निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग

डिसी नेपाल
२१ असोज २०८२ १२:१२
32
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट हुने आयोगले जनाएको छ। भेटमा निर्वाचन सुरक्षालगायत विषयमा छलफल हुने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका छन्।

मतदाता नामावली संकलन, दल दर्ता, निर्वाचन सामग्री व्यवस्थापनलगायत विषयमा आयोगले प्रधानमन्त्री कार्कीलाई जानकारी गराउने भएको हो। त्यसपछि सरकारको र सुरक्षा निकायको तर्फबाट विषयहरू प्रस्तुत हुने बताइएको छ।

आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन आयोगले गरेको स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *