अहंकार त्यागौं
“गोरक्षं परमाचार्यं योगमार्गप्रवर्तकम्
योगगम्यं समाधिस्थं वन्दे गोरक्षनायकम्।।”
अर्थ-योगमार्गका प्रवर्तक, योगद्वारा प्राप्त गर्न सकिने, समाधिमा रहेका, परमाचार्य गोरक्षनाथलाई वन्दना गर्दछु।
गुरु गोरखनाथका दिव्य वाणीहरू र त्यसमा पनि दिव्य विभूतिहरूको स्मरण जीवनको लागि सबैभन्दा ठूलो आशीर्वाद हो। त्यसमा पनि गुरु गोरखनाथका वचन सत्यमा आधारित छन्, ज्ञान र विज्ञानको कसौटीमा खरा उत्रेका छन्।
गुरु गोरखनाथका वाणी हरेक व्यक्ति, समूह, समाज, सम्प्रदाय, आस्तिक, नास्तिक सबैका लागि मन्त्र समान छन्। गुरु गोरखनाथका वाणी केवल दर्शन, शुष्क पाण्डित्याइँ, कोरा कुरा, तर्क होइनन्।
अपितु मानव जीवन, विज्ञानसँग जोडिएका छन्। हामीले हाम्रो जीवनलाई कसरी विकसित गर्ने ? (Cultivate), हाम्रा दैनिक जीवनमा आउने समस्यालाई कसरी समाधान गर्ने ? जस्ता सुन्दर सूत्र र विधि दिइएका छन्। “गुरु गोरखनाथ” भन्नुहुन्छः
“मरौं वो जोगी मरौ, मरौ मरन है मीठा।
तिस मरणी मरौ, जिस मरणी गोरष मरि दीठा।।१।।”
अर्थात्– ए जोगी मर। मर्नुभन्दा ठूलो कुरा केही छैन। मर्नु पनि अनन्तताको, अमरताको यात्रा होस्, गुरु गोरखनाथको प्रकट-अप्रकट यात्रा जस्तै।
हामी मर्ने भनेपछि डराउँछौँ। मर्नुलाई हामी भौतिक रूपमा मर्ने कुरा बुझ्छौं तर त्यसो होइन। हरेक व्यक्तिमा जुन अहंकर छ, आसक्ति छ, भय छ त्यसलाई मार्नु हो।
मर्नुको आशय केवल सास फेर्न बन्द हुनु मात्रै होइन। जीवन त सबैको हुन्छ। जिउँदो रहँदा जसले अरुका लागि रुन जानेको छ, मर्दा उसका लागि अरु रोएका हुन्छन्। जसका मृत्युले जति धेरै मानिस रोएका हुन्छन् उसको मृत्यु त्यति नै गौरवशाली बन्यो भनेर बुझौं।
जुन दिन हाम्रो अहंकर र आसक्ति मर्छ त्यही दिनदेखि हामी भित्र दिव्यता, देवताको अवस्था जागृत हुन्छ। हाम्रा सारा समस्या अहंकारसँग जोडिएका छन्। हामी जतिसुकै ठूलो पद, प्रतिष्ठा, मान, सम्मान प्राप्त गरे तापनि हामीभित्रकै अहंकार मरेन भने हाम्रो जीवनमा दिव्यता, पवित्रताको विकास हुन सक्दैन। हामीमा अहंकार छ भने जीवनको सुन्दरताको अमृतपान गर्न सक्दैनौं।
यस्तो अवस्थामा प्राप्त पद, मान र ज्ञान सबै बोझ बन्छन्। त्यसैले अहंकारलाई मार्नुभन्दा ठूलो कुरा अरु केही छैन। हामी अहंकारले गर्दा नै शब्द शब्दमा झगडा गर्छौं, ईर्ष्याा गर्छौं, हिंसा गर्छौं।
जीवनकालमा जति अहंकार गरे पनि आर्यघाटमा पुगेपछि त दाउरा र आगो नै अन्तिम साथी हुन्छ। धनीगरिब, पठित-अपठित, राजारंक सबैको गति उही हो। प्रकृतिले र दैवले भेदभाव गरेको छैन। भेदभाव गर्ने रीत बनाएको तपाईंले हामीले हो।
श्रीमान्ले श्रीमतीलाई, श्रीमतीले श्रीमान्लाई, छोराछोरीले आमाबुवालाई, आमाबुवाले छोराछोरीलाई, दाजुले भाइलाई, भाइले दाजुलाई, एउटा मित्रले अर्को मित्रलाई तर्क गरेर, वादविवाद गरेर, हराएर जुन खुसी हामी प्राप्त गर्छौं वास्तवमा त्यो खुसी खुसी होइन; त्यो त पीडा हो, हार हो।
हामीले खुसी पाएको बेलामा हाम्रो खुसीले अर्कोलाई पीडा र हार भइरहेको छ भने त्यो जीतको र त्यस खुसीको कुनै अर्थ छैन। जसरी गुरु गोरखनाथले आफ्नो अहंकारलाई मारे त्यसरी नै हामीले आफ्नो अहंकारलाई मार्नुपर्छ। अहंकारलाई बलियो बनाएइको छ भने आफू मरेपछि पनि त्यही बाँचिइरहन्छ।
मरेपछि पनि मानिसका मनमा बिझाइरहन्छ। कसैले सम्झँदा पनि दुःखी मनले गाली गर्दै सम्झन्छ। जिउँदो छँदा पनि र मरेपछि पनि गाली खाने रहर छ भने अहंकारी बनौं। अन्यथा अहंकारलाई मारेको र शालीनतालाई बलियो बनाएको छ भने मरेपछि पनि बाँच्ने उही नै हो। मृत्यु भएका दिन मलामीको लर्को लामो हुन्छ। आउँदा दिनमा पनि समाजले सम्मानपूर्वक सम्झिइरहन्छ।
अहंकार नै सारा समस्याको जड हो। हाम्रो जीवनमा अहम् होस् तर अहंकार नहोस्। कस्तो अहम् होस् भने व्यक्तिगत होइन, सामूहिक हित गर्ने समष्टि भाव भएको (Collective cosmic energy) अलौकिक ऊर्जा होस्। त्यसैले हाम्रो वेदले भन्छः “अहं ब्रह्मास्मि” अर्थात् म ब्रह्म हुँ, म चेतना हुँ।
हाम्रो अहम् सारा संसारमा समाहित भएको होस्। हाम्रो घरमा कार होस् तर अहंकार नहोस्। जसको जीवनमा र घरमा अहंकार आयो त्यसको जीवन र परिवार नष्ट भयो। आज पारिवारिक अवस्था नाजुक बन्दै गएको छ। ब्रेक डाउन हुने अवस्था आएको छ। अहम यति बढेको छ कि मानिसहरू खुसी हुन सकेका छैनन्, एकले अर्कोलाई स्वीकार गर्न सकेका छैनन्। गल्ती गरेर पनि दिलैदेखि Im Sorry भन्न सकिरहेका छैनन्। हिन्दीमा एउटा दोहा छः
शिखर में चढ्ना नही, शिखर से उतरना है।
अर्थात्- अहंकारको शिखरमा चढ्ने होइन, ओर्लने हो। अहम्को शिखरमा चढ्न सजिलो छ तर झर्न गाह्रो छ। हामीले आफैलाई स्वीकार गर्न, सम्मान गर्न जुन बेला सक्छौं। त्यही बेला हाम्रो अहम् आफैँ स्वाभाविक रूपमा कम हुन्छ, चेतनाको रूपमा विकसित हुन्छ।
अहंकारी व्यक्तिको ओछ्यान राम्रो होला तर निद्रा राम्रो हुँदैन। अहंकारी शास्त्रज्ञ हुन सक्ला तर उसाले शास्त्रको रसपान गर्न सक्दैन। अहंकारीसँग ठूलो पद, मान हुन सक्ला तर उसले त्यसको महत्व बुझन सक्दैन। एउटा भनाइ छः जति सकिन्छ अहिले जीवन रहँदैमा झुक्न सिक, मरेको लास कहिल्यै पनि झुक्न सक्दैन। हाम्रो नीतिशास्त्रमा पनि भनिएको छः
भवन्ति नम्रास्तरवः फलोद्गमैः नवाम्बुभिर्दूरविलम्बिनो घनाः।
अनुद्धताः सत्पुरुषाः समृद्धिभिः स्वभाव एवैष परोपकारिणाम्।।
अर्थात्- फल लागेपछि रुखहरू झुकेका हुन्छन्। नयाँ जलले भरिएको बादल नम्र हुन्छ। नम्रताको समृद्धिले सम्पन्न भएका मानिस झुकेका हुन्छन्। परोपकारीहरूको स्वभाव पनि यस्तै हुन्छ।
रुखमा फूल र फल लागेपछि झुक्छ, नम्र हुन्छ। पानी भएको बादल पनि आकाशको तल आउँछन्। सज्जन पुरुष पनि समृद्धि प्राप्त हुँदा घमण्डी बन्दैनन्। परोपकारीको यही स्वभाव हुन्छ।
त्यसैले त ठूला- ठूला आँधी आउँदा पनि अहंकारले ठडिएका ठूला- ठूला रुखहरू उठ्नै नसक्ने गरी लड्छन् तर ती सँगै लडेका साना- साना घाँसहरू भने नष्ट हुँदैनन्। एकै छिनमा फेरि मुस्कुराउँदै उठ्ने गर्छन्।
गुरु गोरखनाथको वाणी अद्भुत छ, जसले हामी सबैलाई नम्र बन्न सिकाउँछ। अहङ्कारलाई मार्ने भनेको दमन गर्ने भनेको होइन, शमन गर्ने हो। शमन गर्ने योगविद्या नै वास्तवमा मूल विद्या हो। श्रुति, स्मृति, शास्त्र जेसुकै पल्टाएर खोजौँ, योगविद्या भन्दा ठूलो केही छैन। त्यसैले वाणी, बानी र पानीमा सचेत बनौं।
वाणी मधुर होस्, बानी असल होस् र पानी निर्मल होस्। वाणी मधुर छ भने बानी असल हुन्छ, बानी असल छ भने वाणी मधुर हुन्छ, जुन हृदयबाट निस्कने कुरा हो। गुरु गोरखनाथले जनबोलीमा, जनभाषामा बोले।
सामान्य व्यक्ति, किसान, भरियाले पनि आफ्नो कर्म, व्यवसाय गर्दागर्दै यी वाणीको अनुकरण गरेर आफ्नो जीवनलाई दीक्षित गर्न सक्छन् किनकि ज्ञान, मुक्ति, अध्यात्म चिन्तन र उत्कृष्ट जीवनसाधनाको अधिकार प्रत्येक व्यक्तिलाई छ।
त्यस्तो ज्ञान त विद्वान्, पण्डित, संस्कृतज्ञ, शास्त्रज्ञलाई मात्रै होइन, अपितु सबैका लागि हो। त्यसैले आफूसँग भएको ज्ञानलाई जनजनमा बाँडौँ, अहंकारलाई शमन गरौँ र निर्मलतातर्फ अघि बढौँ। जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय तर्फ लैजाने कर्म गरौँ।
जय गुरु गोरखनाथ।
















Facebook Comment