घुमघाम

दुई दिने हेटौंडा भ्रमण

कपिल लोहनी
२२ कार्तिक २०८२ ७:१०
88
Shares

एक वर्ष अघिको कुरा। वर्षात्को मौसम शुरु हुनुभन्दा केही समय मात्र अघि केही काम विशेषले र थोरै घुमघाम समेत गर्ने विचारले हेटौंडा जाने सोच आयो र दुई दिने भ्रमण पनि गरियो।

यो यात्रा वर्णनको पहिलो भागमा हामी आज काठमाडौं र हेटौंडाबीच यात्रा गर्ने विभिन्न बाटाघाटाहरूको बारेमा चर्चा गर्नेछौँ भने अर्को हप्ताको दोस्रो भागमा यात्रामा देखेका र भोगेका कुराहरूको वर्णन रहने छ।

काठमाडौंको नाग भञ्ज्याङ यानी नागढुंगाबाट तल तल ओर्लिँदै खानीखोला नजिकको नौबिसे पुगेपछि पृथ्वी राजमार्ग तिरबाट मुग्लिङ हुँदै चितवन जिल्लाको नारायणघाट निस्केर मकवानपुर जिल्लाको हेटौंडा जाने मार्गको धेरै ठाउँमा राजमार्ग चौडा पार्ने कार्यका साथै पहिरोले गर्दा ठाउँ ठाउँमा अवरोधहरू भएकाले कुनै कामचलाउ छोटो मार्गबाट यात्रा गर्ने विचार मनमा आयो।

अनि शुरु भयो बाटोको छनोट। हिजोआज युट्युबमा यात्राबारे भ्लग बनाउने मानिसहरूले विभिन्न बाटाघाटाको अवस्था र यात्रा बारे भिडियो वर्णन राख्ने गरेका नै छन्। त्यस्ता वर्णनका केही पुराना र केही नविनतम भिडियोहरू हेरेर हिजोआज ती सडकको अवस्थामा कत्तिको सुधार आएको छ त्यो कुरा बुझेर यसपाली दक्षिणकाली-सिस्नेरी हुँदै यात्रा गर्ने निर्णयमा पुगेँ।

काठमाडौंको चार दिशामा यो उपत्यकाभित्र आउने र जाने चार भञ्ज्याङहरू थिए र अझै पनि छन्। ती मध्ये पश्चिमको नाग भञ्ज्याङ (बाड भञ्ज्याङ) र पूर्वको साँगा भञ्ज्याङ प्रमुख हुन्। त्यस्तै उत्तरको काउले भञ्ज्याङ (रानीपौवा) र दक्षिणको लेले भञ्ज्याङको पनि उत्तिकै महत्व थियो।

उतिबेला पश्चिमी पहाडबाट उपत्यका आउन जान विशेष गरी काउले भञ्ज्याङ (रानीपौवा) हुँदै बालाजुलाई मुख्य मुकाम बनाउने गरिन्थ्यो। विगत दुई दशकदेखि रानीपौवाबाट त्रिशुली जाने बाटो अस्तव्यस्त भएकोले टोखा भएर यात्रा गर्ने चलन चलेको छ।

त्यस्तै पूर्वी नेपाल जान आउन साँगा भञ्ज्याङको प्रयोग हुन्थ्यो। हाल बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै पुर्व र चीनको सिमाना जाने गरिन्छ। लेले भञ्ज्याङ हुदै काठमाडौं उपत्यकाको दक्षिणी दिशामा यात्रा गर्नेहरू पनि प्रसस्त हुन्थे।

तर खासगरी सुगौली सन्धि पछि नाग भञ्ज्याङ र त्यो भन्दा पनि धेरै अघिको नैकाप भञ्ज्याङ हुँदै थानकोट पुगेर चित्लाङतिरबाट हिँडेर भीमफेदी र त्यसपछि भारत वा नेपालका अन्य समथर क्षेत्र जाने रुटको प्रयोग सरकारी वा निजी स्तरमा अधिक हुने गर्दथ्यो।

राणाशासनको बखत चन्द्रशमशेरले नेपालको वीरगञ्ज र भारतको रक्सौल जोड्ने गरि सन् १९२७ मा छोटागजी एनजीआर यानी नेपाल गभरमेन्ट रेलवे निर्माण गर्न लगाएका थिए भने त्यसको केही समय पछि जनकपुर–जयनगर रुटमा चल्ने गरि पनि छोटो रेलवेको निर्माण गर्न लगाएका थिए।

तराईको जंगल फाँडेर भारतमा काठ निर्यात गर्ने र त्यस वापत आउने अकुत पैसा व्यक्तिगत ढुकुटीमा भर्न कै निम्ति उनले र पछि जुद्धशमशेरले सीमा क्षेत्रमा कच्ची सडकहरू खोल्न लगाएका थिए।

यी सडकहरूबाट नै जंगल फडानी गरेका तराइका बाँझा क्षेत्रमा भारतबाट ठेकेदारहरू बोलाएर खेती गर्न लगाउनुका साथै उतैबाट कृषि र काठका मजदूर बोलाएर बसोबास गराए पछि तिनै कच्ची सडकहरू हुँदै काठ, जडिबुटी र कृषि उपज भारतमा निर्यात गरेर धन कमाउन शुरु गरेका थिए राणाशासक र उनका भारदारहरूले।

रक्सौलबाट वीरगञ्ज हुँदै अमलेखगञ्जसम्म आएको रेललाई त्योभन्दा अगाडि नलगेर भीमफेदीसम्म भने कच्ची सडक बनाइएको थियो त्यतिबेला। अमलेखगञ्जबाट भीमफेदीसम्म पुराना लहरी र यात्रु बसमा बसेर यात्रा गर्नु पर्दथ्यो।

भीमफेदीदेखि काठमाडौंको थानकोटसम्म भने हिँडेर यात्रा गर्ने वा तामदानी, वर्लिनकाठ, डोली वा डोकोमा बसेर डोले र भरियाहरूले बोकेर यात्रा गर्ने वाहेक अन्य उपाय थिएन।

केही धनीमानीले भने ठाउँ ठाउँमा घोडा चढेर पनि यात्रा गर्दथे। त्यतिबेलाका नेपालका लागि वृटिश रेजिडेन्ट वा अन्य मुलुकबाट आवतजावत गर्ने सीमित पाहुनाहरू पनि त्यसरी नै कठीन यात्रा गर्ने गर्दथे। यो यात्राको दौरान भीमफेदी र चित्लाङमा बास बस्नु पर्ने पनि हुन्थ्यो।

त्यतिबेला भीमफेदीमा अवस्थित भन्सार कार्यालयमा आफ्ना सरसामान तथा यात्रा गर्ने कागजात जाँच गराएर मात्र अगाडिको कठिन यात्रा शुरु हुन्थ्यो। यसरी गरिएको यात्रा चित्लाङ हुँदै थानकोटमा पुगेर टुङ्गिन्थ्यो भने त्यहाँबाट काठमाडौंसम्म भने धुले बाटोमा मोटरगाडी, घोडा वा गाडामा यात्रा गर्नु पर्दथ्यो।

नेपालमा राणाशासन छउञ्जेलसम्म राणाशासकहरूले काठमाडौंसम्म सहज मोटर बाटो बनाउने अनुमति दिएका थिएनन्। यो उनीहरूको सत्तामा टिकिरहने सुरक्षित रणनीति थियो। जो पायो त्यही र जे पायो त्यस्तो सामग्री अनियन्त्रित रूपमा राजधानीमा नभित्रियोस् भन्ने नीति अन्तर्गत यस्तो कार्य गरिएको हुन सक्छ।

राणाशासनको अन्त पछि भने काठमाडौंसम्म र पोखरा लगायत अन्य ठूला पहाडी बस्तीसम्म मोटर बाटो बनाउनेदेखि काठमाडौं र अन्य शहरमा विमानस्थल निर्माण गर्ने कार्यको पनि थालनी भयो।

त्यस्तै हेटौंडा र वीरगञ्जकोबीच भागमा पर्ने सिमरामा विमानस्थल बनेपछि काठमाडौं र सिमराको विमान यात्राको दूरी २० मिनेट भन्दा पनि कम हुन गयो। भारतको सहयोगमा त्रिभुवन राजपथको निर्माण भए पछि हेटौंडाबाट भीमफेदी, सिमभञ्ज्याङ हुँदै तल झरेर नौबिसे, खानीखोला छिचोले पछि पुनः उकालो लागेर नागढुंगा र थानकोट पुग्ने र त्यहाँबाट काठमाडौं पुग्ने लामो तथा घुमाउरो बाटो हुँदै यो रुटको मोटर यात्रा शुरु भयो।

पहिलो चोटी म करिव दश वर्षको हुँदा यो बाटोबाट हेटौंडाको यात्रा गर्दा मैले बाटोमा करिव तीन दर्जन पटक वमन गरेर ज्यादै सिथिल बन्न पुगेको थिएँ। फर्कंदा सिमभञ्ज्याङमा हिमपात भएर हामी रातभर कठ्याङ्ग्रीएर गाडीभित्र बस्न वाध्य भएका थियौँ। अझै पनि यो राजमार्गको प्रयोग गर्दा रिँगटा निकै लाग्दछ।

तर अग्लो र होचो भूभाग हुँदै घुम्दै अघि बढ्ने यो राजमार्गबाट विभिन्न खाले मौसमको आनन्द लिँदै निकै रमणीय दृश्यहरू हेर्न भने अवश्य पाइन्छ। हिजोआज यो राजमार्ग त्यति धेरै चल्तिमा नभएकोले निकै सुनसान पनि हुन्छ। रातीको समयमा यात्रा गर्न त सुरक्षाको दृष्टिले खतरापूर्ण पनि हुन्छ।

राजधानी आवतजावत गर्ने यातायातको साधनको संख्यामा अत्यधिक वृद्धि हुनाका साथै वर्षात् र अन्य मौसमी परिवर्तन तथा अव्यवस्थित मर्मत सम्भारका कारण प्रायः अवरुद्ध भइरहने हाम्रा बाटाघाटाका कारण हाल हेटौंडा तथा संघीय राजधानी आवतजावत गर्ने यातायातका साधनको निम्ति वैकल्पिक मार्गहरूको पनि विकास हुन थालेको छ।

थानकोटबाट नौबिसे जाने बाटोको भिडभाड र बेला बेलाको अवरोधका कारण हुने जाम छल्नको निम्ति सितापाइलाबाट धार्के निस्कने बाटो करिव एक दशक पहिले स्थानीय स्तरमा खनिएकोमा हाल सो बाटोको स्तरोन्नती गरिएको छ। त्यस्तै टोखा, शिवपुरीबाट नुवाकोट जिल्लाको विदुर हुँदै धार्के निस्कने बाटोको पनि स्तरोन्नती भएर हाल निकै चल्तीमा छ।

अर्कोतर्फ काठमाडौंबाट हेटौंडा जाने पुरानो बाटो कान्ति राजमार्गलाई पनि सुधार गरेर हाल निकै चलायमान बनाइएको छ। ललितपुर जिल्लाको सातदोबाटोबाट चापागाउँ र टिका भैरव हुँदै भट्टेडाँडा कटेर ओरालो लागेपछि बागमती नदी पक्रेर लेनडाँडा हुँदै मकवानपुर गढीबाट चौघडा पुगेर हेटौंडाको बुद्धचोक पुग्ने कान्ति राजमार्गको निर्माण पाँच दशक पहिले नै शुरु भएको भए पनि यो मार्ग बल्ल सञ्चालनमा आउन थालेको छ।तर भारी वर्षात्को समयमा यो मार्ग प्रायः अवरुद्ध हुने गर्दछ।

त्यस्तै थानकोटबाट चन्द्रागिरि हुँदै १५ किलोमिटरको घुमाउरो र भिरालो बाटो तय गरेर चित्लाङ पुगेर त्यहाँबाट कुलेखानी निस्केर भीमफेदी, भैंसे र हेटौंडा जाने मार्ग पनि हिजोआज निकै चल्तीमा छ। कुनै बेला भीमफेदीदेखि काठमाडौंसम्म राणाशासक तथा राजाहरूको मोटरगाडी दर्जनौं भरियाहरूले बोकेर ल्याउने र हिँडेर यात्रा गर्ने गोरेटो नै आज आएर एक ज्यादै प्रचलित हाइकिङ रुट बन्न पुगेको छ।

चित्लाङ एक निकै मनोरम र सून्दर ठाउँ हुनुको साथै चराचुरुङ्गीको लागि स्वर्गसरीको हरित पहाडी क्षेत्र हो र चन्द्रागिरिदेखि चित्लाङसम्मको हाइकिङ रुट निकै लोकप्रिय पनि छ। चन्द्रागिरिमा केवलकारको व्यवस्था हुनुका साथै एक उच्च स्तरीय रिजोर्ट पनि खुलेकोले आन्तरिक तथा वाह्य पर्यटनमा निकै टेवा पुगेको।

एकतर्फी हाइकिङ र अर्कोतर्फी केवलकाल प्रयोग गर्ने मानिसहरू पनि धेरै छन्। कुलेखानी जलविद्युत आयोजनाको निर्माणसँगै त्यहाँ बनेको विशाल र मनोरम इन्द्रसरोबर तालले पनि धेरै पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। यो बाटो कुलेखानी हुँदै देउराली डाँडा नजिक दक्षिणकालीबाट हेटौंडा जाने सडकमा मिल्छ।

हेटौंडाबाट त्रिभुवन राजपथ पक्रेर उत्तरतिर अघि बढ्दा भैँसे खोला तर्ने वित्तिकै भैंसे बजार आउँछ। सो बजारबाट देब्रेतर्फको बाटो समाएमा त्रिभुवन राजपथको घुमाउरो बाटो हुँदै सिमभञ्ज्याङ, दामन, टिस्टुङ, पालुङ नाघेर नौबिसे पुगिन्छ भने भैंसेबाट दाहिने तर्फको बाटो समाएर जाँदा फर्पिङ, कुलेखानी वा दक्षिणकाली हुँदै काठमाडौं जाने बाटो आउँछ।

प्रायः पक्की बन्दै गएको यो बाटो ज्यादै भिरालो र यहाँ ठाउँ ठाउँमा पहिरोको खतरा भएको भए पनि धेरैजसो ठाउँमा भने दुई लेन छ। यहाँबाट केही अघि बढ्ने वित्तिकै मकवानपुरको पान्द्राङ गाउँ आउँछ र निबुवाटार नाघेपछि उकालो शुरु हुन्छ, अनि आउँछ ऐतिहासिक भीमफेदी बजार।

भीमफेदी बजार राणाकालको एक महत्वपूर्ण स्थल हो। यहाँ आज पनि त्यतिबेलादेखिका पुराना घरहरू देख्न सकिन्छ भने त्यतिबेलादेखिका सरकारी अड्डा तथा मुकामहरूका भग्नावशेष पनि त्यहाँ पाइन्छन्।

भीमफेदीमा बसेर खासगरी काठमाडौंका नेवार व्यापारीहरूले भारत तथा नेपालका तराई र अन्य विभिन्न ठाउँका सामानहरू काठमाडौंमा बेच्न लग्ने गर्दथे। त्यस्तै काठमाडौंबाट हेटौंडा ओहोरदोहोर गर्नेहरूका सामान र अनुमति पत्र समेत त्यतिबेला त्यहाँ चेकजाँच गरिने भएकोले यो बजारमा बास बस्ने प्रचलन पनि थियो।

काठमाडौंमा लगिने मोटरगाडीदेखि सबै प्रकारका सामान यही स्थान हुँदै भरियाहरूले बोकेर काठमाडौं पुर्‍याउने भएकोले पनि यो बजारको महत्व निकै बढी थियो त्यतिबेला। राणाशासकहरूले आफ्ना भाइभारदार तथा अन्य व्यक्तिलाई डाँडा कटाएर राजधानीबाट निस्कासन गर्दा भीमफेदीमा नै आएर बास बस्दै तराई, पहाड वा भारत जाने प्रचलन पनि थियो। भन्नै पर्दा सन् १८१६को सुगौली सन्धिदेखि सन् १९५०मा राणाशासनको अन्त्य भएसम्म भीमफेदीले निकै महत्वपूर्ण स्थान ओगटेको थियो।

त्रिभुवन राजपथको निर्माण पछि मोटरगाडीहरू भैँसेबाटै उकालो लाग्न थाले पश्चात् भीमफेदी बजार सुक्न शुरू भयो र यहाँका व्यापारीहरू पनि बिस्तारै हेटौंडामा सर्न थाले।

तर यस्तो ऐतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनमा नेपालको कुनै पनि सरकारले कहिल्यै चासो देखाएको छैन। यहाँ रहेको कुनै पुरानो भवनको भग्नावशेषलाई मर्मत गरेर भीमफेदीको पुरानो इतिहास झल्कने संग्रहालयमा परिणत गर्नु पर्ने हो।

सन् १९२२ मा चन्द्रशमशेरले मकवानपुरको धुरसिंहदेखि काठमाडौंको चन्द्रागिरी, मातातिर्थसम्म सामान ढुवानी गर्ने हेतुले रोपवेको निर्माण गर्न लगाएका थिए र यसको निर्माण विभिन्न प्राविधिक व्यवधानहरूबाट पार भएर सन् १९२७ मा सम्पन्न भयो।

पछि यो रोपवेलाई काठमाडौंको टेकुसम्म बढाइयो। सन् १९६४ मा यो रोपवेलाई अमेरिकी सहयोग अन्तर्गत हेटौंडादेखि काठमाडौंसम्म बढाइयो तर सन् १९९४ मा यो रोपवेलाई विद्युत आपुर्तिको समस्या र मर्मत तथा सञ्चालन खर्च बढेको भन्दै देउवा सरकारले बन्द गरिदियो। यस्तै बेलातिर देउवा सरकारले काठमाडौंको ट्रलिबसलाई पनि बन्द गरिदिएको थियो।

भीमफेदीबाट काठमाडौंतर्फ अघि बढ्दा निकै उकालो र साँघुरो सडकबाट यात्रा गर्नु पर्ने हुन्छ। यो सडक वास्तवमा साना सवारीसाधन र जीप तथा माइक्रो बसको निम्ति मात्र उपयुक्त भएकाले यहाँ ठूला ट्रक र बसहरू देखिँदैनन्, सायद चल्ने अनुमति पनि छैन होला।

भीमफेदी गाउँपालिकाको उकालो सकिए पछि इन्द्रसरोवर गाउँपालिका पुगिन्छ। यो बाटोमा ठाउँ ठाउँमा चिया तथा खाजाका पसलहरू भेटिन्छन्। स्थानीय तवरमा रोपिएका गाजर र गाजरको जुस पाइने एक दोकानमा सधैँ जसो यात्रुहरू गाडी रोकेर खानपान गर्ने र घरको लागि गाजर किन्ने गर्दछन्। सो ठाउँको खहरेको पानी निकै मिठो, ठण्डा र सफा हुन्छ।

इन्द्रसरोवर गाउँपालिकाको चौडा तथा चहलपहलयुक्त मुलचोकबाट अलिकति मात्र अघि बढेपछि ऐतिहासिक चिसापानी गढी पुगिन्छ। त्यो भेगको सबैभन्दा अग्लो स्थानमा रहेको (१,७०० मिटर) त्यो गढीबाट दक्षिणतर्फ टाढा टाढासम्म देख्न सकिँदो रहेछ।

भीमफेदी र त्यो भन्दा पनि निकै परका मैदान र तराईसम्मै देखिने यो गढी सामरिक रूपले निकै महत्वपूर्ण थियो नेपाल-अङ्ग्रेज युद्धताका। पछि जङ्गबहादुरले नेपालको शासनसत्ता कब्जा गरेपछि पनि यसलाई निकै महत्वका साथ हेरेर यहाँ ठूलै सैनिक अखडा बनाएका थिए। कसैलाई देश निकाला गर्नु परेमा उनी ‘सिसागढी कटाई दिनु’ भनेर आदेश दिन्थे।

