लिची बगान प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
२२ असोज २०८२ १४:५१
1.6k
Shares

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

आयोगले तत्कालिन मन्त्री गुप्ताविरुद्ध रु ७८ लाख, पूर्वमन्त्री श्रेष्ठविरुद्ध रु ७८ लाख, मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध रु ५३ लाख, घरजग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङविरुद्ध रु ७८ लाख, प्रतिवादी खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध रु २५ लाख, प्रतिवादी यामकुमारी गुरुङविरुद्ध रु ७८ लाख, प्रतिवादी तुल्सीराम बुढा मगरविरुद्ध रु ७८ लाख विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएको थियो। त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो।

घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए। उनले म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरण अख्तियारमा पेश भएका थिए । त्यतिमात्रै नभएर भूमि मन्त्रालयका तत्कालिन सचिव अर्जुन पोखरेलले समेत रकम लिएका विवरण सार्वजनिक भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *