प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

डिसी नेपाल
२४ साउन २०८२ १६:२४
16
Shares

भक्तपुर । गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र अली लाम्चो बनाइएको भातमा अड्याइएको छ। छरिता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका छन्। त्यही पातलाई नाङ्लो वा किस्तीमाथि राखेर रक्षाबन्धन धागो र सिन्दुरसमेत त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर यहाँका किसान खेतमा पुगेका छन्।

सुन्दा पनि कतिपयलाई अचम्म लाग्न सक्छ, भ्यागुताको पूजा र भ्यागुतालाई भात ! तर भक्तपुरका नेवार समुदायका किसानले सयौँ वर्षदेखि यो परम्परालाई जीवित राख्दै आएका छन्। जनैपूर्णिमाका दिन अधिकांश मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आआफ्ना खेततिर लाग्ने गर्दछन्।

आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रुपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन्। सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिन्छ। साङ्केतिक रूपमा सिन्दुर पहिर्‍याइन्छ। किसानले ऐनाका रुपमा (भातमा गाडिएका मूलाका चाना) देखाइदिन्छन्। किसानले खेतमै छाडेर गएको परिकार भ्यागुता आएर खाने विश्वास किसानले गर्ने गरेका छन्।

यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो परम्परा नौलो होइन। हरेक वर्षको जनैपूर्णिमाका दिन मान्दै आएको यो परम्परा प्रकृतिपूजक अर्थात् प्रकृतिका देवताका रुपमा किसानले भ्यागुताको पूजा एवं भात खुवाउने परम्परा गर्दै आएको स्थानीय संस्कृतिकर्मी प्रकाश धौभडेल बताउँछन्।

भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको उल्लेख गर्दै उनी भ्यागुताको गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको बताउँछन्। धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न आज भ्याइनभ्याइ हुने गर्छ। यो परम्परालाई स्थानीय नेपाल भाषामा ‘ब्यां चा जानका वानेगू’ भन्ने गरिन्छ। नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिएर सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउनुहुन्छ। भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिजिने र बाली बिगारिदिने कीटाणु खाइदिर किसानलाई सहयोग पुर्‍याउने भएकाले पनि भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उनी बताउँछन्।

खेतमा काम गर्दा जति पनि किराफट्याङ्ग्रा मार्छन् त्यसका लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन रहेको बताइन्छ। ‘भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणाली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ’, धौभडेल भने, ‘यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान् गुरु भ्यागुतो हो।’

भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुआत गरेको संस्कृतिविद् उनी बताउँछन्। यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ। त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.