सिसागढीबाट अझ उकाली लागे पछि यो भेगकै सबैभन्दा मनोरम स्थल देउराली आइपुग्छ। देउराली डाँडाबाट देखिने अद्भुत दृश्य र यहाँको निकै मनमोहक मौषमले गर्दा यो ठाउँको बयानमा धेरै लोकगीतहरू बन्न पुगेका छन्। यहाँ यात्रुहरू खाजा तथा खाना खान र गाडी चालकहरू केही बेर सुस्ताउन पनि रोकिने गर्दछन्।

देउरालीबाट काठमाडौंतर्फ तल झर्न थाले लगत्तै खानीखेत भन्ने ठाउँबाट देब्रे तर्फ को साँघुरो सडक पक्रेर कुलेखानीको बाँध र तालको मनमोहक दृश्य देखिने ठाउँ पुगिन्छ भने त्यही क्षेत्रमा मोहिनी झरना पनि पर्छ। बाटोबाटै कुलेखानीको सतहबाट बढी भएको पानी झार्ने एउटा आउटलेट बाँध पनि देख्न सकिन्थ्यो। यहाँबाट कुलेखानी हुँदै काठमाडौं जान हेटौंडादेखि ८२ किलोमिटर पार गर्नु पर्ने हुन्छ।

यहाँबाट थोरै अगाडि बढेपछि हेभी नामक स्थान आइपुग्छ र यसको केही छिनमा नै फाखेल हुँदै फर्पिङ निस्कने बाटो र दक्षिणकाली जाने बाटो छुट्टिन्छ। दक्षिणकाली जाने बाटोतिर अघि बढ्दा सिस्नेरी आइपुग्छ। सिस्नेरी मकवानपुर जिल्लामा नै पर्दछ।

यहाँ एक सानो बजारको विकास भइसकेको र रात बस्ने साना होटेल पनि बनेका छन्। सिस्नेरी खोलामा अवस्थित कन्चन पानीको पोखरीमा पौडी खेल्न र चारैतिरको हरियाली र शान्त वातावरणको आनन्द लिन त्यो क्षेत्र हुँदै यात्रा गर्ने यात्रुदेखि पर्यटकसम्म पुग्ने गर्दछन्। एक वर्ष पहिलेको भारी वर्षाको कारण आएको बाढी र पहिरोले सिस्नेरी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

सिस्नेरीबाट पुनः उकालो लागेपछि भने विभिन्न रमणीय स्थल हुँदै छैमले पुगेर त्यसपछि केही बेरमा नै दक्षिणकाली पुगिन्छ भने यसरी सिस्नेरीबाट ३३ किलोमिटरको यात्रा तय गरेर दक्षिणकाली हुँदै काठमाडौं पुग्न सकिन्छ।

राजधानीबाट तराईको निजगढ पुग्ने सबैभन्दा कम दुरीको तथा द्रुत गतिमा यात्रा गर्न सकिने चार लेनको काठमाडौं-निजगढ द्रुतमार्गको निर्माण कार्य सेनाले गर्दैछ। यस द्रुतमार्गले विभिन्न ठाउँमा ठूलासाना सुरुङ र निकै अग्ला विशाल पुलहरूको माध्यमबाट काठमाडौंलाई तराईसँग जोड्ने छ।

निजगढबाट हेटौंडा भने ५२ किलोमिटरको यात्रा तय गरेपछि मात्र पुगिन्छ। यो आयोजना निकै खर्चिलो र प्राविधिक रूपले पनि निकै जटिल खालको भएकोले यसको निर्माण सम्पन्न कहिले हुन्छ भनेर अहिले नै भन्ने अवस्था भने छैन।

क्रमश….

-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल एवम् समसामयिक गायक समाजका अध्यक्ष हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *