ज्ञान र अज्ञानः दुवै एक बोझ
बोझ एक भार हो, जसले मानिसको दिमागलाई बोझिलो बनाउँछ। कुनै कुरा पढेर, सुनेर अथवा आफैं खोतलेर त्यसबाट केही कुराको ज्ञान संकलन गरी आफ्नो मस्तिस्कमा भण्डारण गरी आफ्नो जीवन कालसम्म निरन्तर बचत गरी मष्तिस्कको कुनै कुनामा राखी रहनु एक बोझ हो।
त्यस्तै अज्ञानपनि एक बोझ हो, जसको मस्तिस्क अज्ञान नै अज्ञानले भरिपूर्ण भइ एक किसिमको बोझ नै साबित हुन्छ। कुनै बिषयको सभामा गइ बस्दा त्यहाँ बोलेका, प्रवचन दिएका कुरामाथि आफ्नो समझदारी रहेन भने त्यो बिस्तारै बिस्तारै बोझ बन्दै भारी भएर आउँछ।
मनलाई स्वतन्त्र बनाउन अथाह ज्ञानको भारीले स्वतन्त्र बनाउन सक्तैन। ज्ञानको भारीले आफूलाई दास बनाउँछ। दासी मन स्वतन्त्र बन्न सक्तैन। कम ज्ञान लिँदा हामीलाई हलुका बनाउँछ। हात्ती बोक्नु भन्दा एक टुक्रा बहुमुल्य हीरा साथमा रहनु नै बढी श्रेयस्कर रहन्छ।
हजारौं गुरुहरुको शिक्षा दिक्षा र लाखौं किताब र धर्म ग्रन्थको ज्ञानले एउटा मानिसलाई कहिले पनि आनन्दित बनाउँदैन। यो आफ्नो स्वस्फुर्त बहुमूल्य ज्ञान भन्दा बाहिरबाट आयातित गरिएको ज्ञान जसले मानिसलाई जहिलेपनि ज्ञानको भ्रमको खाडलमा जाकीदिन्छ र सधैं उसको दास बनी रहनु पर्दछ।
एउटा दास जसको जतिसुकै ज्ञान भएपनि उ मालिक बन्न सक्तैन। ज्ञानको पुलिन्दाले उसलाई घमण्ड पैदा गराउँछ। घमण्डले उसको ज्ञानको मात चढ्छ र मातले उसलाई कहाँ पुर्याउँछ त्यसको कुनै ठेगान हुँदैन।
अत आयातित ज्ञानको मात्रा बढी भएमा र कमी भएमा दुबैले हामीलाई हानि पुर्याउँछ र यसबाट सधैं मानिसलाई चिन्ताको मालिक बनाउँछ। चिन्ताले डर पैदा गर्दछ। डरले मानिसलाई दिग्भ्रमित गर्दछ। दिग्भ्रमित अबस्था जीवनको निश्कर्षहीन अवस्था हो, जसले मानिसलाई कतै पनि पुर्याउन सक्तैन।
अतः मानिस सधैं आफैंमा जागरुक, स्वतन्त्र र चिन्तक बन्नु पर्दछ, जसबाट आफू भित्र रहेको अन्तरआत्मा जागृत गराउँछ। प्रत्येक दिन नयाँ चिन्तनबाट सुरु गर्ने बानी बसाउनु पर्दछ। सधैं मन ताजा रहन्छ। हिजो के हामीले जान्यौं त्यो बासी र मरिसकेको बिचार हो, जसले मानिसलाई स्वस्फुर्त कहिलेपनि बनाउन सक्तैन।
आफ्नो प्रत्येक दिनको ताजा बिचारलाई अलग्याई बितेका हजारौं बिचारलाई एकत्रित गर्दै पुलिन्दा बनाउंँदै लैजाने हो भने त्यो भार बनी चिन्तित बनाउँछ। बिचारका नयाँ नयाँ पानाहरु पल्टाउँदै जाउँ जसबाट सधैं ताजा बिचारको अनुभव रहोस् र बोझको अनुभब कहिल्यै नहोस्। यो हो ज्ञान र बिचारको समतामुलक सोच।
प्रश्न सधैं नयाँ र सकारात्मक रहोस् जसबाट उत्तर सधैं नयाँ र सकारात्मक आउँछ जसबाट मानिस र मानिसको अन्तरात्मा सदा उर्बर, सिर्जनशील, ताजा र स्वतन्त्र रहोस्। अज्ञान र ज्ञानलाई समता मुलक ढंगबाट लान सकिएन भने दुबैबाट आखीर भाग्नु पर्ने हुन्छ। ज्यादा ज्ञान आगोको डल्लो हो भने ज्यादा अज्ञान काल कोठरीको बास हो।
नजानेको कुरा मस्तिष्कलाई घोटेर जान्ने कामपनि एउटा घायल व्यक्तिको कठोर ओखती मुलोमात्र हो, जसबाट निको भई मुक्त हुन् धेरै धेरै समय लाग्दछ। प्रश्न आफैं गर र त्यसको उत्तर खोज्ने कामपनि आफैं गर।
यही हो जागृतिको प्रभात। अर्काको आयातित ज्ञानबाट मानिस जागृत, चेतनशील र उर्बर्शील बन्न सक्तैन। त्यो त धोकाको मार्गको एक सुरुवात हो। सुनेको, देखाएको र बुझाएको कुरा असत्य हुन सक्ने धेरै सम्भावना हुन्छ।
यसलाई बिश्वासको रुपमा लिइ त्यसलाई अनुशरण गर्दै जाने हो भने धोकाको मार्ग बढ्दै जाने निश्चित छ। मनलाई जहाँ लग्यो त्यहीँ जाने र त्यसको मिठास पिउने हो। मन एक यान्त्रिक चिज हो जस्तो छ त्यही काम गर्दछ।
गंगामा गए गंगाराम बन्ने र जमुनामा गए जमुनादास बन्ने यो हाम्रो मनको बिचारलाई अन्तर आत्मामा लैजाने हो भने हामी फेरि आत्माराम पनि बन्न सक्तछौं। अत स्वयंलाई जान्ने कोशिश गर्ने बीिन सधैं बसाल्नु पर्दछ। मनलाई सधैं ध्यानको मार्गतिर लैजानु पर्दछ र सधैं आफूलाई नदीको पानीका बहाब सरह बगाउनु पर्दछ, ताकी सधैं ताजा सोच र बिचारको जागरण रहोस्।
यसैबाट सबै प्रश्नको सबै सही उत्तर र निष्कर्ष प्राप्त गर्न सकिन्छ। ध्यान र बहावले संसारका धेरैजसो मानिसहरु मानब र महा-मानव बनेको उदाहरण प्रशस्त पाइन्छ। सत्य त्यहि हो जसको एकमात्र ज्ञानले सत्यवान बनाउँछ, प्राज्ञ बनाउँछ।
चीनका लाओत्से, मार्पा र मिलारेप्पा, भारतका संकराचार्य, स्वामी बिबेकानन्द, युरोपका येशु क्राइस्ट, भारतका गुरु नानक, सत्यसाई बाबा, हिमालयन योगी बाबा,लाहेरी बाबा ,रामकृष्ण परमहंस ,सन्त कबिर, योगानन्द स्वामी,नेपालका गौतम बुद्ध खप्तड बाबा, शिवपुरी बाबा आदि आदि सबै सत्यको ध्यान र श्वयमलाई जानी स्वतन्त्रपूर्वक रहन सामर्थवान बने।
जसले गर्दा आजसम्म अमर रहेका छन्। ग्रिकका सुकरातपनि निक्कै प्रसिद्ध दार्शनिक थिए। उनको सबै बिषयको सत्य ज्ञानले उनका अनुयाई अरिस्टोटल र प्लेटोपनि त्यस्तै दार्शनिक भइ संसार प्रसिद्ध हुन पुगे। सत्य जहिलेपनि झल्किन्छ, तर्क जहिलेपनि छचल्किन्छ भने आयातित ज्ञान जहिलेपनि भ्रममा अलमलिन्छ भने अज्ञान फेरि अन्धकारले त पुलिन्दा बोकी हिँडिरहेको हुन्छ।
किताबी ज्ञान, सुनेको कुरा, ठूल ठूला प्रवचनमा पण्डितले घुसाएका अनगिन्ती थप कुराहरुले मानिसलाई ज्ञान त दिन्छ। तर भ्रमको ज्ञान दिन्छ जुन हो वा होइन।
कुनै कुराको तथ्य पत्ता लगाउन अर्काको ज्ञानको सापटीले निष्कर्ष निकाल्न सकिँदैन।
आफूले आफैंलाई प्रश्न गरी आफैंबाट उत्तर निकाल्ने ध्यान गर्नु पर्दछ। ध्यान नै एकमात्र निचोड निस्किने मार्ग हो। आफ्नो विचार ताजा राख। बासी र मरेका बिचारले हामीलाई सधैं पिरोली रहेको हुन्छ र त्यसका अनगिन्ति सूचनाका सामाग्रीहरुले मस्तिष्कलाई सधैं बोझिलो बनाई रहेको हुन्छ।
सबैको कुरा र भनाइ सुन र आफ्नै निष्कर्ष निकाल ताकी त्यसबाट हामीलाई लाभ मिलोस् नत्र सबै कुरा मस्तिष्कबाट हटाई देउ र नयाँ खोजमा आफूलाई लैजाउ। ताजा बिचार र खोजले मानिसलाई सधैं ताजा बनाउँछ। जीजनमा हरेक मानिसले कति पढ्छन्, कति लेख्छन्, कति सुन्छन्, कति भन्छन्, कति देख्छन् र कति हेर्छन्।
तर ती सबै कुराहरु सम्झनाबाट कहाँ विलीन हुन पुग्छन् थाहा छैन। ती बिर्सिएका सबै सम्झनाहरु मष्तिष्कमा नअटाएरै बिलीन हुन पुगेको हो। जसको जे शक्ति हो, त्यतिमात्र गर्ने हो त्यो भन्दा बाहिर निस्कन खोजेमा पोखिन्छ र पोखिएका सूचनाहरु भिडमा सबैले कुल्चिएर धुलो पिठो हुन्छ र अर्थहीन हुन जान्छ। के काम त्यस्ता सूचनाका पुलिन्दाहरु जसले मस्तिष्कलाई बोझ बनाउँछ।
त्यसकारण विश्वका महान बैज्ञानिक अल्बर्ट आइन्स्टाइन घरको ठेगाना, टेलिफोन नम्बरहरु, साथीभाइको नामहरु र अन्य अनावश्यक तोलमोल र खेलो मैलोका कुराहरु मस्तिष्कमा राख्दैनथे। किनकि उनी आफ्नो बिषयको स्वअध्ययनको ध्यानमा एकनासले पानी झैं बगिरहन्थे अनि त कसैले गर्न नसक्ने काम गरेर बिश्व प्रशिद्ध बने।
अतः मस्तिष्कलाई सधैं आजाद बनाई हरपल ताजा र सत्यमा जान आत्माभित्रको जागृतिलाई जगाउ र जीवनमा एक एक गरी संकलन गरी जम्मा पारी राखिएको हरेक आयातित कुराहरुलाई हटाई निश्चल र निर्मल बनाउ आफैंबाट एक नयाँ बद्लाब ल्याउने कोशिश गर्ने बानी बसाल्नु पर्दछ।
ताकी फोहर ज्ञान र मैला कुराहरू सब दिमागबाट हटी जाओस् र जीवन सधैं ताजगी बनिरहोस्। जीवनमा आफूले गरेका सारा कुराहरुको आफै दृष्टिकर्ता बनोस् र राम्रो नराम्रो के छ आफैंले दृष्टि गोचर गरी आफैंले छानी हटाउने र अगाल्ने काम गरोस्। हाम्रो जीवन हरेक कुराहरुबाट आजाद हुन चाहन्छ। हरेक कुराहरुबाट मुक्त हुन चाहन्छ।
अज्ञानता फलामको पिँजडा हो भने ज्ञान सुनको पिँजडा हो। आखिर पिँजडा जस्तो भएपनि पिँजडा पिँजडा नै हो। आजाद बन्नलाई आफैं भित्रको ज्ञान जगाउ। आफैं प्रश्न गर र आफैंले उत्तर खोज्ने काम गर। अरुको ज्ञानबाट उत्तर खोज्ने काम नगर किनकि अर्काको आयातित ज्ञानले धोका हुन सक्तछ।
जसले हामीलाई कुमार्ग तिर लैजान सक्तछ। आफैं शिष्य बन र आफैं गुरु बन। आफैं प्रश्न गर र आफैं उत्तर निकाल। नसके त्यो कामको पछि नलाग। ध्यानको अभ्यास निरन्तर गर्दै गर र आफ्नो बिचारको बहाबलाई निरन्तर संलो बगेको पानी जस्तो बनाउ।
समुद्रबाट आफ्नो लोटामा जति पानी आउँछ त्यत्तिनै ग्रहण गर्ने गर। समुद्रको पछि नलाग। लागेमा यसले अन्त्यमा डुबाइ दिन्छ अनि “न रहे बाँस न बजे बाँसुरी”। अतः जीवनलाई सार्थक, ज्ञानलाई सार्थक र अज्ञानदेखि सजग रहने हो भने बासी कुराहरु दोहोर्याइ दोहोर्याइ नबोल र नगर पनि।
बर्तवानमा बाँच्ने गर, बर्तवानमै सोच्ने गर र सधैं वर्तवानमै काम गर्ने गर। हिजो बितेको कुराहरुले र भोलि हुने कुराहरुले मानिसलाई ताजगी बनाउन सक्तैन। मरिसकेको बिचार र पछि जन्मिने बिचारको प्रवाहले जीवन सफल बन्न सक्तैन। यो त कालको तीन खण्ड, किसिम र बिभाजन मात्र हो।
















Facebook Comment