अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू
काठमाडौं। अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको छ।
उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले आज सो प्रणालीको शुभारम्भ गरे। सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको जनाइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा अनिवार्य गरिएको छ।
उक्त प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शिघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment