उप्रेतीको ‘प्रकृत्या सह जीवनम्’ कवितामा सह-अस्तित्वको आह्वान
कविताको बीउ प्रायः सबै मानिसको हृदयमा हुन्छ तर त्यसको बिजाङ्कुरण कहाँ, कहिले र कसरी हुन्छ त्योचाहिँ मानिसपिच्छे फरक हुने रहेछ, परिस्थितिअनुसार भिन्न रूपमा देखा पर्ने रहेछ। गोपी उप्रेती मूलतः कृषि र प्राकृतिक स्रोतका प्राध्यापक हुन्। दोगो विकासका प्राज्ञिक व्यक्तित्व हुन्।
वातावरणीय न्याय र सामाजिक न्यायका अभियन्ता हुन्। वातावरणीय नीतिका विज्ञ हुन्। लोकले उनलाई यसै रूपमा चिन्छ। लेख्न त जीवनमा उनले पहिले पहिले पनि केही कविता लेखे होलान् यद्यपि परिदृश्यमा उनको चिनारी हृदयको कोमलताबाट सिर्जना गर्ने कविसहित्यकारभन्दा पनि मूलतः दिमाग लगाएर काम प्राज्ञिक र विकासविद्कै रूपमा स्थापित भयो। यति बेला भने उनै प्राध्यापक डा. गोपी उप्रेती कविताकृति “प्रकृत्या सह जीवनम् ” लिएर साहित्यिक बजारमा आएका छन्।
प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर र कृषि विषयमा अमेरिकी सरकारको ईस्ट-वेस्ट सेन्टरको प्रतिष्ठित छात्रवृत्तिसहित हवाई विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोपी उप्रेतीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरमा लामो समय प्राध्यापन र अनुसन्धान अनुभव सँगालेका छन्।
उनले कृषि, जलश्रोत, वातावरण, दिगो विकास, जलवायु परिवर्तन जस्ता आफ्ना विज्ञताका क्षेत्रमा थुप्रै विद्यार्थीहरूलाई दीक्षित बनाएका छन् । यसका अतिरिक्त उनले नेपाल सरकारको कृषि अनुसन्धान परिषद्, वातावरण परिषद्, योजना आयोग लगायत महत्वपूर्ण निकायहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरी आफ्नो विज्ञताको क्षेत्रमाराष्ट्रनिर्माणको लागि रणनीतिक योगदान दिएका छन्।
प्राज्ञिक प्रकाशनहरूमा उनका अनुसन्धानमुलक लेखहरू प्रकशित छन् । प्राज्ञिक र व्यावहारिक ज्ञानबाट खारिएका उप्रेती पछिल्लो समय पर्यावरण संरक्षण र दिगो विकासको नया विश्वदृष्टिकोणका बारेमा चिन्तनशील छन् ।
प्राध्यापक उप्रेतीले पछिल्लो समय प्रवासमा बस्दा विभिन्न सामाजिक र साहित्यिक संस्थाहरूमा अभिभावकीय भूमिका निर्वाह गरेका छन् र पछिल्लो पुस्तालाई सामाजिक कार्यमा निष्ठापूर्वक लाग्न प्रेरित गरेका छन्।
अनेसास बोर्ड अफ ट्रष्टी हुनुको साथै अनेसास पुरस्कार समितिकोअध्यक्षको रूपमा जिम्मेवारी सम्हालेर डा. उप्रेतीले संस्थाको संस्थागत विकास, साहित्यिक पुरस्कार व्यवस्थापन र चयनलाई चुस्तदुरुस्त पार्न अहम् भूमिका खेलेका छन्। यसरी प्रवासमा साहित्यिक संस्था बलियो बनाउने र साहित्यकार हुर्काउने काममा यिनको भूमिका रहँदै आएको हो।
अहिले भने “प्रकृत्या सह जीवनम्” कविताकृति मार्फत आफू पनि एक दार्शनिक कविको रूपमा प्रस्तुत भएका छन्। जीवनभर मस्तिष्कको भाषा बोलेको, मस्तिष्ककै मन्थन गरी बुद्धिविलास गरेको व्यक्ति एकाएक हृदयको कोमल भाषा बोल्दै कवितामा उत्रिनु एक प्रकारले जोखिम मोल्नु नै हो।
गोपी उप्रेतीले प्रकृत्या सह जीवनम् कृतिमार्फत यो जोखिम मोलेकै छन् । एउटा कविले के लेख्छ ? एउटा युग-सचेत कविसँग समाजको के अपेक्षा रहन्छ? आखिरी कवि पनि यही समाजको एक अङ्ग हो। एक जना इमानदार कविले लेख्ने भनेको पनि यही समाज हो, आफैँले जिएको परिवेश हो, आफैँले भोगेको भोगाइ हो अनि आफैँले देखेको दृष्टिकोण हो।
आफूले बाँचेको समाज, आफ्नो “सोसल-कन्स्ट्रक्ट”र त्यसैका बीचबाट विकास भएको आफ्नो विश्व-दृष्टिकोण एक स्रस्टाको सिर्जनामा मुखरित हुन्छ। योभन्दा अन्यथा भयो भने त्यो सिर्जना कृत्रिम र ढोंगसिवाय केही हुँदैन।
आफ्नो पेशाको क्षेत्रमा निष्ठाको जीवन बाँचेका गोपी ज्ञानको कुरा गर्दा सदा नवीन ज्ञानको चिन्तन गर्ने ऋषितुल्य लाग्छन्, वातावरणीय र सामाजिक न्यायका अभियनमा जुझारु लाग्छन्। व्यावहारिक जीवनमा सम्यक दृष्टि राख्ने उनी सबैसँग मित्रवत् र सरल लाग्छन् । यिनका कवितामा पनि यिनै कुरा प्रतिविम्बित भएका छन्।
काट रूख, काट्दै जाऊ,
तबसम्म काट्दै जाऊ,
जबसम्म एउटा रूख देख्दैनौ,
जङ्गल फाँड्दै जाऊ, तबसम्म फाँड्दै जाऊ,
जबसम्म,जङ्गल नै रहँदैन।
(श्राप पर्नेछ प्रकृति विनाशको)
पेशागत जीवनमा मानव अन्य जीवजन्तुको अस्तित्वको लागि पृथ्वीको स्वास्थ्य पहिलो र अपरिहार्य शर्त हो भनेर विश्वस्तरमै प्राज्ञिक बहस छेड्ने उप्रेती कवितामार्फत पनि मानिसले प्रकृतिको दोहन गरी निम्त्याएको विनाशप्रति औँलो ठड्याउँडै सह-अस्तित्वका लागि संरक्षणको शङ्खघोष गर्छन्।
उनले कविताहरूमा मानव दम्भका कारण प्रकृति विनाशको चपेटामा परेको कुरा उठाएका छन्। प्रकृति विज्ञान आफैँमा जटिल विज्ञान हो । त्यसलाई आम मानिसको भाषामा पस्कनु सजिलो काम हुँदै होइन।
त्यसमा पनि साहित्यिक विम्बको रूपमा प्रस्तुत गर्नु झन् चुनौतीको काम हो। आजको पर्या-साहित्य त्यही बाटोबाट हिँडेको छ। उप्रेतीका कतिपय कविता हेर्दा उनी यो यात्रामा सफल देखिन्छन। हेरौँ केही साक्ष्य –
सिम्बायोसीनको सिम्फनी, प्रकृतिको शाश्वत सङ्गीत,
सह–जीवनको रागमा, सबैले लगाउँछन् प्रेमको प्रित,
मानव र प्रकृतिसँगै बाँच्दछन्, सह-जीवनको तानमा,
हरित प्रकृतिमा नाच्दछन् सबै, सृष्टिको मधुर गानमा ।
(सिम्बायोसीनको सिम्फनी)
हे, नीलहरिता लेऊ,
हौ तिमी बहुकोषीय जीवनको, पहिलो बिहानी,
तिम्रो कोषमा बनेको छ, ब्रह्माण्डको सृष्टि योजनी,
तिमी रहेछौ सम्पूर्ण सिर्जनाको, चमत्कार जननी,
आरती उतार्दछन् सबै जीवले, गर्दै तिम्रो मननी ।
(नीलहरिता जीवनको महानायक)
