बाढी र पहिरोको जोखिम उच्च, जनधनको सुरक्षा र सतर्कता अपनाउन रास्वपाको आह्वान

डिसी नेपाल
१८ असोज २०८२ ११:३९
4
Shares

काठमाडौं। देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेकोे छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। यस्तो अवस्थामा बाढी, पहिरो, डुबानलगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञ सरकारी निकायहरूले अनुरोध गरेका छन्।

यसै सन्दर्भमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका सम्पूर्ण संरचना केन्द्रीयदेखि पालिका तहसम्मका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई विपद्का समयमा मानवीय सहयोगमा जुट्न आह्वान गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘विपद्को बेला मानवीय सेवा-सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज-उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी सक्रियतापूर्वक जुट्न विशेष आग्रह गर्दछौं।’

नदी तथा खोला तटीय क्षेत्र आसपास बसोबास गर्ने र स्थलमार्ग प्रयोग गर्ने यात्रुहरूलाई विशेष सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। साथै, नागरिकलाई आफैं सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *