घरबारविहीनहरूको जीवन
हालैको क्यानाडाको भ्रमणमा घरबारविहीनहरू धेरै ठाउँमा देखियो। नेपालमा जस्तै बजार क्षेत्र, पार्क, बस तथा रेल स्टेशन र पर्यटकीय स्थलहरूमा पनि घरबारविहीनहरू भेटिए।
घरबारविहीनहरू मध्ये युवायुवती तथा वृद्धवृद्धासमेत रहेका र तिनको मुहार र फोहरी शरीरबाटै तिनीहरूमध्ये अधिकांशले विभिन्न प्रकारका लागुऔषध सेवन गर्ने गरेको भान हुने। कतिपय वृद्धवृद्धा हातमा रेडियो लिएर समाचार वा अन्य केही कार्यक्रम सुनिरहेका तथा पुस्तकसमेत पढिरहेका भेटिने।
सरकारी भत्ता र खाने-बस्ने सुविधा त तिनले पनि पाउलान् नै, तर पनि किनमेल गर्न आउने मानिसहरूले खानेकुरा वा नगद देलान् भनेर ठूला ठूला सपिङ मलहरू बाहिर डेरा जमाएर बस्ने यस्ता घरबारविहीनहरूलाई त्यहाँको प्रशासनले पनि यदाकदा मात्र कडाइ गरेर हटाउँदो रहेछ। यसो हुनुमा ती घरबारविहीनहरू अन्य आपराधिक क्रियाकलापमा संलग्न नभएकोले पनि हुन सक्छ।
अधिकांश घरबारविहीनहरूले सपिङ मलका ट्रली आफ्ना ओड्ने-ओछ्याउने तथा अन्य सामान राख्न तथा ओसार्न प्रयोग गर्दा रहेछन्। राति पार्क तथा अन्य खाली स्थानमा सुत्न साना ट्रेकिङ पाल तिनै ट्रलिमा ओसारेर प्रयोग गर्दा रहेछन्। तर त्यसरी लगेका ट्रली फिर्ता गर्ने जमर्को त्यहाँका मलहरूले गर्दैनन् रहेछन्।
सायद त्यस्ता सामान जबर्जस्ती फिर्ता लिन खोज्दा घरबारविहीनहरूको अधिकार माथि खेलबाड गरेको भनेर नराम्रो सन्देश जाने भएकोले पनि हुन सक्छ। त्यसैले ग्राहकहरूलाई त्यस्ता ट्रली सकेसम्म प्रयोग पछि पसलको भित्र ल्याएर छोड्न वा बाहिर सोको निम्ति बनाइएको सुरक्षित छहारीमा राखिदिन सूचना पनि टाँसिएको हुँदोरहेछ।
संयुक्त राज्य अमेरिकाका शहरहरूमा पनि घरबारविहीन र मागेर गुजारा गर्नेहरूको कमी छैन। न्यूयोर्कको म्यानहाटन र अन्य इलाकामा त यस्ता घरबारविहीन र माग्नेहरूको ठूलो संख्या रहेको छ। त्यस्ता इलाकाहरूमा अपराध र असुरक्षाको अवस्थामा पनि निकै वृद्धि भएको छ।
गरिवी, लागु औषधको दुव्र्यशन र अशिक्षासमेत जिम्मेवार रहेका यी इलाकामा सुरक्षा निकाय पनि पस्न हिच्किचाउँछन्। क्रिस्मस जस्ता चाडपर्वमा त्यहाँका ठूला होटेलहरूले घरबारविहीनहरूलाई त्यहाँ पाक्ने खाना होटेलमा नै बोलाएर खुवाउने पनि चलन छ भने प्रायः विकसित राष्ट्रमा घरबारविहीन भनेर पहिचान गरिएका र सडकमा बस्नेहरूलाई बिहान-बेलुकीको खाना खुवाउने मेस पनि चलाइएको हुँदो रहेछ।
क्यानाडाको एउटा प्रख्यात फास्टफुड दोकान टिम हर्टनमा कफी पिउन पस्दा एकजना मगन्ते तथा फोहरी देखिने अधवैंशे युवकले त्यहाँ भित्र पसेर काउन्टरमा आफुले त्यहाँको शौचालय प्रयोग गर्न खोजेको जनाउ दिँदै अनुमति पाएपछि शौचालयमा गएको देखियो। मगन्तेको शिष्ट तथा अनुशासित अनुरोध र रेष्टुरेन्टवालाको सदाशयता दुवै उदाहरणीय र सह्राहनीय थिए।
घरबारविहीनहरू सडक तथा अन्य सार्वजनिक स्थानमा विना कुनै काम बसिरहँदा रहेछन् भने कतिपय बेरोजगार तर विभिन्न कला जान्ने प्रतिभाशाली मानिसहरू भने सडक, रेल स्टेशन र मानिसहरूको चहलपहल हुने चोकहरूमा बसेर आफ्ना कलाको प्रदर्शन गरेर जिविका चलाइरहेका पनि देखियो। यस्तो दृश्य युरोपका रेल तथा बस स्टेशन, पर्यटकीय डबलीहरू र मुख्य बजार र सडक पेटीमा पनि प्रसस्त देखिन्छ।
विभिन्न प्रकारका चटक देखाउने, बाजा बजाउने तथा गाउने, हँसाउने र अन्य कला प्रस्तुत गरेर बटुवाहरूलाई आकर्षित गर्ने तथा अर्थोपार्जन गर्ने पेशा सबैजसा विकसित मुलुकमा जस्तै क्यानाडामा पनि लोकप्रिय रहेछ। कोही कोही त संगीतका निकै प्रतिभावान साधक पनि भेटिँदा रहेछन्।
भ्याङ्कुभरको डाउन टाउनको एक चोकमा एकजना अधवैँशे महिलाले प्रख्यात अङ्ग्रेजी धुनहरू आफ्नो भोइलिनमा बजाइरहेकी थिइन्। अझ अचम्म त भारतीय पर्यटकहरूको त्यहाँ भिड लाग्ने वित्तिकै उनले राजकपुरको एउटा लोकप्रिय सिनेमाको गीतको धुन हुबहु बजाएर त्यहाँ उपस्थित धेरै भारतीयहरूको मन जित्न तथा केही रकम बक्सिस पाउन समेत सफल भइन्। सायद उनलाई अन्य मुलुकका पर्यटकहरू आउँदा उनिहरूका मौलिक संगीत बजाउन पनि आउँछ होला।
भारतमा सर्पलाई बिँड (एक प्रकारको फुकेर बजाउने बाजा) बजाएर काबुमा राख्ने तथा बाँदर, भालु आदि नचाउने र डोरीमा हिँड्ने तथा अन्य व्यायामहरू र चटकको प्रदर्शन गरेर जिविका चलाउने पेशा निकै पुरानो हो। यो पेशा भारतमा अङ्ग्रेज आउनु भन्दा पनि पहिले देखिको हुनुपर्दछ।
पहिलेका राजामहाराजाहरूको पालामा आजजस्ता आधुनिक मनोरञ्जनका साधनको विकास नभइसकेकोले जादू, संगीत, नृत्य तथा चटक र सडक मनोरञ्जनले प्रधानता पाएको थियो।
भारतमा मात्र होइन, यस्तो मनोरञ्जन अरब, मिश्र र चीन तथा सुदुर पूर्व, अमेरिका वा युरोपमा पनि थियो। नेपालमा विभिन्न प्रकारका नृत्य, गायन, कुस्ती र चटक तथा सडकमा खेलाइने जुवाजन्य खेलाहरू प्रचलित थिए आयआर्जनको निम्ति।
त्यस्तै आधा रातमा ‘फेरी’ लगाएर भूतप्रेत भगाउने विश्वासका साथ फिरन्तेहरू भोलिपल्ट बिहान घरघरमा गएर फेरी लगाएको खर्च माग्ने चलन आजसम्म पनि छ भने चन्द्र र सूर्य ग्रहण पश्चात् ग्रहणको उपलक्ष्यमा घरघरमा गएर दान लिने चलन पनि नेपालमा अझै छँदैछ।
नेपालको राजधानी लगायत विभिन्न तल्ला पहाडी बस्तीहरूमा चार-पाँच दशक अघिसम्म लेकबाट जाडोयाममा तल बेसीमा झरेका थाक्से र अन्य जातीले सडकमा भेडा-च्याङ्ग्रा, जिम्मु, सुकुटी, छुर्पी, भालु तथा अन्य जीवजन्तु र चरा र सर्प आदिका औषधि बनाइएका मासु र अन्य जडिबुटी बेच्न राख्दा र आफ्ना संस्कृतिका नाचगान गर्दा उनीहरूको चालचलन, जीवनशैली र आनीबानी हेर्नेहरूको भिड लाग्ने गर्दथ्यो।
हामी साना छँदासम्म काठमाडौँको भृकुटीमण्डपको हाल कलेजहरू भएको क्षेत्र र टुँडिखेलमा जाडोयाममा ससाना तम्बु (पाल) टाँगेर बसेका यस्ता फिरन्ते आदिवासीहरू भेटिन्थे। यिनीहरू घरघरमा घण्टी, डम्फु र ढ्याङ्ग्रो बजाउँदै वौद्ध मन्त्र र स्लोक अलाप्दै खासगरी जिम्मु, नुन र सियो तथा जडीबुटी तथा जंगली जनावरका सुकाइएका मासु आदि बेच्न वा आवश्यक सामानसँग साट्न आउँथे।
त्यतिबेला नेपालमा आजजस्तो भारतबाट आयोडिनयुक्त नुन आयात गर्ने चलन थिएन र ढिक्के नुन खासगरी तिव्वतबाट व्यापारी र यस्तै फिरन्तेहरूले ल्याएर बेच्थे। हिङ्ग, बेसार, टिम्मुर र अन्य दुर्लभ खाद्य वस्तु बेच्ने अर्का थरी फिरन्तेहरू पनि हुन्थे।
जाडो छल्न बेसी झरेका हिमाली फिरन्ते जातीहरू उच्च धरातलीय ठण्डी क्षेत्रमा बस्ने भएकोले घाम लागेको बेला घाम तापेर अस्थायी बास भएको ठाउँमा नै बस्थे र यताउता धेरै हिँड्दैनथे। किनकी काठमाडौँको घमाइलो वातावरणमा पनि उनीहरूलाई केही गर्मी नै हुने गर्दथ्यो।
हुस्सु र कुहिरोले उपत्यका डम्म ढाकेको बेलामा मात्र घरघरमा आउँथे उनीहरू। माथिदेखि तलसम्मको कालो वा खैरो लामो, न्यानो मौलिक लुगा लगाएका र भित्र पट्टि सेता टल्किने कमिज जस्ता लुगा लगाएका र लामो कपाललाई रातो धागोले बाटेका र न्यानो टोपी लगाएका तथा स्थानीय कपडा र सामग्रीले बुनिएका लामा बुटजुत्ता लगाएका र हातमा माला जप्ने फोहरी जस्ता उनीहरू डम्फु बजाएर घर घरमा आफ्ना भाषा र संस्कृतिका नाच–गान गर्ने र आफ्ना सरसामान बेच्ने काम गर्दथे।
मुलुक जति नै विकसित भए पनि त्यहाँ सडकमा बस्ने घरबारविहीनहरूको कमी नहुने रहेछ। एकथरी मानिसहरू सायद कुलत र एक्लोपनाको कारण स्वघोषित घरबारविहीन भएर सडकमा बस्ने गर्दा रहेछन् भने अर्का थरी दिमागी बिमारीले गर्दा।
क्यानाडामा लागु औषध दुव्यशन गर्ने सडक मानवहरूलाई सरकारले नै गाँजाको बन्दोवस्त गरिदिँदो रहेछ। त्यसै पनि क्यानाडामा गाँजा र गाँजाबाट बनेका पेय पदार्थदेखि अन्य प्रकारका यस्ता लागु पदार्थ जिम्मेवारीपूर्वक सेवन गर्ने छुट रहेछ।
त्यस्तै लागु औषधको सेवन ज्यादा गरेर अकस्मात बिरामी परेकालाई तगर्याउने औषधि पनि सरकारले नै उपलब्ध गराउँदो रहेछ। यसो भन्दैमा सरकारले लागु पदार्थ सेवनको निम्ति प्रोत्साहन गरेको नभई आदत परेकाहरूलाई सोको निम्ति तड्पेर बस्न नपरोस् भन्ने ध्येय रहेछ।
स
डकमा धुम्रपान गर्नु क्यानाडामा स्वाभाविक रूपले लिइँदो रहेछ। आजभन्दा तीन-चार दशक अघिसम्म धुम्रपान विश्वभरमा नै अति लोकप्रिय अम्मल हुने गर्दथ्यो। चुरोट, बिँडी र सिगारको विज्ञापन निकै सामान्य हुने गर्दथ्यो भने हवाइजहाज र सार्वजनिक स्थानमा पनि मानिसहरू धुम्रपान गर्दथे।
सडकका कुनाकाप्चा तथा होटेल, रेष्टुरेन्टमा जताततै धुवाँ र चुरोटका ठुटा फ्याँकिएका भेटिन्थे। तर हिजोआज धुवाँ सेवनले स्वास्थ्यमा हानी गर्ने र त्यस्ताको सामु बस्नेलाई पनि नकारात्मक असर पर्ने भएकोले विकसित राष्ट्रहरूदेखि नेपाल जस्ता कम विकसित मुलुकमा पनि धुम्रपानमा निकै कडाइ गर्न थालिएको छ। चीनमा पछिसम्म पनि धुम्रपान गर्नेहरूको संख्या अधिक हुने गरेकोमा हिजोआज कडाइ गर्न शुरू गरिएको छ।
नेपाल र अन्य अविकसित मुलुकमा गाउँगाउँमा पुरुष, महिला र बालबच्चा समेत धुम्रपान गर्ने गर्दछन् भने हिजोआज यस्तो आदतमा केही कमी आउन थालेको छ। आदिवासीहरूमा धुम्रपान अझ पनि लोकप्रिय अम्मल हो भने दक्षिण एशियाका निम्न र मध्यम वर्गमा सूर्ती, खैनी तथा यस्ता वस्तुबाट बनेका गुट्का, पान र अन्य मसला प्रचुर मात्रामा खाने नराम्रो बानी बसेको छ। काठमाडौँको सडकमा फ्याँकिने फोहरमा अधिकतम मात्रा यस्ता गुट्खा र सूर्तीका खोलको हुने गर्दछ।
यस्ता वस्तुको आयातमा नेपालले अर्बौं रुपैयाँ बर्बाद गरिरहेको छ भने सरकार सजिलोसँग राजश्व आउने भएकोले मौन छ। तर यस्तै वस्तुको सेवनले मुटु, छाती तथा अन्य अङ्गका जटिल रोग लाग्नाले वर्षेनी हजारौँ मानिसको मृत्यु हुने र औषधोपचारमा पनि ठूलो रकम खर्च हुने गरेको छ।
नेपाल, भारत वा दक्षिण एशिया र एशिया कै कतिपय मुलुकमा घरबारविहीन र सुकुम्बासीको बेग्ला बेग्लै पहिचान र परिभाषा हुँदोरहेछ। यो भेगमा अहिलेका अधिकांश सुकुम्बासी भनाउँदाहरू राजनैेतिक आडको भरमा ठूलै समूहमा पसेर पर्ति जमीनहरू ओगटेर बस्ने गर्दछन् भने यस्ता विकासशील राष्ट्रमा अनाथ बालबालिकालाई माग्न र लुट्न तथा चोर्न लगाएर पैसा कमाउने गिरोह नै सक्रिय छन्।
भारत, पाकिस्तान र बंगलादेशजस्ता अति घना जनसंख्या भएका दक्षिण एसियाली मुलुकमा बच्चाहरूको चोरी गरेर उनीहरूलाई अपाङ्ग बनाइ माग्न लगाउने ठूला ठूला गिरोहहरू नै हुने गर्दछन्।
त्यहाँका सरकारले यस्ता कामलाई दुरुत्साहित गर्ने जति नै प्रयास गरे पनि सो सफल हुन सकेको छैन। भुटान एउटा यस्तो मुलुक हो जहाँ घरबारविहीन र माग्नेहरूको संख्या नगण्य छ।
राजनीतिक, धार्मिक र जातीय द्वन्द्व, दैवीप्रकोप, भोकमरी तथा गरिवी, विभिन्न प्रकारका अपराध र अन्य धेरै आर्थिक तथा सामाजिक कारणले मानिसहरू घर छोडेर शहरमा आइ सडकमा बस्ने गर्दछन्। सडकमा बस्ने घरबारविहीन ज्यादातर एकल हुनुका साथै उनीहरूको कुनै माग नहुने र बटुवा र बजारका रेष्टुरेन्ट र अन्य व्यापारीले स्वेच्छाले दिएका खाना खाने, लागुऔषध र पाएमा मदिरा पनि सेवन गर्ने खालका हुन्छन्।
यिनमा एकापसमा असुरक्षित यौन सम्सर्ग पनि हुने भएकोले औषधीको निम्ति प्रयोग हुने साझा सिरिन्ज र यौन साझेदार (सेक्स पार्टनर) मार्पmत एचआइभी सर्ने तथा अन्य रोगव्याधिको शिकार हुने सम्भावना बढी हुन्छ।
नेपालका शहरी क्षेत्रका खोलानाला र मठमन्दिरमा बस्ने गरेका अधिकांश सुकुम्बासी भनिने मानिसहरूलाई विभिन्न राजनीतिक दलले प्रश्रय दिएर राखेको र आन्दोलन र विरोधका कार्यक्रममा र चुनावको बेलामा आफ्नो पक्षमा उतार्ने गरिएको भन्ने समाचारहरू सुन्नमा आउने गर्दछन्। त्यसैले वास्तविक सुकुम्वासीको पहिचान गरेर उनीहरूलाई रोजगारी र वासस्थानको वन्दोवस्त गरिनु उचित हुन्छ भने अन्यलाई हटाउनु पर्ने हुन्छ।
भारतको मुम्बई र फिलिपिन्सको मनिला तथा ब्राजिल र अन्य घना जनसंख्या भएका कतिपय शहरहरूमा विश्वकै सबैभन्दा विशाल स्लम क्षेत्र छन्। ती क्षेत्रमा खाँदिएर बस्ने निम्न आयका मानिसहरूको संख्या लाखौँमा रहेको हुन्छ भने त्यस्ता क्षेत्रमा उनीहरूको आफ्नै संसार र नियम हुन्छ।
जो कोहीलाई त्यस्ता स्लममा जान पनि निकै मुस्किल हुन्छ। तर अर्को तर्फ स्लममा बस्नेहरूले सञ्चालन गर्ने लघु तथा साना उद्यमले पुरै मुलुकको अर्थतन्त्रमा प्रभाव पारेका उदाहरणहरू पनि छन्।
क्यानाडामा देखेको अर्को रोचक कुरा त्यहाँका आदिवासीको लागि सरकारले छुट्टाएका विशेष क्षेत्रहरू हुन्। त्यस्ता क्षेत्रमा त्यहाँका आदिवासी वाहेक कोही पनि पस्न पाउँदैनन्। त्यस्ता वस्तीमा बस्नेहरूको जिविकोपार्जन र संस्कृतिको बचावको निम्ति त्यहाँको सरकारले विशेष बजेट उपलब्ध गराउने गर्नुका साथै उनीहरूले परम्परागत रूपमा अवनाउने इलम जस्तै माछा मार्ने, शिकार गर्ने आदि प्रयोजनको निम्ति विशेष क्षेत्रको व्यवस्था गरिदिएको हुँदो रहेछ।
नेपालमा सडक बालबालिकाहरूको संख्या अधिक भए पनि हालका दिनमा केही कमी आएको महसुस भएको छ भने अपाङ्गता भएका व्यक्ति र कवाडी सामान खोजेर हिँड्ने महिलाहरू दक्षिणी सिमाबाट विना रोकटोक राजधानी लगायतका विभिन्न शहरमा पस्ने, माग्ने तथा अन्य गतिविधिमा सामेल हुने कुरा निकै सामान्य हुँदै गएको छ।
सडक बालबालिकाहरू पनि लागुऔषध, धुम्रपान, असुरक्षित यौन सम्सर्ग र आपराधिक क्रियाकलापमा निकै संलग्न हुने गर्दछन् भने उनीहरूलाई यस्तो कार्य गर्न लगाएर फाइदा लिने अर्का थरी अपराधीहरूको पनि समाजमा कमी हुँदैन।
हाम्रो जस्तो विकासोन्मुख मुलुकका गाउँघर तथा घरघरमा अझै पनि ज्येष्ठ नागरिक र घर-समाजका अग्रजहरूको सम्मान गर्ने र उनीहरूको विशेष स्याहार गर्ने परिपाटी छँदैछ। तर शहरहरू ठूला हुँदै गए पछि त्यहाँका धेरै वासिन्दा आफ्नो वृत्ति विकास र अस्तित्वको निम्ति घरका अग्रजलाई स्याहार र सम्मान गर्नु पर्ने संस्कारबाट विमुख हुँदै जाँदा रहेछन् र उनीहरूको दुव्र्यवहारले गर्दा कतिपय वृद्धवृद्धाहरू घर छोडेर पाटीको बासमा पुग्न वाध्य हुँदा रहेछन्।
विकसित मुलुकमा जस्तै नेपालमा पनि आफ्नो घरका वृद्धवृद्धालाई वृद्धाश्रममा लगेर रकम खर्चेर राख्ने कुसंस्कारी र निर्मम सन्तानहरू हुन्छन्। तर यदाकदा घरपरिवारले जति माया गरेर राखे पनि केही वृद्धवृद्धाको भने आफ्ना सन्तानको खेदो खन्ने र उनीहरूलाई नराम्रो बनाउनको निम्ति भए पनि घर छोडेर आपैm दुख पाउने आदत हुँदो रहेछ। यसो भएमा जसरी भए पनि फकाएर वृद्ध आमाबुवालाई घर फर्काउने कर्तव्य सन्तानको नै हो।
विभिन्न मुलुकबाट आश्रयको निम्ति आएका शरणार्थीहरूको निम्ति पनि नेपाल एक सुरक्षित गन्तव्य बन्न पुगेको छ। शरणार्थीको रूपमा नेपाल पसेका मानिसहरूले विभिन्न तवरले यतै स्थायी बसोबास गरेका कुराहरू पनि सुन्नमा आइरहन्छ भने विकसित राष्ट्रहरूले शरणार्थीलाई पुर्नस्थापना गर्न ल्याएका योजनाहरूको दुरुपयोग गर्दै यहाँका केही नेता तथा प्रशासकहरूले पैसाको भरमा यस्ता र नेपालका नागरिकलाई नक्कली शरणार्थी प्रमाण पत्र वितरण गरेर विदेश पठाएका घटनाले केही समयदेखि निकै चर्चा पाएको छ।
सनातन धर्ममा घरबारविहीन, यात्रु तथा भक्तजनहरूको लागि नि:शुल्क अस्थायी बासको रूपमा ठाउँ ठाउँमा पाटीपौवा बनाउने चलन परापूर्वकालदेखि कै हो भने नेपाल तथा भारतका मठ-मन्दिर क्षेत्रमा साधु, सन्त, दीन-दुखी र घरबारविहीनहरूलाई बस्नको निम्ति देवल तथा आवास पनि बनाइएको हुन्छ।
त्यसैले पनि दिउँसोको समयमा सडकमा देखिने माग्ने तथा भिखारीहरू राती भने त्यस्तै धार्मिक आश्रयस्थलमा बस्न जान्छन्। धार्मिक हिसाबले स्थापना भएका बाल, महिला तथा वृद्धाश्रमहरू वाहेक समाजसेवाको भावनाले खोलिएका मानव सेवा आश्रम जस्ता धेरै पवित्र स्थल पनि नेपाल र भारतमा सञ्चालनमा छन्।
सडकमा बस्ने मानिसहरूको व्यथा, घरबारविहीन हुनुको कारण र यिनको उचित व्यवस्थापनका साथै मुलुकलाई समृद्धितिर लम्काएर यस्तो अवस्थाको सिर्जना हुने वातावरणलाई हतोत्साहित गर्नु राज्यको दायित्व हो भने सबैको निम्ति शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा उपलब्ध गराउन दिलोज्यान दिनु नै आजको युगका नेतृत्वदायी सबै सरोकारवालाको परम कर्तव्य पनि हो।
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment