सभामुख देवराज घिमिरेको दसैं शुभकामना : ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’

डिसी नेपाल
१३ असोज २०८२ १०:२६
64
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले नेपालीहरूको महान् चाड बडा दसैं-२०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले दसैंलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा स्मरण गर्दै मेलमिलाप, पुनर्मिलन र सामाजिक एकताको सन्देश दिने चाडको रूपमा व्याख्या गरेका छन्।

सभामुख घिमिरेले विजयादशमीको धार्मिक महत्व उल्लेख गर्दै यस पर्वमा देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेकी तथा रामले रावणमाथि जित हासिल गरेको ऐतिहासिक आस्था रहिआएको स्मरण गराएका छन्। ‘यो पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिन्छ,’ सन्देशमा उल्लेख गरिएको छ।

दसैंले नेपाली समाजमा पारिवारिक सम्बन्धलाई बलियो बनाउनुका साथै विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीहरूलाई साझा संस्कारमार्फत एकतामा बाँध्ने भूमिका खेल्दै आएको सभामुखको भनाइ छ।

हालै देखिएको सामाजिक अशान्तिप्रति संकेत गर्दै सभामुख घिमिरेले नेपाली नवयुवाहरूको विद्रोहबाट उत्पन्न अवस्थालाई शान्तिमा रूपान्तरण गर्न यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, आन्दोलनका कारण नष्ट भएका सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने धारणा राखेका छन्।

संविधानको संशोधन सम्भव रहेको उल्लेख गर्दै उनले युवाहरूले उठाएका माग र प्रश्नहरू सुशासन र पारदर्शितासँग जोडिएका भएकाले तिनको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट खोजिनुपर्नेमा जोड दिएका छन्। ‘लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिन्छ,’ उनले भने, ‘यही बाटोले मुलुकलाई अँध्यारो सुरुङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा म दृढ छु।’

सभामुख घिमिरेले बडा दसैंलाई पुस्ता पुस्ताबीचको द्वन्द्व होइन, सहकार्य र एकताको चाडका रूपमा लिइनुपर्नेमा जोड दिँदै अग्रजहरूको अनुभव र नवयुवाको जोशलाई एकाकार गर्दै नयाँ नेपालको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले सहिष्णुता, आपसी सद्भाव र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई दसैंले प्रेरणा देओस् भन्ने कामना व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *