पुस्तकालय र पुस्तक पढ्ने बानी
राणाशासनको पछिल्लो समयमा नेपालमा केही औँलामा गन्न मिल्ने विद्यालय थिए तथा काठमाडौँमा त्रिचन्द्र कलेज खुलिसकेको भएता पनि ज्ञानगुनका साधन र पुस्तकको दुर्लभताले गर्दा हुँदाखाँदाहरू भारतका विभिन्न शहरमा उच्च अध्ययन गर्न जाने गर्दथे।
नेपालमा नै अध्ययन गर्ने विद्यार्थी तथा पुस्तकका पारखीहरूले विभिन्न माध्यमबाट नेपालमा मगाएका पुस्तकहरू पनि भन्सार र सुरक्षा निकायद्वारा जाँच पडताल गरे पश्चात् मात्र काठमाडौँमा भित्रिन पाउँथे।
केही सम्भ्रान्त र दरवार निकटका व्यक्तिहरूका घरमा मात्र पुस्तकालय भन्न सुहाउने खालका पुस्तकले भरिभराउ कोठा हुने गर्दथे र त्यहाँ गएर पुस्तक तथा पत्रपत्रिका पढ्ने मोहले नै कतिपय व्यक्तिहरू उनीहरूसँग निकट हुने कोशिशमा रहन्थे।
मेरा हजुरबुवा पं. दीपकेश्वर शर्मा लोहनीले काठमाडौँको न्हैकन्तलास्थित आफ्नो निवासमा दुई कोठाको पुस्तकालय बनाउनु भएको थियो। उहाँको पुस्तकालयमा भारत र बेलायतमा प्रकाशन भएका कतिपय पुस्तकहरू र भारतबाट प्रकाशन हुने हिन्दी, अङ्ग्रेजी र संस्कृतका कतिपय पत्रपत्रिकाहरू नियमित रूपमा आउने गर्दथे रे।
यो वि.सं. २००० भन्दा पनि अघिको कुरा हो। त्यति नै बेला उहाँ हालको त्रिचन्द्र कलेजमा अवस्थित वीर पुस्तकालयमा काम गर्नुहुन्थ्यो। वीर पुस्तकालयमा निकै महत्वपूर्ण ऐतिहासिक दस्तावेजका पाण्डुलिपी पनि राखिएका थिए।
त्यतिबेलाका बडागुरुज्यू जो राजा र राणाको दरवारमा निकै प्रभावशाली व्यक्ति थिए, उनी हाम्रा हजुरबुवाको विद्वताको इष्र्या गर्थे रे भन्ने कुरा विभिन्न व्यक्तिका संस्मरणबाट थाहा लाग्न आएको थियो।
महाकवी लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम तथा अन्य समकक्षी साहित्यकारहरूले समेत सम्मानपूर्वक पुज्ने गरेका थिए उहाँलाई। उहाँ जोगमण्डलीका कविहरू जोगवीरसिंह उदास, चक्रपाणि चालीसे, दधिराम मरासिनी, पुण्यप्रसाल लोहनी, बाबुराम आचार्य, लेखनाथ पौड्याल, सिद्धिदास अमात्य आदिका समकक्षी हुनुहुन्थ्यो।
मोतिराम भट्टले वाराणसीमा मोतीमण्डलीको स्थापना गरेका थिए। उनीबाटै प्रभावित भएर नेपालमा (खासगरी काठमाडौँमा) जोगमण्डली जस्ता केही साहित्यिक जमघट हुने स्थानहरू भूमिगत रूपमा खुलेका थिए। त्यस्ता मण्डलीमा भारतबाट ल्याइएका विभिन्न विषयका पुस्तकहरू वाचन गरेर तिनको परिचर्चादेखि साहित्यिक रचनाहरूका वाचन पनि गर्ने गर्दथे उतिबेलाका स्रस्टाहरू।
पछि वीर पुस्तकालयबाट बडागुरुज्यू कै पहलमा वृटिश रेजिडेन्सीका एक उच्च पदस्थ अनुसन्धातालाई कैयन् महत्वपूर्ण पुस्तकका पाण्डुलिपी तथा अन्य दस्तावेजहरू अध्ययनको निम्ति दिइएकोमा ती विद्वानले ती मध्येका धेरै पुस्तकहरू फिर्ता नदिएर कलकत्ता प्रस्थान गरकोले बडागुरुज्यूले राणा प्रधानमन्त्रीलाई दीपकेश्वर लोहनीले पुस्तकहरू हिनामिना गरेको कुरा सुनाएकाले उहाँका हितैषीहरूको सल्लाहमा उहाँ सो पदबाट राजीनामा दिएर भारतको वाराणसीमा स्वनिर्वासनमा जानुभयो।
यो घटनाको कारण उहाँले मानसिक सन्तुलन समेत गुमाउनु भएको थियो। कमलमणि दीक्षितले कुनै लेखमा लेखे अनुसार ती बेलायती अनुसन्धाताले आफूले लगेका अधिकांश दस्तावेज पछि फिर्ता गरेका थिए र दीपकेश्वर लोहनीमा लागेको दाग मेटिएको थियो।
त्यस्तै केशरशमशेरले आफ्नो अध्ययनको शौक पूरा गर्न आफ्नो केशरमहलमा हजारौँ पुस्तकको संग्रह गरेका थिए। २००७ सालको प्रजातान्त्रिक आन्दोलन पश्चात् उनको संग्रहका पुस्तक र केशरमहल पनि उनको इच्छा बमोजिम नै सरकारी पुस्तकालयमा परिणत भयो।
त्यहाँ ६०,००० भन्दा बढी पुस्तक संग्रहित थिए। त्यति मात्र नभई त्यो पुस्तकालयमा तेल चित्रदेखि अन्य धेरै महँगा सजावटका सामान पनि थिए। २०७२ सालको महाभूकम्पमा सो भवन नराम्ररी क्षतिग्रस्त हुन पुग्यो तर त्यो भवनको हालै मात्र रेट्रोफिटिङ सकेर सो पुस्तकालयलाई ब्युँताउने काम भइरहेको छ।
काठमाडौँको पुलचोकस्थित नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय पुस्तकालय पनि महाभूकम्पको बेला भत्कन पुगेको थियो। त्यहाँ भएका हजारौँ पुस्तक तथा छापा र पत्रिकाहरू कपडाका पोकामा बाँधेर थिमीको कुनै सरकारी कार्यालयको छिँडीमा राखिएको भन्ने सुन्नमा आएको थियो भने यसरी राखिएको पनि अब त १० वर्ष भइसकेको छ।
कतिपय पुस्तकहरू अब ढुसी र ओसले गर्दा काम नलाग्ने भइसकेका होलान्। सरकारले जमल (कान्तिपथ) स्थित त्रिभुवन विश्वविद्यालयको खाली जग्गामा एक आधुनिक भवन बनाएर राष्ट्रिय पुस्तकालयलाई त्यहाँ सार्ने योजना बनाएको पनि वर्षौं भइसकेको छ, तर कुनै प्रगति भएको छैन।
बरू केशर पुस्तकालयमा नै सो पुस्तकालयलाई गाभेको भए पनि हुने थियो होला नि। धेरै वटा भन्दा भएकालाई गाभेर भए पनि व्यवस्थित बनाउनु उत्तम र कम खर्चिलो उपाय होला।
आजभन्दा ४०-५० वर्ष अगाडिसम्म अरब मुलुकका सम्भ्रान्त व्यक्तिहरूले आफ्नो वैठकमा ठूला ठूला र्याक राखेर इन्साक्लोपेडिया र अन्य पुस्तकका ठेली सजाउने गर्दथे तर उनीहरूमध्ये अधिकांश अनपढ नै हुन्थे, त्यसैले त्यहाँ भएका कुनै पनि पुस्तक उनीहरूले पढेका हुँदैनथे होलान्-फोटोसम्म त हेरे नै होलान्।
त्यतिले पनि केही ज्ञान त हासिल भयो होला। तर यसरी विद्वता रूपी पाखण्डको प्रदर्शन गर्ने तत्कालीन अरब र अन्य मुलुकका सामन्तका सन्तानहरू आज निकै शिक्षित हुँदै गएकाले उनका बैठकमा आजको दिनमा सजिएका वा उनका अशिक्षित अग्रजले जम्मा गरेका पुस्तकहरूमा उनका विद्वत चक्षु परिसकेका होलान्।
राणाशासन कै बेलामा मुलुकका विभिन्न ठाउँमा ससाना पुस्तकालयहरू खोलिएको कुरा इतिहासमा पढ्न पाइन्छ। तर राणाशासनको अन्त पछि भने यो क्रमले निकै निरन्तरता पाएको हो। राजधानीमा अमेरिकन, वृटिश, रसियन, जर्मन, फ्रेन्च, चिनियाँ, भारतीय आदि पुस्तकालय खुले।
ती पुस्तकालयहरू ज्ञान आर्जन गर्न चाहने मानिसहरूका निम्ति चार धाम नै बनेर रहेका थिए। खासगरी बेलुकीपख त्यहाँ पुस्तक तथा पत्रपत्रिका र अखवार पढ्न जानेको ठूलो लर्को लाग्ने गर्दथ्यो।
ती पुस्तकालयहरूमा विभिन्न विषयका वृत्तचित्र र ती मुलुकका कथानक चलचित्रहरू समेत प्रदर्शन हुने गर्दथे भने विभिन्न विद्वानहरूका मन्तव्य र प्रवचन समेत पनि सुन्न पाइन्थ्यो। तर आज आएर त्यस्ता पुस्तकालय र सांस्कृतिक केन्द्रहरू बिस्तारै बन्द हुन थालेका छन्।
जंगबहादुरको बेलायत यात्रा ताका उनलाई लण्डनको पुस्तकालय देखाउन लग्दा सो पुस्तकालयको कुनाको एक टेबुलमा झ्याम्म दाह्री-जुङ्गा र लामो जिङ्रिङ्ग परेको कपाल पालेका तथा कालो ओभरकोटले जाडोबाट जोगिन शरीर ढाकेका मोटा व्यक्ति किताबहरूको ठेली लिएर अध्ययनमा मग्न थिए।
जंगले त्यतिबेला उनलाई देखे कि देखेनन् कुन्नि तर ती महान् चिन्तक कार्ल मार्स्कले भने पछि आफू आजको मुम्बईमा कामको सिलसिलामा आउँदा लेखेको एक टिपोटमा इन्डियन (नेपालको) राजकुमारलाई आफूले लण्डनको पुस्तकालयमा देखेको कुरा बताएका छन् अरे।
जंगबहादुरलाई बेलायतको पुस्तकालयले जे जस्तो प्रभाव पारे वा नपारे पनि उनले पछि नेपाल आएर आफ्ना परिवारका बालबच्चालाई औपचारिक शिक्षाको अवसर दिने हेतुले थापाथली दरवारभित्र एउटा विद्यालय स्थापना गरे र भारतको कलकत्ताबाट शिक्षक र पाठ्यपुस्तकहरू पनि झिकाए।
पछि त्यहि विद्यालय काठमाडौँको सेतो दरवारको ढोकानिर र त्यसपछि जमलको हालको परिसरमा सरेर दरवार स्कूल वा आज दरवार हाई स्कूल (भानु माध्यमिक विद्यालय)को रूपमा लोकप्रिय बन्न पुग्यो।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निकै भव्य छ भने त्यहाँ पत्रपत्रिका तथा पुस्तक र सो विश्व विद्यालयबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थीका शोधपत्रले पनि भरिभराउ छ। नेपालमा प्रकाशन भएका अति पूराना पत्रपत्रिका र दस्तावेजहरूको पनि त्यहाँ राम्रो संग्रह छ।
यो पुस्तकालय पनि २०७२ सालको महाभूकम्पबाट प्रभावित भएको थियो। आज यो पुस्तकालयको अत्याधुनिक भवन पनि भारत सरकारको सहयोगमा तयार भएर सञ्चालनमा आइसकेको छ। नेपालमा प्रकाशन हुने सबै पुस्तक तथा पत्रपत्रिकाहरूको आइएसबिन नम्बर त्यहाँ दर्ता गरेर हासिल गर्नु पर्दछ।
यो विश्वविद्यालय जस्तै काठमाडौँ विश्वविद्यालय र अन्य ठूला शिक्षण संस्थाका पनि आफ्नै आधुनिक पुस्तकालयहरू छन्। सरकारका विभिन्न मन्त्रालय तथा ठूला कार्यालयमा समेत पुस्तकालयहरूको व्यवस्था गरिएको छ। त्यस्तै नेपाल प्रज्ञाप्रतिष्ठान र मदन पुरस्कार गुठीका पुस्तकालयमा पनि पुस्तक तथा पत्रपत्रिकाको ठूलो संग्रह छ।
पुस्तकालयहरूले आफ्नो परिसरमा पुस्तक अध्ययन गर्ने वाहेक आफ्ना सदस्यहरूलाई पुस्तक सापटमा लिएर घरमा पढ्ने र फिर्ता बुझाउने सुविधा पनि दिएको हुन्छ। तर नेपालका सबैजसा पुस्तकालयहरूमा पुस्तक सापट मागेर लग्ने तर फिर्ता नगर्ने परिपाटीले जरै गाडेको छ।
त्रिभुवन विश्वविद्यालयमा आजभन्दा ४०-४५ वर्ष अगाडि विद्यार्थी कालमा पुस्तक सापटी लिएका कैयन् विद्यार्थी जो आज उच्च ओहदामा पुगिसकेका छन्, उनले पनि आजसम्म ती पुस्तक फिर्ता गरेका छैनन्।
बेला बेलामा अखबारमा प्रकाशन हुने पुस्तक नबुझाउनेहरूको नामावलीमा आज उच्च ओहदामा पुगेका मानिसहरूको समेत नाम आउने गर्दछ। तर हाल विभिन्न उच्च पद ओगटेका मान्छेहरू र कैयन् अशिक्षित मन्त्री तथा नेताहरूलाई सलाम गर्न मन लाग्छ, जसले विश्वविद्यालयमा पढ्ने अवसर नपाएकाले पुस्तकालय नदेखेका र उनीहरूले कमसेकम पुस्तक लगेर फिर्ता नगर्ने कुसंस्कारबाट टाढै रहने अवसर पाए।
तर समाजमा यस्ता शिक्षित व्यक्ति पनि छन् जसले उच्च पदस्थ कर्मचारी वा कुटनीतिज्ञ छँदा होस् वा कसैको घरमा जाँदा होस् मौका मिल्यो कि पुस्तक चोर्ने गरेका छन्। व्यक्तिगत पुस्तक पढ्न लगेर नबुझाउने त नेपालमा निकै गण्यमान्य व्यक्तिहरू नै छन्, सानाको त के कुरा गर्नु।
हिजोआज सबै प्रकारका शिक्षण संस्थाहरूमा पुस्तकालयको व्यवस्था गरिएको हुन्छ। त्यस्ता पुस्तकालयहरूमा समेत पुस्तक हराउने, चोरी हुने तथा पढ्न लगेको पुस्तक फिर्ता नगर्ने क्रम बढिरहेको देख्न सकिन्छ। अर्कोतर्फ पुस्तकालय जाने संस्कृतिमा नै ह्रास आउन थालिसकेको छ।
नेपालमा सार्वजनिक पुस्तकालयहरू खाली खाली हुन थालेका छन् भने पुस्तक वा पत्रपत्रिकाको विक्री पनि पहिलेको दाँजोमा निकै घटेको छ। धेरै शिक्षित व्यक्तिहरूसँग कुरा गर्दा इन्टरनेटमा नै सबै सूचना तथा रोचक कुरा पढ्न पाउने तथा इ-बुकको पनि जमाना भएकोले कागजी पुस्तक तथा पत्रपत्रिकाको अब कुनै औचित्य नभएको कुरा बताउँछन्। तर यो कुराको पुरापुर समर्थन गर्न हामी जस्ता पुस्तक प्रेमीहरूको मनले मान्दैन। पुस्तक आफैंमा एउटा जिउँदो साथी हो।
हामीले जुन पुस्तक पढ्न शुरु गरेका हुन्छौँ, सो पुस्तकका लेखकसँग भौतिक रूपमा भेट नभए पनि उनी हाम्रा मित्र बन्न पुग्छन् र उनले भनेका कुराहरू हामी निकै ध्यानपूर्वक ग्रहण गर्छौं।
महत्वपूर्ण कुराहरू पढिएका त्यस्ता लाइनहरूलाई हामी चिनो लगाएर समेत राख्ने गर्दछौँ। राम्रा पुस्तकहरू पढिसकेपछि पनि हामी त्यस्ता पुस्तकमा लेखिएका कुरालाई सन्दर्भ सामग्रीको रूपमा बरोबर पढिरहन्छौँ र आफ्नो लेखपढ गर्ने कोठाको दराजमा सजाएर राखिरहन्छौँ।
केही वर्ष अघि हाम्रो कृपा पब्लिकेसन हाउसले प्रकाशन गरेका केही पुस्तकहरू लिएर भक्तपुर नगरपालिकाका मेयरलाई भेट्न जाँदा उनले सो पालिकामा विज्ञापन माग्न धेरै पत्रपत्रिकाका प्रतिनिधिहरू आउने गरेका तर सो नगरपालिकाले विज्ञापन नदिने नीति बनाएको र बरु कुनै पनि पुस्तक वा पत्रिका विक्री गर्ने हेतुले कोही आएमा सो पालिका मातहतका प्रत्येक वडामा भएका करिव ३० वटा पुस्तकालयका लागि आवश्यक प्रति खरिद गरिदिएर पाठकहरूलाई अध्ययन गर्ने खुराकी उपलब्ध गराउने गरेको निकै मननयोग्य कुरा सुनाए।