साइनोवेक्टेरिया नामको सूक्ष्म जीवाणुलाई कविले ‘नीलहरिता लेउ’नाम दिएका छन् र विज्ञानले व्याख्या गर्न पनि जटिल विषयलाई कवितामा सरल र सूक्ष्म किसिमले व्यक्त गरेका छन्। यो कवितामा उनले साहित्यिक शिल्पको प्रयोग गरेर विज्ञान लेखेका छन् र साधारण पाठकले समेत केही न केही बुझ्ने गरी साइनोवेक्टेरियाको महिमा गान गरेका छन्।
उप्रेतीका कवितामा बुद्धदर्शनको बलियो प्रभाव देखिन्छ। प्रतीत्यसमुद्पाद को सिद्धान्तलाई उनले आफ्ना कवितामा सरल तरिकाले प्रस्तुत गरेका छन्। बुद्धदर्शनको ज्ञानले भन्छ-संसारका हरेक वस्तु चाहे ती भौतिक होउन् या अभौतिक, जैविक होउन् या अजैविक, ती कुनै पनि एक्लै अस्तित्वमा छैनन्, ती सबै अन्तरसम्बन्धित छन्।
धर्तीमा ठडिएको रूख एक्लै उभिएको होइन। एउटा रूखको अस्तित्वको लागि माटो, पानी, हावा, सूर्यको प्रकाश आदिको जरुरी पर्छ। त्यसमा अनेक अवयवको अन्तरसम्बन्ध र सह-अस्तित्वको भूमिका छ। यो कुरालाई कवि प्राध्यापक उप्रेतीले गहिरोसँग बुझेका छन्। उनले बुझेका छन्- एक कोषीय जीवदेखि सिङ्गै ब्रह्माण्डसम्मलाई सह-अस्तित्वको धागोले बाँधेको छ। यहाँ कोही, केही एक्लो छैन। हेरौँ एक कवितांश-
परस्पर निर्भर उत्पत्ति सिद्धान्त,
बुद्धले धेरै अघि बुझेका,
छैन कोही एक्लै बाँच्ने पृथ्वीमा,
सबै छन् अन्तरसम्बन्धमा बाँधिएका,
सबै प्राणी र घटना छन्,
एक-अर्काको सञ्जालमा जोडिएका,
कार्य-कारण सह-उत्पत्तिको सम्बन्धमा,
हुँदैनन् कोही कहीँ छोडिएका ।
(प्रतीत्यसमुद्पाद प्रकृति-संवाद)
यस सङ्ग्रहको शीर्ष कविता ‘बुद्धदर्शन प्रकृति सह जीवनम्’ पनि बुद्धदर्शनद्वारा लचप्पै भिजेको छ। यो कविताले बुद्धदर्शनले कसरी जीव उत्पत्ति र विकासको क्रमलाई बुझाउँछ र सहजीवनको उज्यालो कसरी देखाउँछ भन्दै बुद्धको मार्गमा हिँडेर प्रकृति बचाउन र मानवसभ्यातालाई जोगाउने सकिने कुरा उद्घोष गरेको छ।
बुद्धदर्शनको मार्गमा हिँडौँ, आज पृथ्वी प्रकृति बचाउन,
सिर्जनाका कथा धेरै बाकी छन्, यहाँ पृथ्वीमा रचाउन,
जीव उत्पत्ति र विकासको सङ्गीत-सिम्फोनी, बचाएर राख्नु छ,
मानव युगको अँध्यारोबाट सह-जीवनको उज्यालोमा जानु छ।
पेशागत जीवनमा वर्षौँ प्राकृतिक स्रोत व्यवस्थापन, दीगो विकास, वातावरणीय न्यायका लागि कुदेका उप्रेतीलाई वर्तमान विश्वले भोगेको जलवायु परिवर्तनको भयावह स्थिति र यसको जरोमा रहेको अर्थ राजनीतिको पनि राम्रै हेक्का छ।
पृथ्वी तात्तिएको, हिमालको हिउँ पग्लिन थालेको, जङ्गल मासिएको र नदीहरू प्रदूषित हुँदै गएको र यो नवउदारवादी विश्वमा शक्ति राष्ट्रहरूले प्रकृतिको दोहनमै रमाएर पृथ्वीको अन्त्यलाई निम्त्याइरहेको दृश्यलाई उनले कवितामा गम्भीरतापूर्वक उठाएका छन्।
हे विश्वका शक्तिशाली मालिकहरू !
