्यापार राम्रै हुन्थ्यो। आवश्यक सामग्री किन्न झ्याउपोखरी नै जानु पथ्र्यो।  खाजाको रुपमा जाँड रक्सी प्रयोग गरिन्थ्यो। केही शिक्षक शिक्षिका टिफिनमा खाजाको रुपमा कुनै संकोज नमानि जाँड पिउने गर्थे।

साङपाङ, जहाँ, तामाङ र राई बस्ती बाक्लै थियो। मझुवा सिरान, फाली दोबाटो र तीन तलेमा शेर्पा बस्ती थियो। क्षत्री बाहुनहरु बसाई झरेर उनीहरुको संख्या पातलिँदै थियो। तोरीबारी, मालबाँसे र आहालेमा ब्राम्हण बस्ती थियो। सुनार गाँउ र क्षत्री गाँउमा पनि आवादी बाक्लै थियो।

दलितहरुको पनि उल्लेख्य उपस्थिति थियो। एक घर लिम्बू पनि थिए। मिश्रित समाज थियो साङपाङको। सराउ र सांक्षेप धार्मिक, मराउ पराउ र विवहा जस्ता कार्यमा प्रचलनमा थिए। दशैं, तिहार, साकेला र ल्होसार धुमधामका साथ मनाइन्थ्यो। सामाजिक सद्भाव कायम थियो। पाहुनको उच्च सत्कार गरिन्थ्यो।

रीता दिदीको माइती साङपाङै हो। घर झ्याउँपोखरी भिर गाउँ हो। रीता दिदीको परिवार शिक्षित परिवार हो। उहाँको बुवा सहायक जि.शि.अ. हुनुहुन्थ्यो। आमा पूर्व शिक्षिका हुनुहुन्थ्यो। सत्तलमै उहाँले शिक्षण गर्नु भएको थियो। माइती गाउँको सामाजिक परिवेश रीता दिदीलाई राम्रैसँग थाहा थियो।

विद्यालय चलाउन अरुलाई भन्दा उहाँलाई केही सजिलो थियो। माइतीको मन जितेर कतिपय विद्यालयीय काम पछि अनुमोदन गर्ने गरी सञ्चालन गर्नु हुन्थ्यो। पछि ती काम अनुमोदन हुन्थे।

०१३ सालको श्रीपञ्चमीको दिन स्थापना भएको रहेछ यो विद्यालय। सरस्वती पूजाको दिन स्थापना भएकै कारण विद्यालयको नाम सरस्वती राखिएको रहेछ। प्राइमरी तहबाट सुरु गरिएको विद्यालय स्तरोन्नति  हुँदै नि.मा.वि. भएको रहेछ।

मा.वि. तहमा स्तर वृद्धि गर्नको लागि प्रकृया थालिएको रहेछ। समाजको आवश्यकता र समयको माग पूरा गर्ने पहल कसैलेन कसैले गर्नु पर्ने रहेछ। मा.वि.संचालनको नेतृत्व  रीता दिदीले लिनु भयो। मा.वि साङपाङको आवश्यकता थियो। आवश्यकता प्राप्तिका लागि साङपाङेहरुको सकारात्मक योगदान रह्यो।

अमर सरको अकल्पनीय निधनपछि रीता दिदीलाई प्र.अ.को जिम्मेवारी दिएको थियो। सायद उहाँ ०५२ मंसिरदेखि प्र.अ. हुनु भयो। उहाँका सामु चुनौती र अवसर  प्रशस्तै थिए। उहाँको कार्यकालमा नि.मा.वि. लाई मा.वि. बनाउनु पर्ने दवाब थियो।

विद्यालयीय कामको सिलसिलामा भोजपुर सदरमुकाम जान आउन ८-१० घण्टाको पैदल यात्रा तय गर्नु पथ्र्यो। महिला भएकै कारण अर्को एक जना साथी पनि चाहिन्थ्यो। सुरु सुरुमा साथी लिएर हिँड्ने रीता दिदी भोजपुर जान आउन बानी परेर होला एक्लै पनि भोजपुर जाने आउने गर्न थाल्नु भएको थियो।

म नेपाल राष्ट्रिय शिक्षक संगठनको  जिल्ला समिति सदस्य रहेको कारण मैले पनि मासिक रुपमा बैठकमा सहभागी हुन भोजपुर गै रहनु पथ्र्यो। कतिपय विद्यालयीय काम मैले पनि सम्पन्न गरेको थिएँ। रीता दिदीलाई काममा मैले पनि सहयोग उपलब्ध गराएको थिएँ।

कतिपय सन्दर्भमा प्र. अ. नभै नहुने काम हुँदा रीता दिदी र म कयौं पटक सँगसँगै भोजपुर आवत जावत गरेका थियौं। राजनैतिक र वैचारिक रुपमा रीता दिदी र म एउटै कित्तामा थियौं। भोजपुर जाँदा आउँदा राजनैतिक गफहरु हुन्थे।

सदस्यताको हिसाबले रीता दिदी नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य हुनु हुन्थ्यो। विद्यालयीय कामको शिलशिलामा रीता दिदी मेरो सुझाव लिने गर्नु हुन्थ्यो। म जानेसम्मको सुझाव दिएर सहयोग गर्थें।

मेरो सरुवा दिंलाबाट त्यहाँ हुँदा रीता दिदीमा प्रशन्नता छाएको थियो रे। प्र.अ. चलाउन सक्ने मान्छे आउँदैछ भनेर। रीता दिदीको श्रीमान नारद दाइ सँग पनि मेरो राम्रै चिनजान थियो। उहाँ राष्ट्रिय स्तरको कलाकार हुनु हुन्थ्यो। चुनावी सभामा उहाँ गीत गाउने र म कविता सुनाउने गथ्र्यौं। हप्तौंसम्म हामी सँगै रहन्थ्यौं। हाम्रो उठबसले हामीलाई नजिक्याएको थियो।

पूर्वको साङपाङ माओवादीको राम्रै आधार भूमि थियो। स्थानीय निर्वाचनमा माओवादीकै चुनावी मोर्चा संयुक्त जनमोर्चाले चुनाव जितेको थियो। युवा नेताहरु भूमिदल राई र राजन बिक्रम राई अध्यक्ष र उपाध्यक्षमा निवार्चित भएका थिए। माओवादीका केन्द्रीय नेताहरु साङपाङ आउने जाने गर्थे।

युवा नेतृत्वले लोक प्रिय कामको सुरुवात गरेको थियो। शिक्षालाई पहिलो प्राथमिकता दिई विद्यालय भवन निर्माण कार्य सम्पन्न गरेको थिए। स्वास्थ्य, सिंचाइ, कृषि र खानेपानी जस्ता विषय वस्तु प्राथमिकिकरणमा परेका थिए।

प्राथकिमता निर्धारण गरी विकास निमार्णका कार्यहरु अगाडि बढाइएको थियो। पार्टीको घोषित नीति अनुरुप ०५२ फल्गुण १ गतेबाट दर्जनौं युवा युवति साङपाङबाट जनयुद्धमा सामेल भई भूमिगत भए।

०५२ फाल्गुण १ म सरस्वती मा.वि.मा हाजिर भएको दिन। म हाजिर हुन आउँदा रीता दिदी विद्यालयमा हुनु हुन्थेन। विद्यालयीय काम लिएर भोजपुर जानु भएको रहेछ। मलाई नि.प्र.अ. इन्द्रदेव राईले हाजिर गराउनु भएको थियो। इन्द्रदेव सर पनि साहित्यिक हुनु हुँदो रहेछ। हामीले केही बेर साहित्यका कुरा गर्‍याैं।

जनयुद्ध सुरु भै सकेको हुँदा जनयुद्धले छोड्ने प्रभाव र असर बारे इन्द्रदेव सरले मलाइ बेलिविस्तार लाउनु भयो। इन्द्रदेव सर माओवादीलाई समर्थन गर्नु हुँदो रहेछ। शिक्षण पेसाबाट राजीनामा दिएर विद्यालयबाट सावित्री कुमार काफ्ले सर भूमिगत हुनु भएको रहेछ।

म आउँदा सावित्री सरको राजीनामा र भूमिगत जीवन बारेको चर्चा परिचर्चाले व्यापकता पाइ रहेको थियो। उहाँ नाताले मेरो मामा (आमाको सानिमाको छोरा) हो। उहाँ सँग मेरो भेट भएन। राति एक बजे तिर १५-२० जनाको टिमको नेतृत्व गरेर उहाँ घर आउनु भएको थियो।

साङपाङमा टिक्ने भए माओवादी हुनु पर्ने भन्ने आशयको कुरा उहाँले गर्नु भयो। मैले राजनैतिक र वैयक्तिक स्वतन्त्रताको कुरा गरेँ। म माओवादी हुन सक्दिन भने। सोच्नु होला भन्दै उहाँहरु राति नै हिँड्नु भयो। त्यस पछि हप्तौंसम्म हाम्रो भेटघाट भएन।

समय र परिस्थिति अप्ठेरो बनि रहेको थियो। साङपाङमा प्रहरी चौकी स्थापना भएर धर पकड सुरु भएको थियो। खास गरी शिक्षकहरु प्रहरीको अनुसन्धानको केन्द्रमा थियौं। यो वा त्यो बहाना बनाएर प्रहरीहरु विद्यालय हाता भित्र प्रवेश गरी मानसिक यातना सिर्जना गराउँथे।

एक्लै दोक्लै बाटो हिँड्ने परिस्थिति थिएन। रोहिणी सर र म साङपाङका लागि नयाँ पात्र थियौं। हामी माथि विशेष निगरानी राखिएको थियो। रोहिणी सरको घर फालिकोट हो। उहाँ फालिकोट बाटै विद्यालय धाइ रहनु भएको थियो। म पनि उपयुक्त डेरा नपाएको कारण झ्याउपोखरी बस्न बाध्य थिएँ।

रोहिणी सर र म झ्याउपोखरीमा भेट भएरसँगै विद्यालय आउने जाने गथ्र्यौं।  रोहिणी सर दुई घण्टा धाउनु हुन्थ्यो भने म एक घण्टाको बाटो धाउँथे। म कट्टेलनी दिदीको घरमा बस्थे भने तुम्लिङ्गिनी अजिकोमा खाना खान्थे। अजिले मलाई साह्रै प्यारो गर्नु हुन्थ्यो।

बिहान बेलुकी जीवन सर, रमा मिस, रमेश सर, सिताराम सर र कुमार सर सँग भेटघाट हुन्थ्यो। शैक्षिक, सांगठानिक र जनयुद्ध सम्बन्धिनै गफगाफ हुन्थे। भोजपुर जिल्लाका अधिकांश शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक सँगठनमै आवद्ध थिए। सांगठानिक काम पूरा गर्न मलाई सहजता थियो।

देशमा बहुदलीय प्रजात्रान्त्तिक व्यवस्था भए पनि राजतन्त्र कायमै थियो। सामन्तवाद र साम्राज्यवादका अवशेषहरु बाँकी नै थिए। देशी विदेशी प्रतिक्रियावादिहरु चलखेल गरिरहेकै थिए। जनजिविकाका सवालहरुमा राज्यले पूर्ण जिम्मेवारी लिइ रहेको थिएन।

बेरोजगारी र गरिबीको संख्या बढी रहेको थियो। गास, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराहरुको सुनिश्चितता नहुँदा जनताहरुमा निराशा छाएको थियो। यही निराशामा टेकेर माओवादीले जनयुद्ध घोषणा गरी भूमिगत भएको थियो।

अब हामीले माओवादीलाई तोकिएको निश्चित रकम नियमित चन्दा दिनु पथ्र्यो। नाइ नास्ती गरे भौतिक कार्यवाहीसमेत हुने गथ्र्यो। प्रतिकृयावादी भइन्थ्यो। पूनरुत्थानवादी भइन्थ्यो। राष्ट्रघाती भइन्थ्यो।

माओवादी छापामारहरुको गतिविधि दिन प्रतिदिन बढिरहेको थियो। पूर्वका माओवादी पश्चिम जाने र पश्चिमका माओवदी पूर्व आउने क्रम चलिरहेको थियो। दोहोरो भिडन्त हुन थालेका थिए। एके फोर्टी सेभेन जस्ता हतियारसहित छापामारहरु देखा पर्थे।

प्रहरी चौकीहरु लुटिएका खबर सामान्य बन्न थालेका थिए। साङपाङको प्रहरी चौकी विस्थापित भै सकेको थियो। प्रहरी चौकी डढाएर खरानी बनाइएको थियो। सेना, प्रहरी र छापामारबाट विद्यालय भवनहरु सेल्टरको रुपमा प्रयोग हुन्थे। दुबै पक्षबाट मानव अधिकारको उल्लंघन गरिएको थियो।

सन्त्राशयुक्त वातावरणमा विद्यालय संचालन गर्नु कम चुनौतीपूर्ण थिएन। जिल्लामा औंलामा गन्न सकिने महिला प्र.अ. मध्ये एक हुनु हुन्थ्यो रीता दिदी पनि। माओवादीको पूर्वकै आधार इलाका मानिएको साङपाङको प्र.अ. चलाउन त्यति सहज थिएन।

चेक एण्ड ब्यालेन्सको नीति अख्तियार गरी रीता दिदीले कुशलता पूर्वक प्र.अ. चलाउनु भएको थियो। कुनै पनि कुराको डिल गर्ने क्षमता उहाँमा थियो। पेलेरै भए पनि कति काम त गरेरै छोडुनु हुन्थ्यो। उहाँ निडर र हक्की स्वभावकी हुनु हुन्थ्यो।

०५२ – ०६२ प्र.अ. को भूमिका निर्वाह गरी उहाँले घरपायक सरुवा जाने मनशाय व्यक्त गर्नु भयो। उहाँलाई सरुवा नजान शिक्षक स्टाफले अनुरोध ग¥यो। वि.व्य.स. अध्यक्षले त कहिले कहिले सरुवा फर्ममा सहमति धस्काई सकेका रहेछन्। रीता दिदीको सरुवा रोक्न सकिएन।

अन्ततोगत्वा बाध्यात्मक परिस्थितिका बीच मलाई प्र.अ. पद हस्तान्तरण गरी रीता दिदी झ्याउपोखरी सरुवा जानु भयो। मैले पनि करिब साढे एघार वर्ष प्र.अ. को जिम्मेवारी निर्वाह गरी आफ्नै जन्म स्थल बोया सरुवा भै  गएँ।

रीता दिदी र म सेवानिवृत्त जीवन बिताइ रहेका छौं। विद्यालयको प्रगतिमा हामी खुशी साट्न तयार छौं। रीता  दिदी र मैले जीवनको उर्वर समय साङपाङमै बितायौँ। आफूले रगत पसिना बगाएको विद्यालय मानसपटलमा नाँची रहँदो रहेछ।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.