यसरी पुस्तक पढ्ने बानी बसाल्नमा भक्तपुर उपमहानगरपालिकाले गरेको सत्कार्यको सह्राहना गर्नै पर्ने हुन्छ। पोखराको नयाँसडकस्थित हिमालयन रिडर्स कर्नर एक पुस्तक विक्री गर्ने ठूलो पसल भए पनि त्यहाँ मज्जाले दिनभरी बसेर चिया-चमेना गर्दै विभिन्न विषयका पुस्तक पढ्ने पुस्तकालयशैलीको सुविधा नै उपलब्ध गराइएको छ।
त्यति मात्र नभई नयाँ पुस्तकहरूको सार्वजनिकीकरणका साथै अन्य गोष्ठी र अन्तक्रिया गर्ने सुविधा पनि त्यहाँ उपलब्ध छ। यस्तो सुविधा मुलुकको गाउँ-शहरमा व्यापक रूपमा उपलब्ध गराइने हो भने ज्ञानको ज्योति बाल्न र पुस्तक पढ्ने बानी बसाल्न निकै सहयोग मिल्ने थियो।
नेपाली भाषाका पुस्तकहरू प्रकाशन गर्ने नीजि क्षेत्रका प्रकाशन संस्थाहरू पनि निकै खुलेका छन् र प्रत्येक वर्ष सयौँ राम्रा पुस्तकहरू प्रकाशन हुने गरेका छन्। केही समयदेखि भने यी पुस्तक प्रकाशन गृहहरूको पहलमा हुने पुस्तक प्रदर्शनीहरूले गर्दा पनि पुस्तकको विक्री बढ्न थालेको छ।
कतिपय विद्वानहरूले ।आफूले पढेका र संग्रह गरेका पुस्तक तथा महत्वपूर्ण दस्तावेज र व्यक्तिगत डायरीहरू उनको मृत्यु पश्चात् संरक्षण गरेर राख्ने सन्तानहरू प्रायः नहुने भएकाले ती सबै विस्तारै हराउँदै जान्छन्। विद्वानका छोराछोरी विद्वान नै हुन्छन् भन्ने कुनै आधार हुँदैन।
एकाध अध्ययनशीन सन्तानले मात्र आफ्ना अग्रजका कृतिहरू जोगाउने र प्रकाशन गरिदिने काम गर्दछन्। नत्र नगद प्राप्त हुने भौतिक सम्पति मात्र बाँडचुँड गरेर पुस्तक, कागजी दस्तावेज र पुराना कपडा र सामान हराउने गरी त्यागि दिन्छन्।
पश्चिमा मुलुकमा पनि विगतमा कतिपय स्रस्टा र संगीतकारका लिखित सिर्जनाहरू मिठाइ, मासु वा अन्य सामान विक्री हुने पसलमा सामान पोको पार्ने काममा प्रयोग भएर कुनै विद्वानको हातमा परे पछि मात्र त्यसको महत्व बारे थाहा लागेर त्यस्ता कागजात कहाँबाट ल्याइयो भन्ने खोजी गरेर केही हदसम्म बचाउन सफलता मिलेको थियो।
भारतमा पुस्तकालय संस्कृति निकै प्रचलित र जीवन्त छ। ठूला ठूला पुस्तकालयहरू आज पनि सबै शहरमा देख्न पाइन्छ। त्यस्तै नयाँ तथा पुराना पुस्तकको विक्री पनि व्यापक छ।
अष्ट्रेलियाको केही वर्ष पहिलेको भ्रमणमा त्यहाँका शहरहरूका विशाल बजार (मल)मा समेत पुस्तक अध्ययन कक्षहरू बनाइएको पाइयो। किनमेलको दौरान केही बेर सुस्केरा लिन अध्ययनशील मानिसहरू त्यस्ता कक्षमा पुग्दा रहेछन् र मन परेका पुस्तक पढ्दा रहेछन्।
