महामन्त्रीद्वय थापा र शर्मासँग परामर्श गर्दै सभापति देउवा

डिसी नेपाल
२२ असोज २०८२ ८:१६
2.7k
Shares

काठमाडौं। जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेपछि लामो समयसम्म उपचार गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रूकाश शर्मासँग छलफल गर्दैछन्।

महामन्त्रीद्वयको अग्रसरतामा विशेष महाधिवेशनको लागि भन्दै हस्तक्षर अभियाच संचालन गराएपछि सभापति देउवाले आज थापा र शर्मासँग परामर्श गर्न लागेका हुन्।

लामो समयसम्म राजनीतिक भेटघाट नगरेका देउवाले विशेष महाधिवेशनमार्फत आफूलाई बहिर्गमन गराउने भएपछि आफ्नो सम्मानजनक बहिर्गमनका विषयमा छलफल गर्न सभापति देउवाले महामन्त्रीद्वयसँग परामर्श गर्न थालेका हुन्।

विशेष महाधिवेशनको माग गर्दै संकलित हस्ताक्षर असोज २५ गते केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी भएको छ। असोज ६ गते इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर संकलन अभियान थालेका थिए।

देउवालाई तत्काल हटाउनुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइराला उभिएका छन्। विधानअनुसार विशेष महाधिवेशन माग्नको लागि ४० प्रतिशत हस्ताक्षर संकलन भइसकेको नेताहरूको दाबी छ।

४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने कांग्रेस पार्टी विधानमा व्यवस्था छ।

देउवानिकट एक नेताका अनुसार विशेष महाधिवेशन रोक्न मंसिर मसान्तभित्र सम्पन्न हुने गरी नियमित महाधिवेशन बोलाउने, तत्काल कार्यवाहक सभापति दिएर आफू नेतृत्वबाट बाहिरिने वा अहिलेको कार्यसमिति भंग गरेर कुनै नेताको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने गरी तीन विकल्पमा छलफल भइरहेको छ । महामन्त्रीद्वयले विशेष वा नियमित जे भए पनि मंसिर भित्रै महाधिवेशन हुनुपर्ने अडान लिइरहेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन्।

मंगलबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले भनेका छन्, ‘विशेष महाधिवेशनको लागि हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस्।’ २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै शर्माले भन्नुभएको छ, ‘लगनपछिको पोते के काम ?’ विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको तर्क छ । विशेष महाधिवेशनका लागि आफूले टेलिफोन गरी कसैलाई हस्ताक्षर गर्न नभनेको तर आफूलाई टेलिफोन गरेर सोध्नेलाई हस्ताक्षर गर्न सुझाएको स्पष्ट पार्दै महामन्त्री शर्माले भन्नुभयो, ‘आफैँले टेलिफोन गरेर कसैलाई विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुस् भनेको छैन । तर, मलाई हस्ताक्षर गरौँ कि नगरौँ भनेर सोध्नेलाई गर्नुस् भनेको छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *