दो एक्का दो, घर जाने को ?

सुभाष सङ्कल्प भण्डारी
५ पुष २०८२ ७:३०
24
Shares

टिनटिन..टिनटिन..टिनटिन …टिन। कार्यालय सहयोगी दाइले सातौं घण्टी बजेको संकेत गरे। म कक्षा ८ बाट स्थानीय विषय ‘हाम्रो चुरे’ पढाएर ढोकाबाट बाहिर निस्किएको मात्रै के थिएँ कक्षा ३ को झ्यालबाट आएको ध्वनिले झस्याङ्ग भएँ।

अगाडि बढिसकेका मेरा पैतलाहरु टक्क रोकिए। कानहरु चनाखो भए। कक्षा ३ को कोठा नजिक गएर सुन्न प्रयास गरेँ। दो एक्का दो, दो दुना चार, दो पन्चे दश। एउटा बिद्यार्थी कक्षाकोठाको अघिल्तिर आएर दुईको दुना पढ्दै थियो भने अरु बिद्यार्थीहरु स्वरमा स्वर मिलाएर पछ्याइरहेका थिए। झ्यालको नजिक गएँ र एकछिन नियालिरहेँ।

अन्तिम पिरियड थियो। बिद्यार्थीहरुलाई दिनभरको पढाइको कारण थकाइ र भोक लागिसकेको भान हुन्थ्यो। बिद्यार्थीहरुको तन कक्षामा भएतापनि मन कक्षाकोठा भित्र पक्कै थिएन सायद। केही मिनेटको अवलोकन पश्चात मैले यस्तै लख काटेँ। थकित र गलित देखिन्थे उनीहरु।

केही बिद्यार्थी बाहेक अरुलाई दुनोट पढ्नु अथवा भट्याउनुमा खासै रुची देखिँदैनथ्यो। कोही हाइ काढ्दै थिए त कोही झोलाका तुना खेलाइरहेका थिए। कोही भित्तामा झुण्ड्याएको घडीको सुइलाई हेरिरहेका थिए त कोही झ्यालबाट कार्यालय सहयोगीलाई नियालिरहेका थिए।

पाँच मिनेट पनि पाँच घण्टा जस्तो लाग्दो हो उनीहरुलाई। घडीको सुइसँग रिस उठ्दो हो सायद। सबैलाई कक्षाबाट बाहिर निस्किने हतार थियो। कसैलाई घर पुग्न हतार थियो त कसैलाई बाटोमा खेल्ने हतार। कसैलाई घर पुगेर नास्ता खान हतार थियो त कसैलाई बिद्यालयको चौरमा उफ्रिने हतार। म मौन भएर झ्यालको एक कुनाबाट यी सब हेरिरहन्छु।

पालैपालो बिद्यार्थीहरु दुई तीन चारको दुनो भन्दै जान्छन्। मलाई भने मेरो बिगतले तान्छ। म गडसेरा पुग्छु। नवज्योति प्राथमिक बिद्यालयको कक्षाकोठा र चौरमा पाउँछु आफूलाई।

ब्ल्याकबोर्डमा दुईको दुनो लेखिएको हुन्छ। म हातमा पधेडाको लठ्ठी समातेर दुनोटका लाइन छुँदै दुनोट पढिरहेको हुन्छु। अरु साथिहरु मलाई पछ्याइरहेका हुन्छन्। पालैपालो हामीहरु दुनो पढिरहेका हुन्छौँ।

सर बाहिर चौरमा बसेर अरु एक दुई कक्षाका बिद्यार्थीहरुलाइ समेत निगरानी गरिराखेका हुन्छन्। कक्षा २ का बिद्यार्थीहरु पाठ सारिरहेका देखिन्छन् त कक्षा १ का बिद्यार्थीहरु क का लेखिरहेका हुन्छन्।

‘दो एक्का दो’ कति पटक उच्चारण गरँे हुँला नवज्योती स्कुल पढ्दा? कति पटक काफीमा लेख्यौँ हुँला दुईको दुनोट? सयौं? होइन होला हजारौं हुनसक्छ। कतिपटक स्लेटमा दुनोट लेखेँ हुँला? कति पटक थुक लगाएर मेटेँ हुँला? कति काफी सक्किए होलान् दुनोट सारेर? कति ड्वाइट मसी रित्तिए होलान् पाठ र दुनोट सारेर? अहिले सम्झिन प्रयास गर्छु। अहँ, सक्दिन। कसरी पो सकुँला र तीन दशक अघिको कुरो?

