महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

डिसी नेपाल
२२ असोज २०८२ १३:०३
36
Shares

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन्। उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए।

‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन्। यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने।

उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए। संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं। पार्टीले आधिकारिक रूपमा जाने कि कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ।’

बस्नेतले रास्वपाका कार्यकर्तामाथि पनि गम्भीर आरोप लगाउँदै जेनजी आन्दोलनमा रास्वपाका कार्यकर्ताहरुले आफूहरुको घर जलाएको बताए।
उनले भने, ‘हाम्रो घर जलाउनको लागि रास्वपाका कार्यकर्ता आएका छन्। यी सबैको एक-एक हिसाब हामीले राखिरहेका छौं।’

उनले आन्दोलनमा केही व्यक्तिहरू ‘मतियार’ का रूपमा प्रयोग भएको दाबी गर्दै बालेन शाहले पछि आन्दोलनमा सहभागीहरूलाई त्यागेको टिप्पणी गरे। ‘जब आन्दोलनको ठूलो आँधी बेहोरी आयो, त्यसपछि बालेनले हर्क साम्पाङदेखि सबैलाई खोलामा धकेलियो। अहिले हर्क साम्पाङ धरानदेखि कराउँदैछ,’ उनले भने।

बस्नेतले जेनजीले प्रारम्भमा शान्तिपूर्ण आन्दोलन गरेको र भ्रष्टाचार तथा ‘नेपो बेबी’ विरुद्ध अभियान चलाएको स्वीकार गरे। तर, आन्दोलनमा घुसपैठ भएको उनको भनाई छ।

उनले भने, ‘जेनजीले शान्तिपूर्ण आन्दोलन गरेका थिए। भ्रष्टाचारको विरुद्ध, नेपो बेबीको विरुद्ध अभियान चलाएका थिएँ। त्यसको विरोध गरेका थिए। तर बिचमा घुसपैठ भएको थाहा भएपछि उनीहरुले नै प्रदर्शनकारीलाई फिर्ता हुन आग्रह गरे। तर, ४ घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम भयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *