पुस्तक र व्यक्तित्व: सँगै हिड्यौं जस्तो लाग्ने स्वरसम्राट

सुरेश राई
२९ भदौ २०८२ १२:४०
204
Shares

स्वरसम्राट नारायणगोपाल नेपाली सांगीतिक धरातलमा एक सर्वोच्च शिखर बनेर उभिएका छन्। भर्खरै जेन-जी युवाहरूको आन्दोलनमा केही युवाहरूले उनको शालिक धोएर सफा गरिरहेको पनि देखियो।

त्यस्तो रापताप र आक्रोशकाबीच स्वरसम्राटको शालिकप्रती उनीहरूले देखाएको सम्मानले उनी नयाँ पुस्तामाझ पनि उतिकै प्रिय छन् भन्ने कुराको पुष्टि हुन्छ।

मैले पहिलो पटक उनको गीत दशैंमा टीका थाप्न जाँदा मेरो मावलीगाउँका एक जना हजुरबुबाको मुखबाट सुनेको थिएँ। यद्यपि त्यो गीत गाउने व्यक्ति नारायणगोपाल हुन् भनेर चाहिँ मलाई थाहा थिएन।

पुष्पाम्पा (पुष्पाको पिता)भनेर चिनिनुहुने हजुरबुबाले रक्सीले बेस्सरी मातिएपछि चिम्सा आँखा झिमझिम पार्दै गाउनु भएको थियो ‘विरही माया अधुरो रह्यो बिर्सनु कसरी, तड्पाइदिन्छ जलाइदिन्छ याद आउँछ बेसरी….’

अरूहरूले उहाँलाई जिस्काउँदै भनेका थिए ‘पुष्पाम्पा बाजे मातेपछि जहिल्यै यही एउटै गीत गाउन थालिहाल्छ। पिल्पिल आँसु पनि पो झारीहाल्छ त!’ सबै गलल हाँसेका थिएँ।

मलाई भने गीतको धुनले भित्रैदेखि छोइसकेको थियो। शब्दशब्दले म हुरूक्कै भैसकेको थिएँ। मेरो बालक हृदय र मनमस्तिष्कमा कहिले नभुलिनेगरी एउटा अमर धुन दर्ता भइसकेको थियो।

जब म मावलोबाट घर फर्किएँ मेरो मुखमा विरही माया अधुरो रह्यो झुन्डिसकेको थियो। मेरो निम्ति त्यो मावलोको कोसेली जस्तो भैदियो। म शब्दहरू यताउता पारेर भएपनि त्यो गीत पटक पटक गुनगुनाउथेँ।

पछि कक्षा पाँचमा नेपाली विषयमा स्वरसम्राट नारायणगोपाल भनिने कुनै गायकको जीवनी पढियो। मोटो चस्मा र ढाक टोपी लाएको उनको एउटा श्यामश्वेत तस्वीर थियो त्यस जीवनी पाठमा। मोटो ओठ भएका ती गायकको त्यो तस्वीर मलाई खासैखासै मन पर्दैनथ्यो। त्यस पाठमा उनले गाएका गीतहरू भनेर ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ..’ , ‘स्वर्गकी रानी..’,

‘म त लाली गुराँस भएछु..’ आदि उल्लेख गरिएका थिए तर ‘विरही माया…’ त थिएन। त्यसैले मैले ठूला भनिएको ती गायकलाई बेवास्ता गरेँ र मलाई तिनी खासै विशेष लागेनन्। पाठमा उल्लेख गरिएका गीतहरू भने मैले कहिले सुनेको थिइनँ।

निकै पछि मात्र मैले विरही माया गाउने गायक तिनै नारायणगोपाल हुन् भनेर थाहा पाएँ । सायद रेडियो नेपालको कुनै कार्यक्रममा सुने हुँला। त्यसपछि फेरि किताब पल्टाएर हेर्दा मलाई ती गायकको जीवनी पनि मन पर्‍याे। पहिले भद्दा लागेको तस्वीर पनि निको लाग्यो। नाम नारायणगोपाल पनि त्यसैत्यसै प्यारो प्यारो लाग्न थाल्यो

गत वर्ष अर्थात २०८१ सालमा काठमाडौ पब्लिकेशनले उनै नारायणगोपालको जीवनी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ प्रकाशन गर्‍याे। पाँच कक्षामा हुँदा नेपाली किताबमा एक पाठ जीवनी पढेको लगभग २५ वर्षपछि एक सिङ्गो पुस्तक जीवनी पढ्ने अवसर जुर्‍याे।

त्यसमा पनि पुस्तकका लेखक अरू कोही नभएर नेपाली मात्र होइन विश्वकै कला,साहित्य,संगीत र सिनेमाका ज्ञाता बहुआयामिक व्यक्तित्व प्रकाश सायमी हुनुहुन्छ।

नेपाली सिनेमा इतिहासका एक सफल निर्देशक ,पत्रकार, लेखक , कला समीक्षक सायमीका नारायणगोपाल सम्बन्धि अन्तर्वार्ताहरू हेर्दा मलाई जहिले लाग्ने गर्थ्यो उहाँले यी सब कुराहरूलाई मौखिकबाट पुस्तकमा लिपिबद्ध गरे कति जाती हुनेथियो र आखिर त्यही भयो।

प्रकाश सायमीको नाम मैले आफू सानो हुँदै ख्याल गरेको रहेछु। एक जिज्ञासु बालकको रूपमा म फिल्मको सुरूमा आउने कलाकारहरूको नामावली पनि याद राख्थेँ । पृथिवी,अवतार ,जमीन, सीमाना जस्ता फिल्महरूमा मैले उहाँको नाम स्क्रिनमा देखिसकेको थिएँ।

पछि पत्रपत्रिकाहरूमा एउटा पासपोर्ट साइजको ब्ल्याक एन्ड ह्वाइट फोटो सहितको प्रकाश सायमीका विभिन्न लेखहरू पनि पढ्ने अवसर जुर्‍याे। तर यी फोटोवाला नाम र ती फिल्महरूमा आउने नाम एकै व्यक्ति हुन् भनेर चाहिँ मलाई थाहा थिएन। त्यो कुरा थाहा पाएको चाहिँ मैले आफू कक्षा ११ तिर पढ्दाहुँदी मात्रै हो । त्यो रहस्योदघाटन मेरो लागि एक प्रिय सम्झना बन्न गयो।

यसरी जसको बारेमा जीवनी लेखिएको हो र जसले जीवनी लेख्नुभएको हो ती दुबै व्यक्तित्वहरूसँग मेरो ‘स्विट सरप्राइज’ यादहरू जोडिन पुगेको छ।

पुस्तकको कुरा गर्नु पर्दा यो अहिले बजारमा अभाव भएकोले गर्दा दोस्रो संस्करणमा गैसकेको छ। मैले भने आफू दक्षिण कोरियामा कार्यरत भएकोले यतैबाट काठमाडौमा भएको कान्छो भाइ सुरजलाई पुस्तक बिमोचन भएको भोलिपल्टै किनिहाल्न अह्राएको थिएँ।

तत्कालै नेपालबाट कोरिया आउने एक जना मित्रको हातालाएर भाइले पठाइदिएको थियो र पुस्तक हाता लाग्नासाथ मैले बडो प्रेमपूर्वक स्वाद लिएर पढेँ ।

पुस्तकमा स्वरसम्राट नारायणगोपालको जीवनकथा चलचित्र झैँ छर्लङ्ग पारिएको छ। अझ म त पुस्तकमा आधारित भएर भविष्यमा कुनै दिन स्वरसम्राटको बायोपिक पनि बनोस् भन्ने कामना राख्दछु।

यसमा नारायणगोपालका जन्म , वाल्यकाल,किशोरकाल,युवा अवस्था हुँदै स्वर्गारोहणसम्मका विस्तृती त हुने नै भयो त्यसका साथसाथै नेपाली सांगीतिक जगतका थुप्रै तथ्यहरू पनि उजागर गरिएको छ।

मित्रसेन, रत्नदास प्रकाश ,धर्मराज थापा , बच्चु कैलाश , बटुकृष्ण ज्वाला हुँदै अघि बढेको नेपाली आधुनिक गीत संगीतको फराकिलो फाँटमा स्वरसम्राटले कसरी मचक्क पाइला टेकेका थिए र मितेरी संगीतको युग हुँदै कसरी अगाडि बढेका थिए भनेर बडो ‘डिटेलिङ’मा उल्लेख गरिएको छ।

पुस्तकमा स्वरसम्राटको साङ्गोपाङ्गो जीवन कथा मात्र खुरुखुरु भनिएको छैन कि उनको व्यक्तिगत आनिबानी र स-साना व्यबहारहरू पनि उल्लेख गरिएको छ । जसले अझ रोचकता थपेको छ। उनी खानुलाई ‘भत्काउनु’ भन्थे।

उनको आफ्नै किसिमको एउटा नृत्य हुने गर्थ्यो जसलाई उनी ‘हनुमान डान्स’ भन्थे लगायत थुप्रै रोचक प्रसंगहरू उल्लेख गरिएको छ । साँच्चै भन्ने नै हो भने आम दर्शक/स्रोताहरूलाई कुनै पनि महान कलाकारको बारेमा उसले पाएका सफलताहरूप्रती जति चासो हुन्छ त्यति नै मात्रामा उसका व्यक्तिगत स्वभावहरूप्रति पनि चासो रहन्छ।

त्यस कुरालाई राम्ररी बुझ्नु भएका सायमीले पुस्तकमा पटकपटक स्वरसम्राटका विनोदपूर्ण बानीहरूको चर्चा गरेका छन्। कालजयी गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ..’ को रेकर्डिङमा भएको त्यस्तै एउटा प्रसंग पुस्तकमा छ।

उक्त गीतको संयोजनमा सिन्थेसाइजरको मद्दतले हावाहुरी र चट्याङ पार्नु पर्ने थियो। चट्याङ कहिले र कहाँ पार्ने भन्ने विषयमा उपस्थित संगीतकर्मीहरूमाझ विचार मिलेन र विवाद उत्पन्न भयो।

एकातिर बसेर चुपचाप बहस सुनिरहेका स्वरसम्राटले अचानक जुरुक्क उठेर भन्नुभो ‘गड्याङ गुडुङ पनि कहिँ टाइमिङमा हुन्छ र ? जतिबेला जहाँ पनि हुनसक्छ। त्यसैले आफ्नो हिसाबले जहाँ पनि हुन्छ। एउटा राख न ‘

पुस्तक लेखक सायमीले आफूले बोल्ने गर्नु भएकै मौखिक शैलीमा लेख्नु भएको अनुभूत हुन्छ । जसरी कुराकानीको क्रममा कहिलेकाहीँ प्रसंगहरू एक अर्कामा गुजुल्टिएर बुझ्न कठिन हुने अथवा एउटा प्रसंगले अर्को प्रसंग तानिँदा मुल प्रसंग नै अल्मलमा पर्ने हुन्छ त्यसरी नै कतैकतै पुस्तकमा पनि छिचोल्न दोहोर्याएर पढ्नु पर्ने प्रसंगहरू आउँछन्।

नारायणगोपाललाई पढ्न चाहनेहरू सबै संगीत बुझेका या कला क्षेत्रलाई स्पर्श गरेका मात्र नभएर आम पाठक पनि हुन्छन्। उनीहरूलाई पढ्न सहज हुनेगरी केस्राहरूलाई छुट्याएर अझ थोरै कथात्मक शैली अपनाइएको भए सुनमा सुगन्ध हुने थियो कि जस्तो प्रतीत हुन्छ।

स्वरसम्राट नारायणगोपाल पुस्तक मार्फत लेखक सायमीले नेपाली सांगीतिक इतिहासकै दस्तावेजीकरणमा ठूलो गुण लगाउनु भएको छ। आजको नयाँ पुस्तालाई एक अमूल्य उपहार बनेको यो पुस्तक आफैमा एक ऐतिहासिक घटना बनेर जानेछ। यसका निमित्त सायमी धन्यवाद तथा बधाईका पात्र हुनुहुन्छ।

स्वरसम्राटको सन्दर्भमा नेपालको एक ख्याति प्राप्त राजनैतिक विश्लेषक एवं लेखकले गरेको टिप्पणी सम्झन्छु। उनले ‘गल्ती हजार हुन्छन्…’ भन्ने गीतको दोस्रो पङ्ती ‘एक्लै तिमी नआऊ म मातिएको बेला’लाई उधृत गर्दै समाजको लागि गायिका तथा मोडल ज्योति मगरभन्दा नारायणगोपालका गानाहरू हानिकारक रहेको बताए।

विद्वान भनिएका सार्वजनिक व्यक्तिद्वारा यस्तो टिप्पणी आउनु दु:खद मात्र होइन दुर्भाग्यपूर्ण हो। अर्कोतर्फ एकाध मानिसहरूले नारायणगोपालले व्यक्तिगत पीर वेदनाका गानाहरू मात्रै गाए।

देश र राष्ट्रको लागि खासै गाएनन् भन्ने तर्कहीन कुरा गरेको पनि बेलाबेला सुन्न पाइन्छ। उनीहरूले नारायणगोपाललाई सम्पूर्णतामा नसुनेर त्यस्तो धारणा राखेका हुन्। त्यसको लागि स्वरसम्राटका गीतहरू राम्ररी सुन्न आग्रह गर्नु सिवाय अरू के नै सकिन्छ र?

उसो त नारायण गोपाल बित्नुहुँदा म जन्मिएर आमाको काखमा दूधे बालक थिएँ। त्यसैले उनीसँग भेट हुन सक्ने कुराको त सम्भावनै रहेन। विश्वविद्यालयका दिनहरूमा जब म झरी परिरहेको काठमाडौलाई बसको झ्यालबाट नियाल्दै हेडफोनमा उनलाई सुनिरहेको हुन्थेँ मलाई उनी त्यतै कतै छन् कि जस्तो आभास हुन्थ्यो।

आजभोलि पनि जब म हातमा कफीको मग लिएर मोबाइलमा नारायण गोपाल प्ले-लिस्ट घन्काउँछु, म उनलाई वर्षौंदेखि चिन्दछु जान्दछु जस्तो महसुस गर्छु। उनले गाएका प्रत्येक गीत हृदयको नजिक भए जस्तो लाग्छ। ती मेरै गीत हुन् जस्तो लाग्छ।

उनलाई प्रत्यक्ष नदेखे/नभेटे पनि ‘दुईटा फूल देउरालीमा..’ गीतले भने झैँ कतै टाढा जाँदाखेरी सँगै हिँड्यौ जस्तो लाग्छ। भेटे भेटे जस्तो लाग्छ । बोले बोले जस्तो लाग्छ र यही अदभूत आत्मीय चमत्कारले नै उनी नारायणगोपाल भएका हुन् – दि ग्रेट नारायणगोपाल।

बाम्राङ खोटाङ, हाल : ह्वासङ , द.कोरिया




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.