तर एउटा कुरो भने बिर्सिएको रहेनछु अहिलेसम्म। तीन दशक नाघी सक्दा पनि ‘दो एक्का दो, घर जाने को?’ भनेर साथीहरुलाई जिस्क्याएको कुरो मानसपटलको कुन पो कुन्टामा ताजै रहेछ। कति कक्षाबाट दुनो कण्ठ गर्न थालेँ? ठ्याक्कै याद छैन अहिले।

तर यत्ति चाहिँ याद छ कि २-३ कक्षामा पढ्दा प्रत्येक दिन दुनो उच्चारण गरेकै हुन्थ्यौं। कण्ठ भइसकेपनि पढिराखेकै हुन्थ्यौं। सुरुमा आफ्ना लागि कण्ठ गरेँ, पछि साथिहरुका लागि पढेँ। त्यसपछि भने सरहरुका लागि भनेँ।

सरहरु थोरै थिए। एकै सरले दुई दुई कक्षा हेर्नुपथ्र्यो। बाहिर चौरमा बसायो कि या दुनो पढ्नु पथ्र्यो, या पाठ सार्नुपथ्र्यो। हामीहरुलाई ब्यस्त राख्ने सबभन्दा सजिलो उपाय या त पाठ सार्ने हुन्थ्यो या त दुनोट भन्ने। त्यसकारण दुनो कति पढेँ, पाठ कति सारेँ कुनै लेखाजोखा छैन।

कति खडी सक्किए दुनो लेखेरै, कति काफी सक्किए पाठ सारेरै। कुनै हिसाबकिताब राखिएन त्यो बखत। न त कुनै अभिलेख राख्ने दिमाग थियो। खासगरी अन्तिम तिरका घण्टीहरुमा दुनो पढ्ने र पाठ सार्ने काम बढी हुन्थ्यो सानो कक्षामा।

२, ३ र ४ कक्षाका बिद्यार्थीहरुको काम नै पाठ सार्ने र दुनो पढ्ने हुन्थ्यो। पाठ पढाएर छिट्टै सक्किहाल्थ्यो। अनि पाठ सार्ने र दुनो पढ्ने मात्र काम हुन्थ्यो। अझ हिउँद तिरका दिनहरुमा यो क्रम बढी चल्थ्यो। बाहिर घाम लागेको हुन्थ्यो, चौरमा बस्यो कि उहि दैनिकी सुरु हुन्थ्यो।

त्यो बखत कार्यालय सहयोगीको व्यवस्था थिएन। सरहरु कि त आफैं घण्टी बजाउनु हुन्थ्यो कि त बिद्यार्थीलाई पठाउनुहुन्थ्यो घण्टी बजाउन। बिद्यार्थी कसैका पनि हातमा घडी हुन्थेनन्। अन्तिम पिरियडमा सबैको आँखा किताबभन्दा पनि घण्टीतिर बढी हुन्थ्यो।

ओठ चलेतापनि दिमाग चलेको हुन्थेन। ध्यान त अन्तै हुन्थ्यो। के याद हुनु? किताब झोलामा हालिसकेका हुन्थ्यौं। कसैको त झोला पनि पिठ्युँमा पुगिसकेको हुन्थ्यो। खासमा सरको लागि पढिरहेका हुन्थ्यौँ अन्तिम पिरियड। भोकले एकातिर आलस्य भएका हुन्थ्यौँ त अर्को तिर दिनभरको पढाइलेखाइले दिक्दार।

तन मात्र कक्षाकोठामा थुनेर के नै पो नापिन्थ्यो र? मन त कहाँ कहाँ सम्म बिचरण गरिरहेको हुन्थ्यो। शिथिल शरीरलाई चन्चल मनले यताउता हेर्न बाध्य तुल्याउँथ्यो। ओठहरु सलबलाए पनि दिमाग बिल्कुल पढाइमा हुन्थेन अन्तिम पिरियडमा। हातका औँलाहरुले अक्षर कोरेतापनि दिमागले त्यसलाइ टिपेरहेको हुन्थेन।

अन्तिम पिरियडमा बिद्यार्थीहरु लामो रेस दगुर्नको लागि तयारी पोजिसनमा उभिएका सिपाही जस्ता लाग्थे। कमान्डरले लामो सिटी फुक्ने बित्तिकै दौड सुरु भए जस्तै सरले लामो घण्टी बजाउने बित्तिकै हाम्रो दौड सुरु हुन्थ्यो घरतिरको। अनयोर्क मार्क, गेटसेट हामी सुन्थेनौँ। सिधै गो हुन्थ्यो र लाग्थ्यौँ घरतिर।

घण्टी बज्ने बित्तिकै पिँजडाबाट निस्केका सुगा जस्तै खुल्ला आकाशमा उडान भथ्र्यौँ। डोकामा छोपी राखेका बाख्राका पाठाहरु जसरी निस्किन्छन्, त्यसरी नै निस्किन्थौँ उफ्रिन। एकै सासमा बिद्यालय भन्दा तल दुमिल्ला भन्ने स्थानमा पुगेर रोक्किन्थ्यौँ। को छिटो दौड्न सक्छ? को छिटो दुमिल्ला पुग्न सक्छ? प्रतिस्पर्धा हुन्थ्यो हाम्रो।

नतिजा त आउँथ्यो। तर न पुरस्कार हुन्थ्यो, न स्याबासी नै। मात्र मिल्थ्यो त अथाह खुशी र बेग्लै आत्मसन्तुष्टि। यही त थियो बालापनको आनन्द र मजा। जुन न खरिद गर्न सकिन्थ्यो, न बेच्न नै।

टिनटिनटिन ….। लामो घन्टी बज्यो। म झस्याङ्ग भएँ। सपनाबाट बिउँझिए जस्तो भयो। नवज्योति स्कुलबाट मेलकट्टेश्वर स्कुल पुगेछु। छुट्टि भएको संकेत थियो। बिद्यार्थीहरु मलाईसमेत ठेल्दै घरतिर दगुर्छन् बाख्राको पाठापाठी उफ्रीए जसरी। म हेरेको हेरै हुन्छु। उभिएको उभियै हुन्छु। शरीर नै स्थिर भैदिन्छ एकछिन्। म हेरिरहन्छु पर परसम्म। बिछट्टै खुसी देखिन्छन् ससाना केटाकेटी।

कसैको पाइन्ट फुस्किँदै हुन्छ, एक हातले माथि सार्दै दगुरिरहेका हुन्छन्। ठेलम् ठेल हुन्छ। एक अर्खालाइ उछिनेर अगाडि पुग्ने प्रतिस्पर्धा चलिरहन्छ बिद्यार्थीहरुको। कसैको जुत्ताको तुना फुत्किन्छ, बाँध्दै दगुरिरहेका हुन्छन्। कसैको झोलाको चैन लाग्दैन राम्ररी र किताब खस्छन्।

कोही साथिको घाँटीमा अँगालो हाल्दै हिँडिरहेका हुन्छन त कोही साथीलाई जित्न प्रतिस्पर्धा गरिरहेका हुन्छन्। कसैलाई छिट्टै घर पुगेर नास्ता खानु छ, गृहकार्य गर्नु छ, घरायसी काम गर्नु छ। कसैलाई भने भोक नि लाग्दैन। गृहकार्य नि गर्नुपर्दैन। घर पुग्ने हतार नि देखिँदैन।

च्यातिएको भकुण्डो लिएर चौरको एकछेउतिर गुडाउन हतार भैरहेको हुन्छ। कोही कमिज खोलेर झोलामा हाल्दै साथीहरुसँग खेल्ने योजना बुनिरहेका हुन्छन्। कोही माथिल्लो कक्षामा पढ्ने आफ्ना दाइदिदीलाई पर्खिरहेका देखिन्छन् त कोही सहपाटीहरुसँग हातमा हात, कुममा कुम जोडेर पैतला अघि बढाइरहेका देखिन्छन्।

म रमाइलो मानेर हेरिरहन्छु। ढकाल सरले मोटरसाइकलको हर्न बजाएर मेरो ध्यान भङ्ग गरिदिन्छन्। म चुपचाप मुस्कुराउँदै अफिस कोठातिर लाग्छु। ढकाल सर बाइक स्टाट गरि मन्द मुस्कान फाल्दै आफ्नो कोठातिर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.