बालेनले आफ्ना जनताको जनधनको सुरक्षा गर्दा विरोध किन?

अनुसा थापा
१९ भदौ २०८२ १०:१९
36
Shares

केही महिना अगाडि काठमाडौंको इन्द्रचोकस्थित भेडासिंह बाङ्गेमुढामा एउटा घरमा दिँउसै आगो लाग्यो। दिँउसो आगो लागेको भएपनि समयमै नियन्त्रणमा लिन सकिएन। साँघुरो गल्लीका बीच भएको सो घरसम्म दमकल पुग्नै हम्मेहम्मे पर्यो। सो आगलागीमा परेका उक्त घरमा बहालमा बस्ने दोलखाकी एक वृद्ध महिलाको मृत्यु भयो।

त्यसको केही समयअगाडि ललितपुरको धोबिघाटस्थित एक कबाडी गोदाममा आगलागी भयो। दमकल छिर्न सक्ने सडक नभएकाले आगोले ठूलो रुप लियो। सो घटनामा पनि धेरै घाइते भएका थिए। यो त उदाहरण मात्र हो। काठमाडौं उपत्यकाका सडकहरु निकै साँघुरो छन्।

जसका कारण दमकल बेलैमा निस्किएपनि साँघुरो सडकका कारण घटनास्थलसम्म पुग्नै सक्दैन। आगो लाग्नुको प्रमुख तीन कारण छन्। पहिलो-बिजुली सर्ट, दोस्रो-ग्यास लिक, तेस्रो-घनाबस्तीमा कबाडी गोदाम, ग्यास डिपो, पेट्रोलपम्प, पार्टी प्यालेस, वर्कसप, ड्राइभिङ सेन्टर र रिकण्डिशन राख्न दिनु। अहिले सबैको घरमा ग्यास र बत्ती छ।

खाना पकाउन सबैले ग्यासको प्रयोग गर्छन्। ग्यास ‘बम’ हो। कतिबेला पड्किन्छ भन्न सकिन्न। ग्यास सतर्क भएन चलाएन भने दुर्घटना हुन सक्छ। घरमा जति वटा कोठा हुन्छन्, त्यतिवटै ग्यास हुन्छ। एउटा ग्यास पड्किनेबित्तिकै अरु पनि पड्किन्छ। क्षतिको त अन्दाजा पनि लगाउन सकिँदैन।

बजारमा भएका ग्यासका सिलिण्डरहरु सबै थोत्रा पुराना छन्। कुच्चिएका, ठोक्किएका, रङ उत्रिसकेका सिलिण्डरहरुमा ग्यास भरेर बजार पठाउने क्रम जारी छ। तर, सरकारले त्यस्ता सिलिण्डर उद्योगीमाथि अनुगमन गरेर कारबाही गरेको पाइँदैन। बत्ती अत्यन्तै आवश्यक छ। तर, यो पनि एकदमै सतर्क भएर प्रयोग गर्नुपर्छ।

हाइभोल्टेज आउँदा करेण्ट सर्ट भएर आगलागी हुने जोखिम हुन्छ। पछिल्लो समय काठमाडौं उपत्यकामा घनाबस्ती छ। काठमाडौं, ललितपुर र भक्तपुरमै मानिसको चाप बढेको छ। र, त्यहीँ बस्तीको बीचमा छ-कबाडी गोदाम। कबाडी संकलन गरेर त्यस्ता गोदाममा ल्याएर छुट्याइन्छ।

गोदाममा प्लास्टिक, कागज, ड्रम, कार्टुनलगायत ह्वारह्वारती बल्ने सामानहरु हुन्छन्। केही कारणबस् आगो लाग्यो भने त्यो आगो बस्तीसम्मै पुग्छ। २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भए। उनको सरकारमा गृहमन्त्री बने- रामबहादुर थापा ‘बादल’।

उनले कालीमाटी र बल्खुको तरकारी बजार, उपत्यकाभित्रका बसपार्क, कबाडी गोदाम, ड्राइभिङ सेन्टर, वकर्सप, गाडीको पार्टपूर्जा पसललगायत उपत्यकाबाहिर सार्ने निर्णय गरेर ३५ दिने सूचना जारी गरे। यी व्यवसाय घनाबस्तीका बीच राख्दा उपत्यका अस्तव्यस्त बनेको, ट्राफिक जाम बढेको, प्रदूषण भएको र जोखिम बढेको ठहर गर्दै उनले सो निर्णय गरेका हुन्।

उपत्यकाबासी कबाडी संकलन गोदाम हटाउनुपर्ने, ग्यासको डिपो अन्यत्रै सार्नुपर्ने, पेट्रोलपम्प सुरक्षित स्थानमा सार्नुपर्ने माग राख्छन्। जुन सरकारले सुनुवाइ गरेको छैन। सरकारको पहिलो प्राथमिकताको जनताको ज्यान पर्नुपर्ने हो। विडम्बना, त्यसो हुन सकेको छैन।

कबाडी गोदाममा एमाले नेता र आजपाका अध्यक्ष प्रभु साहको लगानी भएको अहिलेको घटनाक्रमले देखाउँछ। प्रभु साहले एक कार्यक्रममा भनेका थिए, ‘कबाडी गोदामहरु काठमाडौंबाट हटाउन पाइँदैन।’ जनता उनलाई प्रश्न गर्छन्, ‘कबाडी गोदामका कारण केही भयो भने तपाईँले जिम्मा लिनुहुन्छ? भोटका लागि जनताको ज्यान दाउमा राख्न मिल्छ?’

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबासीले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई जिताए। उनलाई ६३ हजारभन्दा बढी जनताले मतदान गरेका छन्। काठमाडौंका लागि के गर्ने, नगर्ने? त्यो बालेनको अधिकार हो। काठमाडौंबासीको सुरक्षा गर्ने र काठमाडौंलाई सफा बनाउने बालेनको दायित्व हो।

उनले आफ्नो दायित्व पूरा गरिरहेका छन्। अनि प्रभु साह को हो, बालेनलाई यो गर, त्यो गर भन्ने? काठमाडौंका लागि प्रभु साह को हो? कोही न कोही। आफ्नो लगानी फस्छ भनेर काठमाडौंबासीको ज्यान जोखिममा पार्न मिल्छ? हिजो माओवादी जनयुद्धको क्रममा भूमिगत गएका उनले बैंक लुटेको र शहरी विकासमन्त्री हुँदा भ्रष्टाचार गरेको पैसा कबाडी गोदाममा लगाएका छन्।

त्यो लगानी डुब्छ भन्ने डरले उनले कबाडी गोदाम सञ्चालकहरुलाई उचालेका छन्। कबाडी गोदाम हटाउन पाइँदैन भनेर अहिले बुरुकबुरुक उफ्रिरहेका उनलाई काठमाडौंबासीले उपत्यकाभित्र छिर्नै दिँदैनन् अनि मात्र उनको चेत खुल्छ। त्यति नै माया लाग्छ भने कबाडी गोदाम सबै आफ्नो जिल्लामा राखे भो।

आफ्नो व्यक्तिगत फाइदाका लागि कसैले कसैको ज्यान जोखिममा पार्न पाउँदैन। काठमाडौंलाई अस्तव्यस्त र दुर्गन्धित बनाउन मिल्दैन। काठमाडौंको हित सोच्ने काम बालेनको हो। उनलाई आफ्नो काम गर्नबाट रोक्ने अधिकार कसैलाई पनि छैन। यो कुरा प्रभु साहजस्ताले बुझ्न आवश्यक छ।

कबाडी सञ्चालक जतिसुकै उफ्रेपनि महानगर पछि हट्नुहुँदैन। कबाडी गोदाम हटाउन महानगरबासीले महानगरलाई साथ र समर्थन गरेका छन्। महानगरले जेसुकै भएपनि कबाडी गोदाम हटाओस्। काठमाडौं उपत्यकामा अहिले कहीँ–कतै खाली ठाउँ छैन। सबैतिर घरैघर छ।

घरहरुको बीचमा कबाडी गोदाम छ। कबाडी गोदाममा केही कारणबस् आगलागी भयो भने छेउछाउका घरहरु पनि जल्छन्। व्यवस्थित शहर बनाउनका लागि शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यका विकास प्राधिकरण खडा गरिएको छ। तर, दुवै निकाय आफ्नो दायित्व निर्वाह गर्न चुकेको छ।

मन्त्री आउँछन्, आफ्नो व्यक्तिगत फाइदा लिन्छन्, जान्छन्। शहर कस्तो बनाउने ? उनीहरुसँग भिजन नै छैन। प्राधिकरण नाम मात्रको बनेको छ। प्रभु साह आफैंपनि शहरी विकासमन्त्री भए। तर, उनले शहर सुधार्नमा कुनै चासो देखाएनन्। जनताको ज्यान जोखिममा राखेर जनतालाई रातभर सुत्न नदिएर कबाडी गोदाम सञ्चालन गर्न मिल्छ ?

बालेनको काम देशभरका जनताले देखेका छन्। त्यसैले देशभरका जनताले उनलाई मनपराउँछन्। त्यसैले प्रभु साहले आफ्ना केही कार्यकर्ता उचालेर बालेनविरुद्ध नाराबाजी गर्दैमा केही हुने छैन। बालेनको केही पनि बिग्रिँदैन। बरु, बालेनसँग पंगा लिँदा प्रभु साहलाई नै क्षति हुन्छ।

कहिले माओवादी, कहिले एमाले, कहिले स्वतन्त्र त कहिले आजपा। सर्पले काचुली फेरेभन्दा छिटो पार्टी फेर्ने उनको आनाबानी जनतालाई राम्ररी थाहा छ। नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ। कर उठाउने, आफ्नो पालिका व्यवस्थित बनाउने, आफ्ना नगरबासीको जनधनको सुरक्षा गर्ने अधिकार स्थानीय तहलाई छ।

तर, यति सामान्य कुरा पनि प्रभु साहले बुझेनन्जस्तो छ। बालेनले संविधानले दिएको अधिकारभित्र रहेर कबाडी गोदाम हटाउन लागेका छन्। उनको संविधानप्रदत्त अधिकार कसैले खोस्न सक्दैन। यो कुरा प्रभु साह र उनीजस्ताले बुझ्न जरुरी छ। प्रभु साहले आफ्नो लगानी बचाउने र भोट बटुल्ने रणनीति बनाएका छन्। यो कुरा काठमाडौंबासीले बुझ्न आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.