के तिमी देख्दैनौ ? तिम्रो लालचले कमाएको, धनको मूल्य मृत्यु हो,
स्वर्गलाई छोएर बसेको, त्यो विश्वको ताज मुकुट,
तिम्रो प्रदूषणको तापले, जलेर नग्न हुँदैछ,
तिम्रो दम्भ र लोभको, यो आत्मघाती दौडको,
कति र कहिलेसम्म पृथ्वीले मूल्य चुकाउनुपर्ने हो ?
के देख्दैनौ तिमी ?
हिन्दकुश हिमालय, हिमक्षेत्र पग्लिरहेको,
र, अन्टार्टिका हिमक्षेत्र, जलिरहेको,
नदीहरू दूषित हुँदै, वनहरू मरिरहेको,
अझै पनि लोभमा अन्धो बनी, किन दौडिरहेको ?
(हिमाल रोइरहेछ)
उप्रेतीका कविताको मूल स्वर सह-अस्तित्व र सहजीवन नै हो। उनका कविता समग्रमा बुद्धदर्शनको आलोकमा आलोकित छन्, विज्ञानको टेकोमा उभिएका छन्, वर्तमान विश्वले भोगेको पर्यावरणीय सङ्कटको समाधानका खातिर जुटेका छन्।
यिनका लेखाइले वर्तमान उपभोक्तावादी युगमा पृथ्वीको अस्तित्व नै सङ्कटमा पर्ने गरी प्रकृतिको दोहन गर्न उद्दत् नीति, प्रविधि र अभ्यासहरूको विरोध गर्छन्। प्रकृतिलाई साधनको रूपमा मात्र हेर्ने मानवकेन्द्रित विश्वदृष्टिकोणभन्दा माथि उठेर यिनका कविताले मानव र प्रकृति बीचको खाडललाई कम गर्दै प्रकृतिकेन्द्रित दृष्टिकोणबाट हेर्न र व्यवहार गर्न आह्वान गर्छन्।
एक्काईसौँ शताब्दीको शुरुआतदेखि पाश्चात्य साहित्यमा विशेष चर्चामा आएको र पछिल्लो समय नेपाली साहित्यमा पनि नयाँ धारको रूपमा प्राज्ञिक बहस थालिएको पर्या कविताको अवधरणाअनुसार उप्रेतीका कविताले प्राकृतिक सौन्दर्यको बखानभन्दा माथि उठेर प्रकृतिको विनाशमा मानव सिर्जित भूमिकाविरुद्ध आवाज तेज पारेका छन्।
मानव समुदायको जिम्मेवारी र दायित्वबोधको कुरा गरेका छन् । मानव जातिको सर्वोच्चता होइन प्रकृतिमा मानवसहित सबैको सह-अस्तित्वको आवाजलाई बुलन्द पारेका छन् । दर्शन र विज्ञानको टेको लागेका यी कविताहरू शिल्पका हिसाबले मूलप्रवाहका कविताभन्दा केही पृथक् होलान् यद्यपि नेपाली साहित्यमा खास गरी पर्याकविताको प्राज्ञिक बहसलाई आमन्त्रण गर्न यथेस्ट छन्। यो नै नेपाली पर्याकविताको इतिहासमा एक प्राप्ति हो।
चाहिन्छ हामीलाई, बाँच्ने योजना नयाँ युगको सह–जीवनमा,
मानव र जीव–प्राणी बाँच्न सक्छन्, एक–अर्काको सम्मानमा,
यो पृथ्वी संसार सबैको, साझा विरासत हो हामी सबैको,
बाँच्ने साझा धरातल हो सबैको, होइन निजी कसैको ।
(सह–जीवन सन्तुलनको)
















Facebook Comment