भारतमा मोवाइल लाइब्रेरीको चलन पनि आएको छ। केही विदेशी मुलुकमा झैं भारतमा पनि मोटरगाडीलाई घुम्ती पुस्तकालय बनाएर ठाउँ ठाउँमा रोक्दै पढ्ने र पुस्तक सापटी लिने, फिर्ता बुझाउने व्यवस्था मिलाइएको हुन्छ। अन्य धेरै मुलुकमा जस्तै त्यहाँ पनि कफी पसलहरूमा केही तखता राखेर पुस्तकहरू सजाउने चलन छ।
नेपालको काठमाडौँ र अन्य केही ठूला शहरहरूमा पनि यस्तो चलनको शुरुवात भएको छ। रमाइलो कुरा त के भने यस्ता कफी शपमा हिजोआज युवाहरू पनि जम्मा हुने र विभिन्न प्रकारका कफीको चुस्की लिँदै पुस्तक पढ्ने, इन्टरनेटमा ज्ञानविज्ञानका कुरा पढ्ने र सामाजिक सञ्जालमा रुमल्लिने गर्दछन्।
नेपालमा कफी कल्चरको ठूलो विकास भएको छ र यहाँ उत्पादन हुने कफीको स्वाद पनि निकै आकर्षक छ। नेपालको कफीको माग विश्व बजारमा बढ्दै गएको भए पनि हालको उत्पादनले मुलुकको माग पुरा गर्न समेत हम्मे परिरहेको छ।
विदेशी पर्यटकहरू नेपाल आउँदा निकै खुशी हुने एउटा कारण नेपालमा विभिन्न प्रकारका स्वादिला कफीको सुलभ मूल्यमा जताततै उपलब्धता हुनु पनि हो, जुन कुरा दक्षिण एशियाका अन्य मुलुकमा यति सहजताका साथ पाइँदैन। कफी बनाउने तालिम लिएका नेपाली (बारिस्टा)हरूको विदेशमा पनि राम्रै माग छ भन्ने सुनिन्छ।
हालैको क्यानाडाको भ्रमणको बेला टोरन्टोको भित्री शहरका विभिन्न टोलहरूमा सडकपेटीमा नै हाम्रो यहाँ परेवा पाल्ने काठका साना गुँड भए जस्ता हावापानीबाट बच्ने दराज बनाएर बच्चा र ठूलाले पढ्ने २५-३० वटा पुस्तक राखिदिएको नजारा हेर्न पाइयो। सँगै राखिएको बेन्चीमा बसेर खुला आकाशमा पुस्तक पढ्ने र सोही दराजमा ती पुस्तक र घरका केही रोचक पुस्तक पनि सुरक्षित तवरले राखि दिने गर्दा रहेछन् मानिसहरू।
टोरन्टोको डाउन टाउनमा घुम्दा डन्डास स्क्वायरमा एउटा घुम्ती पुस्तकालय देख्ने मौका मिल्यो। पुस्तक पढ्ने वाहेक खरिद गर्ने व्यवस्था समेत भएको सो पुस्तकालयमा बालबालिकादेखि सबै उमेरका मानिसहरू घाम ताप्दै रुँगिरहेका थिए।
क्यानाडाका सार्वजनिक पुस्तकालयहरूमा ।आफूले लगेको पुस्तक बुझाउने मेसिनहरू हुँदा रहेछन् र आफ्नो इलेक्ट्रोनिक परिचय कार्ड सो मेसिनको स्क्यानरमा देखाए पछि आफ्नो परिचय खुल्ने र फिर्ता बुझाएका पुस्तकमा रहेको बार कोड पढेपछि फिर्ता बुझाएको लगत राख्ने रहेछ। नयाँ पुस्तक सापट लिने तरिका पनि त्यस्तै। यसरी पुस्तकालयको व्यवस्थापनको स्वरुपमा पनि नविनता आउन थालेको छ।
देश-विदेशमा पुस्तकालय जाने र पुस्तक पढ्ने बानीको निम्ति गरिएका राज्य, स्थानीय वा समुदाय स्तरका पहलहरूको कदर गरेर हामीले पनि यो कार्यलाई अगाडि बढाउनु पर्दछ।
सामाजिक सञ्जाल वा विद्युतीय माध्यमबाट ज्ञान हासिल गर्ने चलन बढे पनि भौतिक रूपमा पुस्तक पढ्ने र अध्ययन गर्ने वानी निकै राम्रो हो भने यसलाई बढावा दिन सबै सरोकारवालाहरूले विशेष पहल गर्नु पर्दछ।
-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
















Facebook Comment