सचिवालय बैठक

ओलीलगायत पाँच जनाको पासपोर्ट रद्द गर्ने सरकारको निर्णयमाथि एमालेको गम्भीर आपत्ति

डिसी नेपाल
१२ असोज २०८२ २०:३७
808
Shares

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयमाथि गम्भीर आपत्ति जनाएको छ।

आइतबार अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर र दशैँको मौका पारेर गरिएको उक्त कदम राजनीतिक प्रतिशोधयुक्त भएकाले बैठकले गम्भीर आपत्ति प्रकट गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत प्रश्न खडा गरेको बैठकको निष्कर्ष रहेको उनले बताए।

त्यस्तै बैठकले आन्दोलनका क्रममा भएका घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको ध्यानाकर्षण भएको ज्ञवालीले बताए। यस निर्देशनले अपराध अनुसन्धान गर्ने प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि हस्तक्षेप मात्रै नभइ अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको उहाले उल्लेख गरे।

त्यस्तै सचिवालय बैठकले पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७ देखि २९ गते काठमाडौंँमा बोलाइएको र त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० मा काठमाडौंमा बस्ने ज्ञवालीले जानकारी दिए। उनले केन्द्रीय कमिटीको बैठकपछि पार्टी महाधिवेशनमा जाने गरि तयारी गर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *